सहरमा साइत हेरेर शल्यक्रिया: थाहै नपाई प्रसूति हिंसाको सिकार बन्दै महिला
सामाजिक सञ्जालमध्ये युट्युबमा बढी रमाउँथिन्, रोनिशा । एकदिन ‘रुद्राक्ष टिभी’ नामक युट्युब च्यानलको एउटा एपिसोडमा उनका आँखा अडिए
सुत्केरी छोरी: घरले जाजा, माइतले आआ
बुहारीका लागि घर, कहिलेसम्म ‘पराइ घर’ ?
वैदेशिक रोजगारीले बढ्दो दूरी
सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती
घरबाहिर जहाँ पुरुषभन्दा महिला बढी छन्
देशमा पुरुषभन्दा महिलाको संख्या बढी छ
असंवेदनशील अड्डा
महिलाका विभिन्न अवस्था बुझ्ने व्यवस्था खै ?
Friday, 27 January 2023
बालबालिकाले कहाँ छाप्ने ? के पढ्ने ? बालपत्रिका बन्द छन्, अनलाइनहरूलाई त मतलब नै छैन !
Thursday, 1 September 2022
लिंग पहिचान गरेर गर्भपतन : समाज एकातिर, कानुन अर्कोतिर

मुलुकी अपराध (संहिता) २०७४ अनुसार लिंग पहिचान गरी गर्भपतन गरेमा गर्भपतन गर्ने चिकित्सक र दम्पतीलाई जेल तथा जरिवाना हुने व्यवस्था छ । संहिताको परिच्छेद १३ मा गर्भ संरक्षणविरुद्धको कसुरमा लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई २ देखि ६ वर्षसम्म कैद वा २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख गरिएको छ ।
तर, महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी)का कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठका अनुसार लिंग पहिचान गरेर गर्भपतन गर्ने वा गराउने एक जना पनि कानुनी दायरामा आएका छैनन् । सजायको भागिदार भएका छैनन् । ‘लिंग पहिचान गरेर गर्भपतन गर्ने काम समाजमा भइरहेको छ,’ उनी भन्छन्, ‘तर, दम्पती र चिकित्सक दुबैको मिलेमतोमा हुने भएकाले यस्ता केस प्रायः गुपचुप रहन्छन् । प्रहरी र अदालतसम्म आइपुग्दैनन् ।’
अधिवक्ता सुजन पन्त पनि गर्भपतन गर्ने र गराउने दुवैको मिलेमतोमा भएकाले यस्ता घटना हत्तपत्त बाहिर नआउने बताउँछन् । ‘कुनै ठूलै घटना भयो भने मात्र बाहिर आउला नत्र यस्तो घटना प्रहरी र वकिलसम्म आइपुग्न मुस्किल छ,’ उनी भन्छन् ।
स्वास्थ्य अधिकारसम्बन्धी वकालत गर्दै आएकी नर्स दुर्गा सापकोटा पनि यो विषयमा कानुन र समाजबीचमा निकै ठूलो खाडल भएको बताउँछिन् । ‘कानुन समाज नियन्त्रण गर्न बनाइन्छ,’ उनी भन्छिन्, ‘तर, के हाम्रो बनिरहेको कानुनले हाम्र्रो समाजलाई नियन्त्रण गरिरहेको छ त ? समाजमा घटना भइरहदा पनि कानुनी प्रक्रियासम्म कोही पुगेको छैन भने सोच्नुपर्ने देखिन्छ ।’ यो समस्याको समाधानका लागि हाँगाबिगा केलाएर नहुने भन्दै समस्याको जरासम्मै पुग्नुपर्ने उनी बताउँछिन् ।’
नर्स सापकोटाको भाषामा कानुन प्राकृतिक न्यायको सिद्धान्त अनुसार हुनुपर्छ । अनि मात्र त्यो कार्यान्वयनमा आउँछ । कानुन बनाउँदा समाजको गति के छ ?, कतातिर गइरहेको छ ? भनेर बनाउनुपर्ने उनी बताउँछिन् । ‘हाम्रो कानुन एउटा दिशातिर गइरहेको छ तर, समाज अर्को दिशातिर लम्किरहेको छ,’ उनी भन्छिन्, ‘प्राकृतिक नियम विपरीत कानुन बनाइयो भने त्यो दिगो हुँदैन, कार्यान्वयनमा आउँदैन ।’
उनका अनुसार जबसम्म समाजमा छोराछोरीबीच हुने विभेद अन्त्य हुँदैन तबसम्म लिंग पहिचानको आधारमा हुने गर्भपतन रोकिँदैन । ‘यहाँ गर्भमा छोरा छ कि छोरी भनेर थाहा पाउनु समस्या होइन,’ उनी भन्छिन्, ‘समस्या ऊ जन्मिसकेपछि समाजले हेर्ने नजरमा छ । त्यो समस्यालाई जबसम्म चिर्दैनौँ लिंग पहिचान गरेर हुने गर्भपतन रोक्नु असम्भव जस्तै छ । हांगाबिगालाई जति काटे पनि जरालाई उखालेर नफ्याँकेसम्म समस्या पलाइरहन्छ ।’
विश्वव्यापी रूपमा लिंग पहिचानका लागि थुप्रै प्रविधि भित्रिसके ‘प्रविधिले फड्को मारेर प्रेग्नेन्ट हुनेबित्तिकै अन्य तरिकाले पनि छोरा हो कि छोरी भनेर थाहा पाउने जमाना आइसक्यो,’ नर्स सापकोटा भन्छिन्, ‘ढिलो–चाँडो ती प्रविधि नेपालमा पनि भित्रिन्छन् । यसलाई नियन्त्रण गर्न सकिँदैन । त्यसैले हामीले प्रश्न टेक्नोलोजीलाई होइन, पितृसत्तात्मक मानसिकतालाई गर्नुपर्छ ।’
डा. लक्ष्मी तामाङ करकापमा परेर होस् वा ललाई फकाई गरेर होस् लिंग पहिचान गरेकी गर्भपती कुनै पनि हालतमा कानुनी उपचारमा नजाने बताउँछिन् । ‘उनीहरू किन उजुरी दिन गएनन् भन्नु नै मूर्खता हो,’ उनी भन्छिन्, ‘पारिवारिक सम्बन्धलाई दाउमा राखेर कुन चाहिँ महिला लिंग पहिचान गरायो भनेर परिवारविरुद्ध मुद्दा हाल्न जान्छिन् ? आफ्नै श्रीमान् र परिवारविरुद्ध मुद्दा लड्दा के ती महिलालाई त्यो घरमा बस्न–टिक्न सजिलो होला ?’
त्यस्तै, कतिपय अवस्थामा दम्पतीले आफैँ सेवा लिइरहेको हुने उनी बताउँछिन् । र, उनीहरू कुनै पनि हालतमा कानुनी उपचारमा नजाने उनको तर्क छ । ‘जो डाक्टरकोमा आफैँ खोजी–खोजी, पैसा तिरीतिरी सेवा लिन गएको छ उसले कसरी उजुरी हाल्छ,’ उनी भन्छिन्, ‘डाक्टर जो आफैँले निजी क्लिनिक खोलेर सेवा दिइरहेका छन् उनीहरू आफैँले म अपराधी हुँ भन्दै जाने त झन् कुरै भएन ।’
यता, डा. एन्जिला थापा लिंग पहिचान गरेर गर्भपतन गराउनुलाई गैरकानुनी भनेर टुङ्गाइएको तर, त्यसभित्रका आयामहरूलाई भने केलाउन बाँकी रहेको बताउँछिन् । ‘हामी पितृसत्तात्मक समाजको संरचनाभित्र छौँ,’ उनी भन्छिन्, ‘जहाँ धन कमाउने र मरेपछि स्वर्गमा लैजाने छोरा नै हो भन्ने मान्यता राखिन्छ । सानो परिवार सुखी परिवार भन्ने मान्यताले पनि धेरैले छोराकै चाहना राख्छन् ।’
यसमा दोषी गर्भपतन गर्ने दम्पती वा गराउने चिकित्सकलाई मात्र दिन नमिल्ने उनी बताउँछिन् । ‘छोरी जन्माउँदा र छोरा जन्माउँदा महिलालाई गरिने व्यवहार अहिले पनि फरक छ,’ उनी भन्छिन्, ‘लैंगिक असमानताको कारण धेरैको छनोटमा लिंग पहिचानपछिको गर्भपतन पर्छ ।’
डा. थापा कानुनले जति नै गैरकानुनी भनेपछि भित्रभित्रै यसको अभ्यास भइरहेको बताउँछिन् । ‘कानुन बन्नका लागि मात्र बनेको छ,’ उनी भन्छिन्, ‘समाजमा सबैलाई छोरा चाहिएको छ । तर, कानुन हामीले छोरीलाई सुरक्षा गरिरहेको छौँ भनेर देखाउनेका लागि मात्रै बनेको छ । जसले गर्दा यो कार्यान्वयनको पाटोमा चुकेको छ ।’ उनका अनुसार जसले लिंग पहिचान गरेर गर्भपतन गराउँछ, उसलाई मुलुकी ऐनअनुसार सजाय हुन्छ । तर, चिकित्सकलाई भने मेडिकल काउन्सिलले सजाय दिन्छ ।
कानुनी दायरामा गए पनि यसमा मुख्य सजायको भागिदार गर्भपतन गराउने नै हुन्छ । ‘लगातार तीन–चार जना छोरी पाउने महिला परिवारको नजरमा दोषी हुन्छिन्, छोरा नपाएको भन्दै हिंसामा पर्छिन्,’ उनी भन्छिन्, ‘त्यो हिंसाबाट बच्न भनेर लिंग पहिचान गराउन जाँदा उनी राज्यको नजरमा दोषी हुन्छिन् । अन्तिममा जताबाट पनि पीडित महिला नै हुन्छन् ।’
गर्भपतनसम्बन्धी कानुन महिलाको हितमा नबनेको उनी बताउँछिन् । ‘कानुनले सजायको भागिदार बनाइदिँदा धेरै महिला लिंग पहिचान र गर्भपतन गराउन असुरक्षित केन्द्रतिर धाउँछन्,’ उनी भन्छिन्, ‘सरकारी रेकर्डमा नै नआउने गरी गर्भपतन गराउनुपर्दा त्यो झनै असुरक्षित हुन्छ । सुरक्षित गर्भपतन गराउनेको संख्या घट्छ ।’
यो समस्या समाधानका लागि कुनै पनि बच्चा जन्मिसकेपछि उसलाई दिइने अधिकारलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने नर्स सापकोटा बताउँछिन् । ‘नेपाली समाजका अधिकांश महिलाको छोरा पाउनेबित्तिकै जीवन नै परिवर्तन हुन्छ,’ उनी भन्छिन्, ‘उनलाई गरिने व्यवहार, स्याहार, हेर्ने दृष्टिकोण सबै कुरा परिवर्तन हुन्छ । महिलाहरू जसरी भए पनि आफ्नो जीवन सजिलो बनाउन चाहन्छन् । मानवका रूपमा बाँच्ने अधिकार सुनिश्चित गर्नकै लागि भए पनि उनीहरू त्यतातिर होमिन्छन् ।’
जस्तोसुकै कडा कानुन आए पनि समाजमा लैंगिक विभेदको अन्त्य नभएसम्म यो अभ्यासले निरन्तरता पाइरहने उनी बताउँछिन् । ‘हामीले अहिले पनि छोरा पाउनु र छोरी पाउनुमा फरक छ भनेर बुझिरहेका छौँ,’ उनी भन्छिन्, ‘छोरीलाई धेरै कुराबाट वञ्चित गरेको र बोझका रूपमा लिएको देखेका छौँ । जे भए पनि सन्तान हुन् भन्ने कुरा बुझिसकेको अवस्था छैन । हामीले जहिले छोरा र छोरी जन्मिनुमा केही फरक छैन भनेर बुझ्न सक्छौँ, त्यहिले यो खाल्डो पुरिन्छ । नत्र गैरकानुनी नै भए पनि डाक्टरलाई बिन्ती गरेरै भए पनि गर्छन् । नेपालमा गर्न नमिले विदेशमा गएर भए पनि गर्छन् ।’
नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको झन्डै दुई दशक बितिसकेको छ । गर्भपतनले २०५९ असोज १० बाट कानुनी मान्यता पाएसँगै २०६० मा सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति बनेको थियो । यही नीतिका आधारमा २०७३ देखि सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सेवा दिँदै आएका थिए । २०७५ मा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन जारी भएको थियो । २०७७ मा नियमावली बनेर २०७८ मा सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका जारी भएको थियो ।
१० वर्षमुनिका बालक बलात्कारका पीडक

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार यस्ता केसहरूमा बालकमाथि मुद्दा चलाउन मिल्दैन । ‘कानुनी रूपमा १० वर्षमुनिका बालबालिकालाई मुद्दा चलाउन मिल्दैन,’ उनले भने, ‘मुद्दा चलाउन नमिल्ने भएर सम्झाईबुझाई गरेर अभिभावकको जिम्मा लगाउने गरिएको छ ।’
मुलुकी फौजदारी संहिता २०७४ ले १० वर्षमुनिका बालबालिकालाई अपराधका लागि सजाय योग्य मान्दैन । ११ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई भने बढीमा ६ महिना सुधार गृहमा राख्ने अदालती आदेश हुन सक्छ । त्यस्तै, १५ वर्षभन्दा माथिका किशोरकिशोरीलाई भने वयस्कसरह कानुनी कारबाही हुने व्यवस्था छ ।
तथ्यांकमा के छ ?
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा १० वर्षमुनिका एक जना बालक बलात्कारको पीडक भएको देखिन्छ । उनी बागमती प्रदेशबाट भएको तथ्यांकले देखाउँछ ।
आव ०७५/७६ मा १० वर्षमुनिका आठ जना बालक पीडक भएको तथ्यांकले देखाउँछ । जमध्ये प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा एक–एक जना, बाग्मती प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना भएको देखिन्छ ।
आव ०७६/७७ मा १० वर्षमुनिका पाँच जना बालक बलात्कारको पीडक भएको तथ्यांकले देखाउँछ । जसमा लम्बिनी प्रदेशमा दुई जना र उपत्यकामा तीन जना बालक बलात्कारको केसमा पीडक छन् । आव ०७७/७८ मा १० वर्षमुनिका चार जना बालक पीडक छन् । जसमध्ये प्रदेश १ र लुम्बिनी प्रदेशमा दुई–दुई जना भएको देखिन्छ । चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकमा ३ जना बालक पीडक भएको देखिन्छ । जसमध्ये प्रदेश १ का एक जना र उपत्यकाबाट दुई जना रहेका छन् ।
प्रमुख कारण : पारिवारिक वातावरण
मनोविद् करुणा कुँवर बलात्कारको घटनामा बालबालिका कस्तो परिवार र माहोलमा हुर्किएका छन् त्यसले फरक पार्ने बताउँछिन् । ‘ठूलो हुने बेलासम्म कतिपयले बालबालिकालाई आफूसँगै सुताउँछन्,’ उनी भन्छिन्, ‘बुवाआमाको क्रियाकलाप देखिरहेका हुन्छन् । यसले उनीहरूलाई जिज्ञासु बनाउँछ । देखेको एक्सपेरिमेन्ट गर्न खोज्दा उनीहरू अपराधको घेरमा पर्न सक्छन् ।’
बच्चालाई बलात्कारीको नाम दिनु राम्रो नभएको मनोविद् कुँवर बताउँछिन् । ‘बच्चाहरूको केसलाई केलाउँदा हामीले विचार गर्नुपर्छ, संवेदनशील हुनुपर्छ,’ उनी भन्छिन्, ‘आमाले लिपस्टिक लगाएको देख्दा बच्चाहरूले पनि त्यो सिको गर्न खोज्छन् । उनीहरूले जान्न खोज्छन् तर, त्यसको नतिजाबारे थाहा नहुन सक्छ ।’ बालबालिकाले जस्तो वातावरण पाउँछ उसको बालमनोविज्ञान त्यस्तै बन्ने उनी बताउँछिन् ।
प्रत्येक अभिभावकले आफ्ना बालबालिकाले गर्ने गतिविधिलाई निगरानी गर्नुपर्ने उनको सुझाव छ । ‘उनीहरूलाई कसैले फिल्म देखाइदिएको हुन सक्छ, इन्टरनेटमा आफैँले पनि खोजेर हेरेका हुन सक्छन्,’ उनी भन्छिन्, ‘आफ्ना बालबालिका के बोलिरहेका छन्, कहाँ गइरहेको छन्, के हेरिरहेका छन् यस्ता कुरामा अभिभावकले विचार पुर्याउनुपर्छ ।’
प्रहरी प्रधान कार्यालयको साढे चार वर्षको तथ्यांकमा १० वर्ष मुनिका २१ जना बालक बलात्कारको पीडक रहेको पाइएको छ ।
मनोविश्लेषक वासु आचार्यको हुर्काइलाई दोष दिन्छन् । ‘सानैदेखि अभिभावकले फरक यौन अंग हुनेलाई गर्ने फरक व्यवहार गरेको बालबालिकाले नियालिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘दिदीबहिनीलाई कम आफूलाई धेरै माया गरेको देखिरहेका हुन्छन् । सानैदेखि बालकले बालिका कमजोर आफू बलियो भन्ने मानसिकता बोकेर हुर्केको हुन्छ । यो त्यसकै उपज हो ।’ हुर्किंदै जाँदा त्यो बालकमा दम्भ भाव उत्पन्न हुने उनी बताउँछन् । ‘त्यसपछि उनीहरूले पेल्नुपर्छ, हेप्नुपर्छ भनेर सिक्न थाल्छन्,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा भने बालकसँग अरु कसैले यौनजन्य क्रियाकलाप गरेको भएर पनि उनीहरूले अरुलाई त्यसो गरेको हुन सक्छ ।’
यस्तो अवस्थाका जनचेतना नै समस्याको समाधान भएको मनोविश्लेषक आचार्य बताउँछन् । ‘बालबलिकालाई यौन, समानता र सम्मानजनक व्यवहारबारे सिकाउनुपर्छ,’ उनी भन्छन्, ‘अभिभावकहरूलाई पनि यो विषयमा जनचेतना फैलाउनुर्छ । घरमा बालमैत्री वातावरणको निर्माण गर्न प्रेरित गर्नुपर्छ ।’
१० वर्षमुनिका बलात्कृत बालिका कति ?
नेपाल प्रहरीको तथ्यांक नियाल्ने हो भने १० वर्षमुनिका पीडकभन्दा पीडितको संख्या धेरै देखिन्छ । यो साढे चार वर्षमा १० वर्षमुनिका १२ सय ९६ बालिका बलात्कृत तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७५/०७६ मा १० वर्षमुनिका २ सय ९८ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७९ जना, मधेस प्रदेशमा ३८ जना, बाग्मती प्रदेशमा ४४ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६० जना, कर्णालीमा ९ जना, सुदूरपश्चिममा २१ जना र उपत्यका २५ बालिका बलात्कृत भएका छन् ।
आव ०७४/७५ मा १० वर्षमुनिका २ सय ६१ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ६८ जना, मधेश प्रदेशमा २१ जना, बाग्मती प्रदेशमा ४१ जना, गण्डकीमा २६ जना, लम्बिनीमा ६२ जना, कर्णालीमा सात जना, सुदूरपश्चिममा आठ जना र उपत्यका २८ बालिका बलात्कृत भएका छन् ।
आव ०७५/७६ मा १० वर्षमुनिका २ सय ९८ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७९ जना, मधेश प्रदेशमा ३८ जना, बाग्मती प्रदेशमा ४४ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६० जना, कर्णालीमा ९ जना, सुदूरपश्चिममा २१ जना र उपत्यका २५ बालिका बलात्कृत भएका छन् ।
आव ०७६/७७ मा १० वर्षमुनिका २ सय ७३ बालिका बलात्कृत भएको तथ्यांकले देखाउँछ । जसमध्ये प्रदेश १ मा ५१ जना, मधेश प्रदेशमा ३२ जना, बाग्मती प्रदेशमा ३६ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६७ जना, कर्णालीमा १३ जना, सुदूरपश्चिममा नौ जना, उपत्यकामा ४२ जना र केन्द्रीय अनुसन्धान ब्युरोमा एक बलात्कार पीडित बालिका रहेका छन् ।
आव ०७७/७८ मा १० वर्षमुनिका ३ सय ५ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७२ जना, मधेश प्रदेशमा २५ जना, बाग्मती प्रदेशमा ३९ जना, गण्डकीमा ३१ जना, लम्बिनीमा ७१ जना, कर्णालीमा २० जना, सुदूरपश्चिममा १७ जना र उपत्यका ३० बालिका बलात्कृत भएका छन् ।
त्यस्तै, चालु आर्थिक वर्षको माघसम्म १० वर्षमुनिका १ सय ५९ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ४६ जना, मधेश प्रदेशमा ११ जना, बाग्मती प्रदेशमा २१ जना, गण्डकीमा २३ जना, लम्बिनीमा २८ जना, कर्णालीमा नौ जना, सुदूरपश्चिममा छ जना र उपत्यका १५ बालिका बलात्कृत भएका छन् ।
अभिषेक घिमिरे
संयोजक, बृहत् राष्ट्रिय शिक्षा अभियान
बालबालिकाले हेरेर अनि नक्कल गरेर सिक्छन् । उनीहरूले आफूभन्दा ठूलाको नक्कल गर्छन् । वयस्कहरूले गरेको हरेक क्रियाकलापलाई सूक्ष्म ढंगले नियाल्ने गर्दछन् र तिनै क्रियाकलाप र गतिविधिलाई अनुसरण गर्ने गर्छन् । यो बालबालिकाको प्राकृतिक स्वभाव हो । उनीहरूले यसरी नै सिक्ने हुन् । सिकाइको यो प्रमाणित विश्वव्यापी मान्यता हो ।
सिकाइलाई वातावरणले असाध्यै ठूलो प्रभाव पार्दछ । घर, परिवार, समाज र त्यहाँको संस्कार स्वाभाविक रूपमा बालबालिकाले अनुसरण गर्दछन् । बालबालिकाले के सिके भन्ने कुरा त्यहाँको सामाजिक वातावरण कस्तो छ भन्ने कुराले धेरै प्रभाव पार्दछ । बालबालिका हुर्कने ठाउँ, उनीहरूले संगत गर्ने मानिस, बाबुआमा, नातागोता, साथीसंगत लगायतले उनीहरूको सिकाइलाई प्रभावित गर्दछ ।
जहाँसम्म दश वर्ष मुनिका बालक यौनजन्य अपराधको कसुरमा प्रहरीको तथ्यांकमा रहेको भन्ने छ, यो विषयलाई हामीले गम्भीरतापूर्वक लिनु जरुरी छ । बालबालिकाको मनस्थिति अपराध नै गर्ने भन्ने त हुँदैन तर आपराधिक पृष्ठभूमिको घर, परिवार तथा समाजमा हुर्किएका बालबालिका प्राय: विभिन्न आपराधिक गतिविधिमा मुछिएका छन् । अर्थात्, देखासिकीमा यस्ता घटना भएका छन् ।
अहिले इन्टरनेट/मोबाइल तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नेमा बालबालिका पनि अत्यधिक भेटिएका छन् । के सही र के गलत भन्ने नबुझेका उनीहरूले इन्टरनेटमा देखिएका सामग्रीलाई जस्ताको त्यस्तै अनुसरण गर्ने हुँदा कहिलेकाहीँ यस्तै दुर्घटना भएर कानुनी फन्दामा परेका छन् । यो क्रमलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायले नरोक्ने हो भने धेरै बालबालिका साइबर क्राइममा फस्ने पनि देखिएको छ । अहिले स्कुल उमेरका छात्राहरूले आफ्नै कक्षाका सहपाठीबाट साइबर बुलिङ र ह्यारेस्मेन्टको समस्या भोग्नुपरेको गुनासो विद्यालयका शिक्षकले बारम्बार गरिरहनुले यो समस्या भित्रभित्रै विकराल बन्दै गएको अनुमान लगाउन सकिन्छ ।
सुत्केरी छोरी : घरले जाजा, माइतले आआ
बुहारीका लागि घर, कहिलेसम्म ‘पराइ घर’ ?

काठमाडौँ - भक्तपुर, नलिन्चोककी सीता खत्रीको आधा जिन्दगी छोरीहरूको सुत्केरी स्याहारमा बित्यो । पाँच छोरीका १३ नातिनातिनालाई उनले आफ्नै बुढ्यौली लागेका हातले स्याहारेकी हुन् ।
विशेषगरी काँठतिर सुत्केरी हुँदा नौ दिनमा माइतीपक्ष छोरीको घर जानुपर्छ । यसरी जाँदा आमा र बच्चालाई कपडा, साबुन, डिटरर्जेन्ट पाउडर (सरफ) र लुगा धुने बाटा आदि लैजानुपर्छ । ‘सुत्केरी छोरी र बच्चाको लुगा धुन चाहिने सबै सामान बोकेर जानुपर्छ,’ उनले भनिन्, ‘कतै आमा र बच्चाको मात्रै लुगा धुने चलन छ । कसैकोमा परिवारका अन्य सदस्यको लुगासमेत धोइदिनुपर्छ ।’ बच्चाको न्वारानपछि भने सुत्केरीलाई माइत पठाइन्छ । माइतमा उनीहरू दुईदेखि छ महिना अर्थात् आफूू नतंग्रिने बेलासम्म बस्छन् ।
सीता एकल आमा हुन् । खेतीपातीबाहेक आम्दानीको अन्य स्रोत छैन । तर, सुत्केरी छोरीलाई घर फर्काउँदा उनले ‘सुत्केरी भाग’ तयार गरिदिन्थिन् । सुत्केरी भागमा सिरक, डसना, परिवारका सदस्य र नजिकका नातेदारलाई एकसरो कपडा, सेलरोटी, तरकारी, अचार, फलफूल, मिठाई आदि तयार गर्नुपर्थ्यो । बच्चालाई कानमा सुनको मुन्द्रादेखि हातखुट्टामा कल्ली बनाएर लगाइदिनुपर्थ्यो । ‘घरपक्षको ध्यान बच्चा र आमाको स्वास्थ्यमा भन्दा कोसेलीमा बढी हुन्छ,’ उनले भनिन्, ‘कोसली चित्त नबुझे छोरीले माइतको नानाथरी नाम सुन्नुपर्छ । समाजलाई देखाउनै भए पनि चित्तबुझ्दो कोसेली पठाउनै पर्छ ।’
०००
काठमाडौँ, साँखुकी सीमा फुँयाल माइतबाट सुत्केरी फर्किंदा यी सबै रिवाज पूरा गरेर फर्किएकी थिइन् । सीमालाई यो सब गर्न मन थिएन । तर, आमाले कुनाभित्र बस्दा छोएको लुगा जसरी पनि माइतबाटै लैजानुपर्छ भनेपछि सिरक, डसना र कोसेली बोकेर माइत फर्किइन् । आमा, काकी र भाउजूले ती भारी बोकेर उनलाई सुत्केरी फर्काउन आए । ‘घर आएपछि सबैलाई कोसेली र लुगाफाटो दियौँ,’ उनले सुनाइन्, ‘तर, भोलिपल्टैबाट कोसेली र लत्ताकपडा गतिलो भएन भनेर कुरा काट्न थाले ।’
जुम्ल्याहा बच्चा जन्माएकी सीमालाई सुत्केरी अवस्थामा श्रीमान्को साथ मिलेन । सुत्केरी हुँदा अस्पतालले श्रीमान्लाई कुरुवाबस्नदिएन, सुत्केरीपछि परिवारले । अस्पतालबाट डिस्चार्ज गरेपछि उनका धेरै रात अनिदोमै बिते । ‘एउटालाई खुवायो अर्को रुन्थ्यो, एउटालाई सुतायो अर्को उठ्थ्यो’ उनले भनिन्, ‘उनीहरूलाई थुम्थुम्याउँदै रात बित्थ्यो । बच्चाहरूलाई काखमा लिन नजान्दा उनीहरूसँगै रुन मन लाग्थ्यो ।’
न्वारन सकिएको दुई दिनपछि उनी माइत गइन् । माइतमा सुख हैन, झनै दुःख भयो । बाआमा खेतीपाती र गाईबस्तुमा व्यस्त । त्यतिबेला उनलाई श्रीमान्को साथ पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, श्रीमान् बच्चाको स्याहार गर्ने गरी होइन, मुख हेर्नेगरी आउँथे । ‘घरपरिवार र समाजको डरले एक दिनबाट दुई दिनबस्नमान्नु हुन्नथ्यो,’ उनले भनिन्, ‘छोरामान्छे ससुराली बस्दा मान्छेले कुरा काट्छन् भन्दै हतार–हतार फर्किनुन्थ्यो । फोनमा मलाई एक्लै स्याहार गर्न गाह्रो भयो भन्दा ‘अलिअलि गाह्रो त भइहाल्छ नि’ भन्ने जवाफ आउँथ्यो ।’ सुत्केरीमा उनलाई बच्चाको ख्याल राख्दाराख्दै आफ्नो ख्याल राख्ने फुर्सद कहिल्यै मिलेन ।
त्यही बीच सीमाकी सासूको मृत्यु भयो । त्यसबेला बच्चाहरूको स्याहारसुसारमा झनै कठिनाइ आयो । ‘खाटमा सुत्न हुन्न’ भनेर भुइँमा सुताइयो । दुई दिन चिसो भुइँमा सुतेपछि तेस्रो दिन उनले खाटमै सुत्ने निर्णय गरिन् । ‘चलिआएको परम्परा तोड्ने तँ को होस् भन्दै छिमेकी जुलुस लिएर आए,’ उनले भनिन्, ‘नुन खान भएन । घ्यु र भातले मात्रै दूध आएन । बच्चाहरू दूध नपुगेर रातभरि सुत्न दिँदैनथे ।’
सीमा अहिले फेरि माइत गएकी छिन् । केही दिन अघि ज्वरो आएपछि घरबाट उनलाई माइत जान सुझाइयो । ‘सुत्केरी हुँदा मलाई बिरामी हुने छुट पनि छैन,’ उनले भनिन्, ‘कहिलेकाहीँ म मान्छे होइन, मेसिन हो जस्तो लाग्छ । किनभने, मेरो श्रीमान्लाई निद्रा लाग्छ, गाह्रो हुन्छ । मलाई चाहिँ केही हुनु हुँदैन ।’ यी यावत् कारण सीमालाई धेरैपटक आत्महत्याको सोचसमेत आइसक्यो । आजभोलि उनलाई बच्चा रोएको सुन्दा टिपेर मिल्काउन मन लाग्छ । ‘उनीहरूको आवाज नै सुन्न नपरे हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन्, ‘एक्लै बसेर रुन, चिच्याउन मन लाग्छ । आजभोलि मैले म को हुँ भन्ने नै बिर्सिसकेँ ।’
‘आफ्नो पालामा सकिनँ, बच्चाको पालामा परिवर्तन गर्छु’
भक्तपुर, नंखेलकी आस्था खत्रीलाई सुत्केरी हुँदा माइत जाने चलन पटक्कै मन पर्दैनथ्यो । आफू स्वस्थ हुँदा परिवारको स्याहारमा वर्षांै बिताएकी उनलाई सुत्केरीपछि स्याहार खोज्दै माइत जान मन थिएन । उनी घरमै श्रीमान्को साथमा बच्चा हुर्काउन चाहन्थिन् । तर, सुत्केरीपछि बाध्यताले उनी माइत जानुपर्यो । ‘सुत्केरी भेट्न आउने आफन्तको ‘माइत कहिले जाने ?’ भन्ने प्रश्नले मलाई जबर्जस्ती माइत पुर्यायो,’ उनले भनिन् ।
उनी पनि न्वारन लगत्तै माइत गइन् । तर, सुत्केरीबस्नजानुभन्दा पहिला उनलाई सुत्केरीसम्बन्धी चलनबारे जानकारी गराइयो । माइत जाँदा उनलाई बच्चासँगै सुत्केरी फर्किंदा लिएर आउनुपर्ने कोसेली र लत्ताकपडाको लिस्ट बोकेर पठाइयो । ‘घरबाट सुत्केरी भएर फर्किनु भनेको दुल्हन फर्किए जस्तै हो, परिवार र आफन्तलाई स–सानो भए पनि उपहार लिएर आउनु भन्नुभएको थियो,’ उनले सुनाइन्, ‘छोरालाई यसो सानो भए पनि गहना लगाएर ल्याउनू, अरुले देख्दा छ्या भन्ने नहोस् पनि भन्नुभएको थियो ।’ माइतीको आर्थिक अवस्था राम्रो थिएन । फर्किने बेला आफैँले बचत गरेकोे पैसाले समाजलाई देखाउन भए पनि छोरालाई कानमा मुन्द्रा र हातखुट्टामा कल्ली बनाइदिइन् । परिवार र आफन्तलाई कपडा किनिदिइन् । ‘सुत्केरीमा आफूलाई खान मन लागेको कुरा किन्छु भनेर जम्मा गरेको पैसा कोसेली किन्दै सकियो,’ उनले भनिन्, ‘आफूलाई मन नहुँदा नहुँदै धेरै कुरा गर्नुपर्यो । आफ्नो पालामा परिवर्तन गर्न सकिनँ । छोराको पालामा आफ्नै दुःख सम्झिएर भए पनि यो कुरा परिवर्तन गर्छु ।’
सुत्केरीमा जो माइत गइनन्
सञ्चारिका समूहकी केन्द्रीय सदस्य वसन्ती बास्तोला भने सुत्केरी हुँदा माइत गइनन् । सुत्केरीपछि उनी पनि माइत जाने कुरा आएको थियो । तर, उनकी आमाले अस्पतालमा बिताएका अनिदो रातहरू सम्झेर माइत जान मानिनन् । छोराछोरी हुर्काएर फेरि ठूलो बनाइसकेपछि बुढेसकालमा नातिनी स्याहार्नुपर्ने कुरा उनलाई पटक्कै चित्त बुझेन । ‘हामी श्रीमान्श्रीमतीको रहरले बच्चा पाएपछि हुर्काउने जिम्मा पनि हाम्रै हो भन्ने लाग्यो,’ उनले भनिन्, ‘हाम्री छोरी हुर्काउन मेरोभन्दा बढी श्रीमान्को भूमिका छ । छोरीको डाइपर चेन्ज गर्नेदेखि दूध बनाएर खुवाउने सबै श्रीमान्ले गर्नुहुन्थ्यो । यसैले पनि होला, छोरी अहिले मसँग भन्दा श्रीमान्सँग बढी नजिक छिन् ।’
वसन्तीलाई लाग्यो, माइत गए पनि बच्चाको स्याहार बुवा र दाजुभाइले गर्ने होइनन् । आमा, दिदी–बहिनी, भाउजू–बुहारीले नै दुःख पाउने हुन् । उनको मनमा अर्को एउटा प्रश्न पनि जन्मियो– जहाँ गए पनि महिलाले गर्नु परेपछि पुरुषलाई यो तिम्रो पनि दायित्व हो भनेर कसरी बुझाउने ? त्यस्तै, वसन्तीलाई माइत जाँदैमा सबै छोरीले स्याहार पाउँछन् नै भन्ने लाग्दैन । ‘छोरीलाई अंशको हकदार नमान्ने माइतीले सुत्केरीमा उसको स्याहार–सुसार गर्छ भन्ने म विश्वास गर्दिनँ,’ उनले भनिन् ।
‘सुत्केरी अवस्था सम्बन्ध मात्रै होइन, सम्पत्तिसँग पनि जोडिएको छ’
लेखक वन्दना ढकाल हालसालै दोस्रो सन्तानकी आमा भएकी छिन् । पहिलो सन्तान जस्तै दोस्रो सन्तानको पालामा पनि उनले श्रीमान्को साथ पाइन् । उनीहरू दुवै आफूले निभाउनुपर्ने भूमिकामा स्पष्ट छन् । ‘श्रीमतीले पाएको बच्चाको कारण बधाई खाँदैमा मात्र कोही पुरुष बुवा बन्दैन,’ वन्दनाले भनिन्, ‘श्रीमती सुत्केरी हुँदा उसले निभाएको भूमिकाले उसलाई बुवा बनाउँछ । त्यो बेलामा जसले असल श्रीमान्को भूमिका निभाउँछ, उही असल बुवा बन्छ ।’
आफूले निरन्तरता दिनुपर्छ भनेर धेरै पुरुषहरू सुत्केरी स्याहारमा प्रवेश गर्न नचाहने उनको तर्क छ । ‘एकपटक खुवाउन, थाङ्ना बेर्न, दिसा सफा गर्न जान्दिनँ भनेपछि सधैँ उम्किने/पन्छिने बाटो हुन्छ,’ उनले भनिन्, ‘महिलामा मात्र मातृत्व पलाएर आउनुपर्छ भनेर सिकाइएको छ । पुरुषलाई चाहिँ यसमा छुट दिएको छ ।’ कतिपय ठाउँमा सुत्केरीलाई ११ दिनसम्म कुनामा राख्ने चलन छ । यस्तो बेला श्रीमान्ले मात्रै नभएर परिवारका सदस्य कसैले पनि सुत्केरीलाई छुँदैनन् । ‘सुत्केरी हुँदा श्रीमतीलाई सघाए परिवारको अगाडि इज्जत जान्छ भन्ने डरले पनि ऊ श्रीमतीको अगाडि पर्दैन,’ वन्दनाले भनिन् ।
वन्दनाकी आमालाई सानैदेखि ‘सुत्केरी भाग’ भनेर कोसेली आउँथ्यो । ‘आमाले न सुत्केरी स्याहारेको न केही गरेको, किन कोसेली ल्याएको होला ?’ उनी सोच्थिन् । उनको यो प्रश्नको उत्तर उनलाई समयले दिएको छ । अहिले उनले बुझेकी छन्, पितृसत्तात्मक समाजले श्रीमतीको परिवारलाई निचो देखाउनकै लागि यस्तो थिति बसाएको रहेछ । ‘म मालिक हुँ, तिमी सेवक हौ’ भनेर श्रीमतीको परिवारलाई हैसियत देखाएको रहेछ । ‘माइत जाँदैमा त्यो महिलालाई सुख हुन्छ भन्ने छैन,’ वन्दनाले भनिन्, ‘माइतबाट फर्किंदा बच्चाको ख्याल राख्न नसकेको भन्दै घरबाट उल्टै गाली पाउँछन् । कारणवश माइतमै बच्चाको मृत्यु भए माइतीपक्षले जीवनभरि नै अपजस खेप्नुपर्छ ।’
सुत्केरीमा माइत जाने चलनलाई अंशसँग जोडेर पनि धेरैले विश्लेषण गर्छन् । ‘दाजुभाइले अंश पाउँदा आफूले सुत्केरीमा किन स्याहान नपाउने भन्ने धेरैको प्रश्न हुन सक्छ,’ उनले भनिन् । छोरासरह सम्पत्तिमा छोरीको अधिकार हुन्थ्यो भने यो समस्या नै ननिम्तिने उनको बुझाइ छ । ‘सम्पत्तिमा आफ्नो अधिकार हुँदा के खाने, आफ्नो स्याहार कसरी गर्ने आफैँ बन्दोबस्त गर्न सकिन्थ्यो । यसकारण सुत्केरी अवस्था सम्पत्तिसँग पनि जोडिएको छ,’ उनले भनिन् ।
‘महिलामाथिको विभेद’
जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले पहिला सुत्केरी हुँदा घरमा आराम नपाइने, पोषिलो खानेकुरा खान नपाइने हुनाले सुत्केरीबस्नमाइत जाने चलन भएको बताइन् । ‘तर, यसले परम्पराका रुपमा निरन्तरता पायो, जुन गलत हो,’ उनले भनिन्, ‘सुत्केरी महिला सासूसँग भन्दा आमासँग खुल्न सक्ने भएकाले जान चाहन्थे ।’ सुत्केरी हुँदा माइत पठाउने चलनलाई डा. उप्रेती महिलामाथिको अपमान ठान्छिन् । ‘माइत गएर आराम गर भनेर माया गरेजस्तो गरिन्छ तर, त्यो मायाभित्र ठूलो राजनीति लुकेको छ,’ उनले भनिन्, ‘यो महिलामाथिको विभेद हो ।’
सुत्केरीसँग जोडेर दिइने लत्ताकपडा र कोसेलीलाई उनी दाइजोको अर्को रूप मान्छिन् । ‘छोरी अपमानित हुन नपरोस् भनेर माइतीले सकि–नसकी कोसेली पठाउँछन्,’ उनले भनिन्, ‘माया स्नेहले कोसेली आदानप्रदान गर्नुमा आपत्ति छैन । अपमान खेप्नुपर्ला भनेर नसक्नले पनि विवशताको भार बोक्नु गलत हो ।’
श्रीमान्ले नै सुत्केरी श्रीमतीको ख्याल राख्न सक्ने भएपनि नआउने भनेर पन्छिने गरेको डा. उप्रेतीले बताइन् । उनले भनिन्, ‘उनीहरूलाई नआउने, नसक्ने होइन । पैसा पाउने भएपछि तिनै पुरुष केयर टेकरको काम गर्न विदेश जान्छन् । आफ्नो परिवारमा भने त्यही काम गर्न तयार हुँदैनन् ।’ यसरी पुरुषले आफ्नो बच्चाप्रति जिम्मेवारी बोध गर्न कहिल्यै नसिक्ने उनले बताइन् ।
एकल परिवारमा बस्नेकेही बुवाले बाध्यताले आमा र बच्चाको स्याहार गरे पनि धेरै परिवारमा यो परिवर्तन हुन बाँकी रहेको उनले बताइन् । ‘आफ्नो काखमा खेलेको बच्चाले दिसा–पिसाब गर्यो भने सफा गरिदिन आमालाई कुरेर बस्नेपरिपाटी छ,’ उनले भनिन्, ‘ठूलो भएर खेल्न थालेपछि मात्र नजिकिन खोज्ने बुवाहरू समाजमा थुप्रै छन् ।’ अझै पनि पितृसत्ताले जकडिएको नेपाली समाजमा महिलाहरू यस्तै–यस्तै रितीथितीका कारण दबाइनु दुःखद भएको उनले बताइन् ।
‘नवजात शिशु र आमाको केयर टेकर उसको बुवा हुनुपर्छ’
- प्रणिका कोयू
सुत्केरी हुँदा माइत पठाउने/जाने चलन पितृसत्ताले महिलामाथि गर्ने शोषणको उदाहरण हो । जहाँ महिलालाई केवल वस्तुका रूपमा हेरिन्छ । वस्तुको भोगचलन तबसम्म हुन्छ जबसम्म उसलाई फाइदा हुन्छ । नवजात शिशुको स्याहार गर्नु कुनै पुरुषका लागि रमाइलो काम होइन । त्यो भार उसले बेहोर्न चाहँदैन । वस्तुको स्याहार गर्ने इच्छा कसैको हुँदैन । सुत्केरीबस्नमाइत पठाउनु भनेको वस्तुको ‘मेन्टिनेन्स कस्ट’ तिर्न नखोज्नु हो ।
हाम्रो समाजको मुल्यमान्यताले पुरुषको परिवारलाई बढी शक्ति दिएको छ । उसलाई महिलाको परिवालाई हेप्न, निचो बनाउन, शोषण गर्न छुट छ । जसरी गाईले दूध दिन छाडेपछि खेद्ने, लखेट्ने गरिन्छ । सुत्केरी हुँदा माइत पठाउनु पनि त्यस्तै हो । महिलाको परिवारलाई सम्बन्धको हवाला दिँदै शोषण गरेको हो । आफू जिम्मेवारीबाट पन्छिएको हो ।
छोरीको परिवार भएकै कारणले उनीहरूमाथि भौतिक, शारीरिक, मानसिक र आर्थिक शोषण गरेको हो । सुत्केरी भएर माइत जाँदैमा महिलाले माया पाउँछन् भन्ने छैन । माइतीमा आर्थिक स्रोतमा निर्णय गर्ने व्यक्तिसँग सुत्केरी महिलाको सम्बन्ध अनुसार उसलाई व्यवहार हुन्छ । त्यो बेला तेल लगाउनेदेखि पोषिलो खानेकरा र मानसिक रूपमा आडभरोसासम्मको कुरा आउँछ । तर, सबैभन्दा जोखिम र संवेदनशील भएर स्याहार गर्नुपर्ने बेला सरक्क माइती पठाइन्छ ।
बुहारीलाई आफ्नो सम्पत्ति ठानेर भित्र्याइन्छ तर, उसका लागि सम्पत्ति खर्च गरिँदैन । घरमा कुनै सामान ल्याउँदा पुछपाछ गरिन्छ, बिग्रिँदा बनाउन लगिन्छ । तर, सुत्केरी हुँदा पुरुषको परिवारले उनीप्रति त्यो सामान जति पनि दायित्वबोध गर्दैन । हाम्रो पितृसत्तात्मक समाज महिलाले बच्चा जन्माइदियोस् भन्ने मात्र चाहन्छ । तर, जन्मेको बच्चा र उसकी आमालाई स्वस्थ बनाउन गर्नुपर्ने दायित्वमा हिसाब गर्छ । सुत्केरीलाई आमाले जस्तो माया कसैले गर्दैन भन्दै सुत्केरीलाई माइत पठाउँछ । सासूलाई भन्ननसकेको कुरा आमालाई भन्नसकिन्छ भनिन्छ । तर, आमालाई सजिलै भन्नसकेको कुरा सासूलाई किन भन्नसकिएन, त्यतातिर ध्यान दिइँदैन ।
सुत्केरीमा महिलालाई माइत पठाउनु भनेको उसलाई आफ्नो हैसियत देखाउनु पनि हो । तिम्रो सामाजिक सम्बन्धहरूमाथि हाम्रो (घर–माइती) अधिकार हुन्छ भन्नु हो । अरु बेला त अधिकार जमाउँछन् नै, सुत्केरी हुँदा पनि महिला कहाँ बस्नेकति बस्नेउनीहरूले नै तय गर्छन् । नत्र अरु बेलामा माइत जानुपर्दा मन मैलो गर्ने परिवारले किन आफ्नो नवजात सन्तानलाई ‘पराइ’ भनिएको घरमा हेरचाहको लागि पठाउँछ । तीजमा माइत जान पाइएन भनेर रोएका मात्र गीत आउँछन् । त्यो बेलामा किन पठाइएन त माइत ? किनभने, स्वस्थ भएको बेला उसले घरमा काम गर्नुपर्छ ।
हाम्रोमा पुरुष ससुराली गइराख्दा लाज हुन्छ । महिला सुत्केरी बस्दा यही कारणले पुरुष ससुराली जाँदैनन् । पुरुष ससुराली जान नहुने भनिएको चलनले श्रीमान् श्रीमतीको सम्बन्धलाई नियन्त्रण गरेको देखाउँछ । जहाँ परिवारले छोरामाथि बुहारी हाबी हुने रूपले हेर्ने गर्दछ र उनीहरूको न्यानोपनालाई कस्न खोज्छ । त्यसैले छोरालाई आफ्नो नियन्त्रणमा राख्न उसलाई समाजको लाज देखाउँदै सुत्केरी श्रीमतीसँग ससुरालीमा बसेर आफ्नो बच्चा हेर्ने जिम्माबाट वञ्चित गराइन्छ ।
तर, बच्चाको प्राइमरी केयर टेकर सुत्केरी महिला होइन, उसको बुवा हो । सुत्केरी बेला श्रीमतीलाई सक्दो सहयोग उसैले गर्नुपर्छ । सपोर्ट सिस्टम (बाआमा, सासूससुरा) को सहयोग कति बेला लिने त्यसमा विचार पुर्याउनुपर्छ । बच्चा गर्भमा आएदेखि उसको जिम्मेवारी बुवाआमा दुवैको प्राथमिकतामा पर्नुपर्छ ।
वर्तमान समाजमा बदलिँदो परिवेशमा आत्मनिर्भर महिलालाई जता बस्दा पनि समस्या हुँदैन किनकि उसले आफ्नो सन्तानको र आफ्नो हेरचाहको व्यवस्थापन गर्न सक्छिन् । तर, आर्थिक आत्मनिर्भरताले मात्रै पनि हुँदैन । यस्ता मायाको लेप लगाइएको सामाजिक संस्कारलाई कुसंस्कार र शोषणरहित बनाउनका लागि प्रयास गर्ने बनाउनका लागि प्रयास गर्ने चेत पनि हुनुपर्छ । महिला आफू गर्भवती भएदेखि नै आफ्नो सन्तानको दैनिक हेरचाहमा समेत शिशुको बुवाको जिम्मेवारी बराबर हो र त्यो जिम्मेवारी वहन गराउनुपर्छ ।
सुत्केरी अवस्थासँग जोडिएको पितृसत्ताको राजनीति
- डा. मीना उप्रेती
सुत्केरी हुँदा माइत जाने चलनलाई हामीले सन्तान सुखसँग जोडिएको व्यक्तिगत, पारिवारिक र संरचनागत मनोदशासँग जोडेर हेर्नुपर्छ । यसरी हेर्दा त्यसको वास्तविक चित्र आउँछ । सुत्केरी अवस्था भनेको असह्य शारीरिक पीडा र मानसिक विचलनको अवस्था हो । यो बेला धेरैलाई माइतीको याद आउँछ । माइती जादा मनोवैज्ञानिक रूपले उनीहरू बलियो हुन्छन् ।
आमासँग खुलेर दुःख, सुख साट्न सक्छन् । मन लागेको कुरा ढुक्कले भन्नपाउँछन् । माइतीमा मजाले आराम पाइन्छ, बच्चाको राम्रो स्याहार हुन्छ भन्ने विश्वास हुन्छ । यो जन्म घरसँग जोडिएको माया र भरोसा हो । भविष्यसँगको चिन्ता हो । आफू जागिरमा जाँदा पनि धेरैको माइतीपक्षले नै बच्चा हेर्न सहयोग गरेको देखिन्छ । तर, यसलाई यतिमा मात्र सीमित राखेर हेर्नुहुँदैन । यो काम र सेवासँग पनि जोडिएको छ । पितृसत्तात्मक परिवारमा बुहारी र छोरीको हैसियत फरक हुन्छ । उनीहरूलाई हेर्ने तरिका नै फरक हुन्छ । बुहारीलाई कामदारका रूपमा लिइन्छ ।
सुत्केरी हुँदा माइत जाने कुरालाई बाध्यता र सुविधा दुई कुरासँग जोड्नुपर्छ । एकल परिवार हुँदा कहिलेकाहीँ त्यो बाध्यता पनि हुन सक्छ । तर, कतिपयले सुविधाका लागि पठाउँछन् । दुईजनामा एकले नकमाउँदा रोजीरोटी गुम्छ भने त्यहाँ बाध्यता हुन सक्छ । तर, बच्चा रोएर सुत्न पाइएन भन्दै माइत पठाउनु भनेको सुविधाका लागि पठाउनु हो । जहाँ न कुनै माया हुन्छ न कुनै कर्तव्य बोध । त्यहाँ केवल श्रीमान्, सासूससुराले सुत्केरीको स्याहार गर्नुहुँदैन भन्ने मान्यता मात्रै हुन्छ । उसले मात्र हाम्रो स्याहार गर्नुपर्छ भन्ने गलत चेतना हुन्छ । परिवारमा अरु सदस्य बिरामी हुँदा हेरविचार गर्ने मुख्य जिम्मेवारी बुहारीको हुन्छ ।
जागिरै छाडेर स्याहारसुसारमा खट्नुपर्छ । तर, उसलाई अप्ठ्यारो पर्दा उसको पनि केयर गर्नुपर्छ भन्ने चेतना छैन । श्रीमतीलाई माइत पठाएर फोनमा बच्चा कत्रो भयो भन्दैमा जिम्मेवारी पूरा हूँदैन । सुत्केरी एउटा अवस्था हो । तर, योसँग जोडिएका हाम्रा मूल्य, मान्यता, पारिवारिक अवस्थालाई केलाउँदा थुप्रै कुरा निस्किन्छ ।
हाम्रो समाजमा सन्तान प्राप्ती छोरासँग जोडिएको छ । छोरी पाउने आमाहरूले उसै पनि कम स्याहार पाउँछन् । सुत्केरीमा आमा र बच्चाको हेरचाह गर्ने पहिलो दायित्व श्रीमान् र परिवारको हो ।
तर, न्वारान गरेपछि माइतीमा जान नपाउनेले परिवारको मुख टाल्नकै लागि भए पनि दिदी, काकी जसकोमा भए पनि जाने चलन छ । सुत्केरी हुन अस्पताल जाँदा हाम्रोमा श्रीमान्ले न देख्न पाउँछन् न कुरुवाबस्नपाउँछन् । उसलाई बाहिर निकाल्ने चलन छ । तर, विदेशीहरूले श्रीमान्लाई पनि भित्रै राखेर देखाउँछन् ताकि बच्चा जन्माउँदाको पीडा देखून्, अनुभव गरुन् । ‘हाम्रो पाला’मा यस्तो थियो, उस्तो थियो भनेर सुत्केरीलाई ढाडस दिनुभन्दा पनि कमजोर बनाइन्छ ।
नेपालमा जनसंख्या घटेको कुरा आएको छ । सुत्केरी अवस्थामा स्याहार नपाएर यो अवस्था आएको हो । परिवारले मात्र होइन, राज्यले समेत उनीहरूको स्याहारमा ध्यान दिनुपर्छ । सुत्केरी बिदा दिनुपर्छ । आमा बन्ने अधिकारमा सारथि बन्नुपर्छ । कोही आमा बनेकै कारणले जागिर गुमाउने अवस्था आउनु हुँदैन । नत्र यो राष्ट्रलाई बच्चा किन जन्माइदिने भन्ने आमाहरू बिस्तारै जन्मिन्छन् ।
बालबालिकाले सोधिरहने, अभिभावकले टारिरहने एउटा प्रश्न

बालबालिकाको उमेर स्वभावैले चुप लाग्ने उमेर भने होइन । अभिभावकका टालटुले गलत जवाफ ‘बाटोमा भेटेको, सुपरमार्केटबाट ल्याएको, देउताले दिएको, आकाशबाट झरेको’ पत्याउने उमेर पनि होइन । केही साताअघि काठमाडौँ, बत्तिसपुतली बस्ने समिरा बस्नेतले आफ्नो आठ वर्षे छोरालाई यस्तै टालटुले जवाफ दिएकी थिइन् । एकदिन फुर्सदमा समिराले छोरालाई बिहेको फोटो, भिडियो देखाइन् । ध्यान दिएर बिहेको फोटो, भिडियो हेरेपछि अन्तिममा छोराले समिरालाई सोधे, ‘मामु म चाहिँ खोई त यहाँ ?’ समिराले सहजै जवाफ दिइन्, ‘त्यो बेला तिमी जन्मिएकै थिएनौ ।’छाराले पुनः प्रश्न गरे, ‘त्यसो भए म कसरी जन्मिएँ त ?’
समिरालाई के भनौँ, कसो भनौँ भयो । ‘ठूलो भएपछि आफैँ थाहा पाउँछौ’ समिराले छोराको जिज्ञासा थामथुम पार्ने प्रयास गरिन् । आमाको जवाफ चित्त नबुझेर अहिले पनि उनका छोरा बारम्बार सोधिरहन्छन्, ‘मामु भन्नुस् न म कसरी जन्मिएँ ?’
आफ्ना आठ वर्षे छोरालाई यो प्रश्नको जवाफ कसरी दिने समिरालाई थाहा छैन । ‘केही साथीहरूलाई कसरी जवाफ दिने भनेर साधेको थिएँ,’ उनले सुनाइन्, ‘उनीहरूमध्ये कसैले भाटभटेनीबाट किनेर ल्याएको, कसैले भगवान्ले दिएको, कसैले पेट चिरेर निकालेको भनेर जवाफ दिँदा रहेछन् ।’
भक्तपुर, जगाती बस्ने प्रतिमा खत्रीकी छोरी भर्खरै टिनेज लागिन् । ‘म कसरी जन्मिएँ ?’ भन्ने प्रश्न उनले पनि बाल्यकालमा प्रतिमालाई सोधेकी थिइन् । प्रतिमाले त्यो बेला के भन्नु, भन्नु भएर ‘बाटोमा भेटेको’ भनिदिएकी थिइन् । घरमा आउने आफन्तहरूले पनि छोरीलाई बारम्बार बाटोमा भेटिएकी जिस्काउने गर्थे ।
त्यो कुराले छोरीको बाल मस्तिष्कमा नराम्रो छाप पर्यो । प्रतिमाले यस्तो कुराले छोरीलाई पछिसम्म असर गर्ला भनेर सोचेकी थिइनन् । ‘अहिले नानी हामीसँग जहिल्यै झगडा मात्रै गरिरहन्छे,’ उनले भनिन्, ‘मलाई बाटोमा भेटेर ल्याएको भएर तिमीहरूले मलाई माया नगरेको भनेर निहुँ खोजिरहन्छे । उसलाई हामीले केही गरी पनि सम्झाउन सकेका छैनौँ ।’
कुन उमेरका बालबालिकालाई कस्तो जवाफ दिने ?
बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की बालबालिकाको विकास तीन चरणमा हुने बताउँछन् । छ वर्षभन्दा मुनिको उमेरलाई पूर्वबाल्यावस्था भन्न सकिन्छ । अनि १२ वर्षसम्म बाल्यावस्था र त्यसदेखि १९ वर्षसम्मको उमेर किशोरावस्था । यी भिन्नभिन्न अवस्थामा उनीहरूको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, विकास पनि एकनास हुँदैन । कुनै पनि विषयप्रति खुल्दुली बढ्नु, कौतूहलले घर गर्नु बाल्यावस्थाका सामान्य लक्षण हुन् । तर, अभिभावक र कतिपय सन्दर्भमा शिक्षालयलाई समेत बालबालिकाका यिनै सामान्य लक्षणले असामान्य टाउको दुखाइरहेका हुन्छन् ।
डा. कार्कीका अनुसार छ वर्षभन्दा मुनिका बालबालिकाको बौद्धिक विकास ठोस रूपले भइसकेको हुँदैन । जसले गर्दा उनीहरूलाई कुनै पनि कुराको ‘कज एन्ड इफेक्ट्स’ अर्थात् कारण र प्रभावबारे खासै जानकारी हुँदैन । परिवारसम्बन्धी अवधारणा नै उनीहरूले बुझेका हुँदैनन् । जसले उनीहरूलाई माया गर्छन्, खानेकुरा खान दिन्छन् त्यो नै उनीहरूको परिवार हुन्छ ।
यो उमेरका बालबालिकाले सो प्रश्न गरेमा प्रजनन प्रक्रियाबारे सबै बताउनु जरुरी नभएको उनी बताउँछन् । ‘छ वर्ष मुनिका बालबालिकाले त्यो बुझ्दा पनि बुझ्दैनन्,’ उनी भन्छन्, ‘उनीहरू कल्पनामा रमाउने खालका हुन्छन् । त्यो उमेरमा वैज्ञानिक जवाफ दिएर काम छैन । गलत सूचना नजाने गरी सिर्जनात्मक भएर जवाफ दिनुपर्छ ।’
उनीहरूलाई स्टोरी बुकको माध्यमबाट यौनका कुरा सिकाउन सकिने डा. कार्की बताउँछन् । ‘अभिभावकले सबै प्रश्नको उत्तर दिनैपर्छ भनेर प्रेसर अनुभव गर्नु हुँदैन,’ उनी भन्छन्, ‘उमेर अनुसार अन्तक्र्रिया गर्नुपर्छ । प्रेसर लिन थालियो भने गलत जवाफ जान सक्छ । जवाफ थाहा नहुँदा ‘म हेरेर, पढेर वा सोधेर भन्छु’ भन्न सकिन्छ । गलत जवाफ दिनुभन्दा जवाफ नदिनु राम्रो उपाय हो ।’
प्रजनन स्वास्थ्य विशेषज्ञ डा. तुम्ला शाह बालबालिकाको दिमागले जुनसुकै कुरा चाँडै टिपिहाल्ने बताउँछिन् । यसको प्रभाव पछिसम्म पर्ने भएकाले उनीहरूसँग कहिल्यै झुटो बोल्न नहुने उनको भनाइ छ । उनीकहाँ केही अभिभावक छोराछोरीका प्रश्न लिएर आउँछन् । ‘अहिले धेरैजसो डेलिभरी अपरेसन गरेर हुन्छ,’ उनी भन्छिन्, ‘अपरेसन गरेर पाएकाहरूले पेटको दाग देखाएर यहाँबाट चिरेर निकालेको भनेर देखाउनु हुँदो रहेछ । नर्मल डेलिभरी भएकाहरू भने भन्न अप्ठ्यारो लागेर हामीसँग सोध्नु पनि हुन्छ ।’
डा. शाह पनि आफूलाई जवाफ दिन अप्ठ्यारो लाग्छ भने अरुको सहायता लिनू तर, गलत जवाफ नदिनू भन्छिन् । बालबालिकालाई आठ वर्षपछि महिनावारीबारे चर्चा गर्दै उसको माध्यमबाट यौनसम्बन्धी कुराहरूबारे जानकारी दिन सकिने उनी बताउँछिन् ।
बाल मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवर पाँच वर्षमुनिका बालबालिकाले बायोलोजिकल कुरा खासै नबुझ्ने भएकाले उनीहरूलाई सामान्य हिसाबले जवाफ दिँदा पनि हुने बताउँछन् । तर, किशोरकिशोरीलाई भने प्रस्टसँग यसको जवाफ दिनुपर्ने उनको भनाइ छ ।
गलत जवाफभन्दा नाजवाफ बेस !
यौनको बारेमा मात्र होइन अन्य जिज्ञासामा पनि बालबालिकासँग खुलेर छलफल गर्न लजाउने, गलत जवाफ दिने अभिभावकको शैली प्रत्युत्पादक हुने मनोपरामर्शदाता कञ्चन रावतको अनुभव छ । ‘बालबालिकाहरू यौन भनेको खराब कुरा हो भनेर सोच्न थाल्छन्,’ उनी भन्छिन्, ‘यौनसम्बन्धी कुराहरू लुकाउनुपर्ने रहेछ भन्ने सन्देश उनीहरूमाझ जान्छ । यौनाङ्गलाई छोप्नुपर्छ तर यौनांगबारेका कौतूहल छोप्न जरुरी छैन । यसलाई लाज र घृणाको विषय बनाउनु हुँदैन ।’
उनका अनुसार आठ वर्षभन्दा मुनिका बालबालिका तर्क होइन, भावनाबाट निर्देशित हुन्छन् । ‘आठ वर्षपछि भने सही÷गलत छुट्याउन थाल्ने भएकाले यो उमेरमा उनीहरूले सोधेका प्रश्नको बिनाहिचकिटाहट जवाफ दिनुपर्छ,’ उनी भन्छिन् ।
डा. उत्कर्ष कार्की बालबालिकाको यस्तो जिज्ञासामा गलत जवाफ दिँदा उनीहरूले आफूलाई परिवारको सदस्य नै नठान्ने बताउँछन् । ‘बच्चाले कुन सन्दर्भमा प्रश्न सोधेको हो विचार गर्नुपर्छ,’ उनी भन्छन्, ‘जथाभावी जवाफ दिनाले मनोवैज्ञानिक आघात पुग्छ । मेरो आमाबुवा को होला ? म ठीक ठाउँमा छु कि छैन ? जस्ता कुरा सोच्न थाल्छन् ।’ कसैले भने सामान्य रुपमा लिएर बिर्सिने उनी बताउँछन् । तर, त्यो बालबालिकाको स्वभावअनुसार फरक पर्छ ।
आठ वर्षमाथिका बालबालिकाको बुझाइ बिस्तारै बढ्दै जाने उनी बताउँछन् । ‘उनीहरूको बायोलोजिकल अन्डस्ट्यान्डिङ बिस्तारै बढ्दै जान्छ, परिवारबारे बुझ्न थाल्छन्,’ उनी भन्छन्, ‘उनीहरू कथा सुनेर चित्त बुझाउँदैनन् । यो अवस्थामा तिमीले के बुझेका छौ भनेर सोध्ने हो । नबुझेको कुरामा अभिभावकले थप्दै लैजाने हो ।’
दुई छोरीका बुवा त्रिभुवन विश्वविद्यालयका अध्यापक समीक्षक राम लोहनी साना बालबालिबालाई मानिस कसरी जन्मिन्छ भनेर सबै प्रक्रिया भन्नु जरुरी नभएको बताउँछन् । ‘आजभोलि अधिकांश अपरेसन गरेर बच्चा पाउने भएकाले पेटबाट जन्मिएको भनेर पेटको दाग देखाए पनि भयो,’ उनी भन्छन्, ‘आफू जन्मिनुमा आमाबुवाको जेनेटिक योगदान के छ भनेर बच्चाहरूले १०-१२ वर्षपछि मात्र थाहा पाउने भएकाले सानैमा सबै कुरा भन्न जरुरी छैन ।’
बच्चालाई बाटोमा भेटेकोभन्दा नकारात्मक असर पर्ने भएकाले आफैँले जन्माएको हो भनेर विश्वास दिलाउनुपर्ने उनी बताउँछन् । ‘तिम्रो नाक, मुख, बुवाको जस्तो छ, हातखुट्टा आमाको जस्तो भनेर बेलाबेलामा बताइहरनुपर्छ,’ उनी भन्छन्, ‘आमाबुवाको गुण र विशेषता उसमा भएको थाहा पाएपछि उसले बाटोमा भेटेको भन्यो भने पनि पत्याउँदैन ।’
बालबालिकालाई उनीहरूका यस्ता प्रश्नको जवाफ कुशलतापूर्वक दिनुपर्ने उनी बताउँछन् । ‘अभिभावकलाई सबै प्रश्नको जवाफ थाहा हुन्छ भन्ने छैन,’ उनी भन्छन्, ‘बिजनेस पढेको अभिभावकले बायोलोजीबारे राम्रोसँग बुझाउन नसक्ने हुन्छ । अभिभावकले आफूलाई सबैकुरा थाहा छ जस्तो गर्नु जरुरी छैन ।’
अभिभावक भएपछि जवाफ दिनैपर्छ भन्ने छ र ?
यौन तथा प्रजनन स्वास्थ्यमा लामो समयदेखि स्कुल-स्कुलमा गएर अभियान चलाइरहेकी डा. मधुरिमा भद्राले पनि बाल्यकालमा बुवाआमाको बिहेमा आफूलाई किन नबोलाएको भनेर झगडा गरेकी थिइन् । नेपाली संस्कारमा बिहेअगाडि बच्चा पाउन मिल्दैन भनेर उनका बुवाले जवाफ दिएका थिए । जिज्ञासा अझै नमेटिएपछि उनलाई बुवाले कमिक पुस्तक थमाइदिएका थिए । मानव शरीरबारे उल्लेख गरिएको उक्त कमिक पुस्तकमा चित्रद्वारा बच्चा कसरी बन्छ, नौ महिनासम्म पेटमा कसरी बस्छ भनेर देखाइएको थियो ।
अहिले भने उनी स्कुलमा गएर यौनको कुरा गर्नुपर्दा सुरुमा महिनावारीबाट सुरु गर्छिन् । ‘तिमीहरूको आमाको कथा भन्छु है भन्दै महिनावारी हुँदै यौन प्रजनन विषयमा जानकारी दिने गरेको छु,’ उनी भन्छिन् । बालबालिकालाई बाटोमा भेटेको, सुपरमार्केटबाट किनेको भन्दा उनीहरूले आफ्नो अस्तित्व नभएको अनुभव गर्ने उनी बताउँछिन् । यसो गर्नाले उनीहरूको आमाबुवासँगको विश्वास टुक्रिने, झनै कौतूहल पैदा हुने उनको बुझाइ छ ।
यो विषयमा सही जवाफ दिन नसकेकोमा अभिभावक, शिक्षक कसैलाई पनि दोष लगाउन नमिल्ने उनी बताउँछिन् । अभिभावक र शिक्षकलाई कसरी जवाफ दिने भनेर कसैले नसिकाएको उनको भनाइ छ । ‘हाम्रो संस्कारले यो विषयमा कुरै गर्न दिँदैन,’ उनी भन्छिन्, ‘यसमा हाम्रो समाज र मूल्य-मान्यता दोषी छन् । एउटा मात्रै समूहलाई यसमा दोष दिन मिल्दैन ।’
जनावरको जीवनचक्र देखाउन सकिन्छ
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला यौनका विषयमा अभिभावकले बालबालिकालाई स्पष्ट रूपले भन्न सक्ने हिम्मत राख्नुपर्ने बताउँछन् । ‘हाम्रोमा केही अभिभावकले यौनको विषयमा छोराछोरीलाई भनिरहेका त छन् तर, कसरी भन्नुपर्छ भन्ने जानिरहेका छैनन्,’ उनी भन्छन् ।
गाउँघरमा हुने धेरै क्रियाकलापले बालबालिकालाई यौनसम्बन्धी बुझ्न सघाउने उनी बताउँछन् । ‘बाख्रालाई बोका खोज्न लगेको, गाईलाई गोरु भए ठाउँमा लगेको, कुखुरा ठुँगाउन लगेको देखाएर यस्तो कुरा बुझ्न, बुझाउन सजिलो हुन्छ,’ उनी भन्छन्, ‘तर, सहरमा न आमाबुवाले भन्छन् न त्यस्ता क्रियाकलाप नै देखेका हुन्छन् । यो समस्या धेरैजसो सहरी अभिभावकले सामना गर्नुपरेको छ ।’
उनका अनुसार मन्दिरका टुँडालले पनि यौनका धेरै जिज्ञासा मेटाउने भएकाले त्यसको प्रयोग गर्न सकिन्छ । चराचुरुङ्गी वा जनावर आदिको उदाहरण दिएर आफू कसरी जन्मिएकोबारे जानकारी दिन सकिन्छ । जनावरबाट सम्भव नभएर चित्रात्मक ढंगबाट पनि यस्ता कुरा प्रस्ट पार्न सकिन्छ । त्यस्तै, कथा, कार्टुन र एनिमेसनको सहयोग पनि लिन सकिन्छ । विदेशीहरू भने सिमुलेसन (नक्कल) गरेर यौन शिक्षाबारे जानकारी दिन्छन् । उनीहरू यस्ता विषयमा उदार हुनाले धक नमानी खुलेर कुरा गर्छन् । ‘हाम्रोमा यौनको विषयलाई लुकाउने र रहस्यमय विषयका रूपमा प्रस्तुत गर्ने हुनाले झन् कौतूहल बढ्छ,’ उनी भन्छन् ।
‘हाम्रोमा न मन्दिरका टुँडाललाई देखाएर बुझाउन सक्ने क्षमता छ, न पश्चिमा जस्तो सिमुलेसन गरेर यौन शिक्षा दिने प्रचलन नै छ,’ उनी थप्छन् । तर, यसो भन्दैमा सबै दोष आमाबुवालाई थुपार्न नहुने उनी बताउँछन् । ‘उनीहरूले जसरी जवाफ दिँदै आएका छन्, त्यो उनीहरूको व्यक्त गर्ने कला हो,’ उनी भन्छन्, ‘यौनको विषयमा लाज मानेर उनीहरूले विभिन्न बहाना गरेर टार्ने गरेका हुन् ।’
‘मलाई पनि थाहा छैन, हामी मिलेर खोजौँ न’
अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र उनका सहकर्मीहरूले स्कुलमा धेरै विद्यार्थीबाट यस्ता प्रश्नको सामना गर्नुपर्छ । कतिपय प्रश्नका जवाफ आफूसँग नहुँदा उनी स्कुलमा सम्बन्धित विशेषज्ञ ल्याएर यौन शिक्षा दिने गर्छिन् । शिक्षकहरूलाई पनि यो विषयमा प्रशिक्षण दिइरहेकी हुन्छिन् । ‘हामीले प्रि-स्कुलदेखि नै शरीरका अंगबारे कुरा गर्न थाल्छौँ,’ उनी भन्छिन्, ‘असल छुवाइ र खराबबारे सिकाउँछौँ । पहिला यौन शिक्षा पाँच-छ कक्षामा पुगेपछि मात्रै दिने गरेका थियौँ । अहिले तीन कक्षाबाटै दिनुपरेको छ ।’
पाँच वर्षमुनिका बालबालिकालाई शरीरको अंगबारेमै थाहा नहुने हुनाले धरै अभिभावकले दैवी शक्तिको सहारा लिने उनी बताउँछिन् । तर, बालबालिका जिज्ञासु हुने भएकाले अभिभावकको जवाफमा चित्त नबुझाउन सक्छन् । ‘त्यस्तो अवस्थामा उनीहरूलाई परिवारको इतिहास खोतलेर त्यसबारे जानकारी दिन सकिन्छ,’ उनी भन्छिन् ।
प्रिन्सिपल भट्टराई अभिभावकले सबै प्रश्नको जवाफ दिनुपर्छ भन्ने जरुरी नभएको बताउँछिन् । ‘आफूलाई थाहा नभएको प्रश्नको जवाफ ‘मलाई पनि थाहा छैन, तिमी र म मिलेर खोजौँ’ भन्ने हो,’ उनी भन्छिन् । सबै प्रश्नको जवाफ आफैँ दिएर उनीहरूको जिज्ञासा नमार्न उनी अभिभावकलाई सल्लाह दिन्छिन् ।
बालबालिकाले सोध्ने सबै प्रश्नको जवाफ दिन नसकिने बताउँदै उनी भन्छिन, ‘धेरैले यो पनि भन्छन् बालबालिकाले सोध्ने सबै प्रश्नको सही र वैज्ञानिक ढंगले जवाफ दिने मानिस महाविद्वान् हो ।’
छोराछोरी निदाइसके भन्ठानेर सेक्स गरिरहनुभएको त छैन ?

एकजना किशोर मन जँचाउन आए । उनको मन जाँच्ने प्रयत्न गरिरहेकी थिइन्, मनोविद् डा. गंगा पाठक । समस्या खोतल्दै जाँदा उनले सोच्दै नसोचेका कुरा ती किशोरले निकाल्न थाले । उनी आफ्नी बहिनीसँग जिस्किने, चल्ने संवेदनशील अंगमा छुने गर्दा रहेछन् । यसरी चल्ने-जिस्किने कुरालाई परिवारले दाजुबहिनी चलेको भनेर सामान्य रूपले लिँदो रहेछ ।
‘बहिनीलाई त्यसो गरेकामा बिस्तारै उसलाई ग्लानि महसुस हुन थालेछ,’ डा. पाठकले सुनाइन्, ‘केही समयदेखि यही विषयमा धेरै सोच्न थालेर किशोर डिप्रेसनको सिकार भएका थिए ।’
‘बहिनीलाई त्यस्तो गर्ने आँट तिमीलाई कहाँबाट आयो ?,’ डा. पाठकले किशोरलाई सोधिन् ।
‘मैले सानैदेखि आमाबुवा पनि त्यसैगरी चल्ने गरेको देखेको थिएँ,’ किशोरले जवाफ फर्काए ।
‘उनी ठूलो हुँदासम्म पनि आमाबुवा सँगै सुत्ने गर्दा रहेछन्,’ डा. पाठकले भनिन्, ‘सँगै सुत्दा आमाबुवाबीचको शारीरिक सम्बन्ध नजिकबाट नियालिरहेका हुँदा रहेछन् । सानैदेखि उनको दिमागमा त्यो दृश्यले डेरा जमाएर बसेको रहेछ ।’
डा. पाठककहाँ यस्ता थुप्रै केस आउँछन् । उनी बालबालिका ठूलो हुने बेलासम्म आफैँसँग सुताउँदाको परिणामका रूपमा यसलाई लिन्छिन् । यो विषयलाई प्रायः परिवारका सदस्यले सामान्य रूपमा लिने गरेको उनी बताउँछिन् । उनका अनुसार विदेशीहरू यस्ता स-साना कुरालाई ध्यानमा राख्छन् । ताकि भविष्यमा पारिवारिक सम्बन्धमा कुनै दुर्घटना नहोस् । तर, नेपालमा यस्तो चलन छैन । बालबालिकालाई ठूलो हुने बेलासम्म पनि आफूसँग सुताउने गरिन्छ ।
यो विषय कतिपयको भने बाध्यतासँग जोडिएको उनी बताउँछिन् । ‘गाउँबाट सहरमा संघर्ष गर्न आएकाहरू सबै परिवार एउटै कोठामा बस्छन्,’ उनी भन्छिन्, ‘धेरैको एउटै कोठामा सबै परिवार बस्नुपर्ने बाध्यता पनि हुन्छ । तर, केही अभिभावकहरू पर्याप्त कोठाहरू भएर पनि बालबालिकालाई ठूलो हुने बेलासम्म आफैँसँग सुताउँछन् । जुन गलत हो ।’
०००
प्रारम्भिक बाल विकास विशेषज्ञ डा. मीनाक्षी दाहाल केही बालबालिकाहरू एकआपसमा खेल्दा यौनजन्य क्रियाकलाप गर्ने गरेको बताउँछिन् । तर, यस्ता कुरालाई लाजको विषय बनाएर परिवारका सदस्यले बेवास्ता गर्ने, खुलेर कुराकानी नगर्ने उनको गुनासो छ । ‘बच्चालाई केही थाहा हुँदैन भनेर यस्तो विषय गौण ठानिन्छ,’ उनी भन्छिन्, ‘तर, बच्चा कतिबेला ब्युँझिन्छ, आमाबुवा कस्तो अवस्थामा हुन्छन्, त्यसलाई उसले कुन रूपमा लिन्छ भन्नेबारे खासै हेक्का राखिएको हुँदैन ।’
मनोविद् गोपाल ढकाल हामीले सामान्य रूपमा लिने यस्ता विषयमा घरभित्रै हुने यौन दुव्र्यवहार र बलात्कारका घटनासमेत जोडिएको बताउँछन् । ‘धेरैजसो यौन दुव्र्यवहार र बलात्कारका घटना आफन्त र परिवार भित्रैबाट भएको पाइन्छ,’ उनी भन्छन्, ‘बालबालिकालाई धेरै सानोमा बेडरुमबाट छुटाउनु राम्रो होइन । तर, ठूलो भइसकेपछि नअलग्याउनु पनि राम्रो होइन । यसले बालबालिकामा यौनको विषयमा गलत शिक्षा दिन्छ ।’
बच्चा ठूलो हुँदासम्म बाबुआमाले आफैँसँग सुताउँदा वा आफन्त त हो नि वा आफ्नै दाइभाइ-दिदीबहिनी त हुन् नि भनेर सँगसँगै सुताउँदा, त्यसको नकारात्मक असर त परिरहेको छैन ?
पारिवारिक सम्बन्धलाई चाहिनेभन्दा बढी विश्वास गर्दा सम्बन्धमा दुर्घटना हुन सक्ने उनी बताउँछन् । ‘बालबालिकालाई सानोमा सँगै सुताउँदा आत्मीयता, सुरक्षाको भाव हुन्छ, उनी भन्छन्, ‘तर, ठूलो भइसकेपछि उनीहरूलाई आफूसँग मात्र होइन, परिवारका अन्य सदस्यसँग पनि सुताउनु हुँदैन ।’
कुन उमेरसम्म सँगै सुताउने, कुन उमेरपछि अलग्याउने ?
मनोविद् करुणा कुँवर केही समयसम्म बालबालिकालाई सँगै सुताए पनि कुन उमेरमा छुटाउने त्यसको जानकारी अभिभावकले राख्नुपर्ने बताउँछिन् । ‘कहिले छुटाउने भन्ने कुरा थाहा नहुँदा १२-१५ वर्षसम्म सँगै सुताउँछन्,’ उनी भन्छन्, ‘अभिभावकले छोराछोरी निदाए भनेर शारीरिक सम्बन्ध राख्दा बालबालिकालाई असर गर्छ । आफूलाई ज्ञान र अनुभव नभएको विषय देख्दा उनीहरूमा कौतूहल हुन्छ । प्रयोग गर्न खोज्छन् ।’
यसले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक विकासमा असर पुर्याउने उनको तर्क छ । बालबालिकालाई सुत्ने बेला आफूसँग अलग्याउनुलाई उनी राम्रो बानी भन्छिन् । ‘राम्रो बानीहरू सिकाउनु छ भने बच्चालाई छिटो सिकाएको राम्रो,’ उनी भन्छिन् ।
डा. दाहाल भने बालबालिकालाई सानो उमेरमा आमाबाबुको साथ र आत्मीयता चाहिने बताउँछिन् । ‘आमाले बच्चालाई आफूबाट अलग बनाउनुभन्दा आवश्यकताअनुसार आफूले ठाउँ परिवर्तन गर्नुपर्छ,’ उनी भन्छिन्, ‘एक वर्षपछि बिस्तारै उसलाई एक्लै सुत्ने बानी बनाउनुपर्छ । उनीहरू सुत्ने ठाउँमा खेलौनाहरू राखिदिनुपर्छ ।’
सँगै सुताउँदा के-कस्तो असर पर्छ ?
डा. दाहाल ठूलो हुँदासम्म पनि आमाबुवासँग सुत्ने बानी परेका बालबालिकामा पछि गएर ‘सेपरेसन एन्जाइटी’को समस्या देखिने बताउँछिन् । ‘ठूलो हुँदासम्म पनि उनीहरू आमाबुवाबिना सुत्न मान्दैनन्,’ उनी भन्छिन्, ‘जसले गर्दा उनीहरूको आत्मबल कमजोर हुन्छ । रात परेपछि उनीहरू डराउन थाल्छन् । कतिपय बालबालिकाको भने बुवाप्रतिको धारणा नकारात्मक हुने पनि देखिएको छ ।’
भर्खरै जन्माएको बच्चालाई सँगै सुताउँदा कुनै पनि प्रकारको दुर्घटना हुन सक्ने डा. पाठक बताउँछिन् । ‘मुख छोपिन सक्छ, थिचिन सक्छ,’ उनी भन्छिन्, ‘सुतेर दूध खुवाउँदा निसासिन सक्छ । त्यसैले उनीहरूलाई आफ्नै ओछ्यानमा भन्दा साइडमा एउटा कर्नर बेड राखेर त्यसैमा सुताउनुपर्छ ।
समाधान के ?
मनोविद् कुँवर बालबालिकालाई छुट्टै सुताउँदा केही समय उनीहरूको बेडरुममा गएर ‘स्टोरी टाइम’ दिनुपर्ने बताउँछिन् । ‘उनीहरू ननिदाएसम्म उनीहरूसँगै बसिदिने, कथाहरू सुनाउने गर्नुपर्छ,’ उनी भन्छिन्, ‘ढोका खुल्लै राखेर बेलाबेलामा उनीहरूको निरीक्षण गर्नुपर्छ ।’
डा. दाहाल बच्चाहरू स्वभावैले जिज्ञासु भएकाले उनीहरूलाई यौन शिक्षा पनि परिवारबाटै दिनुपर्ने बताउँछिन् । ‘हाम्रोमा ‘म कसरी जन्मिएँ’ भनेर बालबालिकाले सोध्यो भने बाँसघारीमा भेटेको, देउताले दिएको, आकाशबाट खसेको जस्ता कुरा गरेर टार्ने चलन छ,’ उनी भन्छिन्, ‘अभिभावकले बालबालिकालाई आफ्नो ओछ्यानबाट अलग्याउनुको मतलब बालबालिकासँग यौनका कुरा गर्दै गर्नु हुन्न भन्ने होइन ।’
आफ्नै दाजु-बहिनी भनेर सँगै सुताउने गर्नुभएको छ ?
केही समयअघि डा. दाहाल अध्ययनका क्रममा बाँके गएकी थिइन् । त्यहाँको ‘किशोरी क्लब’का किशोरीहरूको कुरा सुन्ने मौका उनले पाइन् । एकजना किशोरीले आफ्नी साथीको कथा सुनाइन् । उनकी साथी र दाजु एउटै कोठामा सुत्ने रहेछन् । ‘उनले धेरैपटक ‘दाजुसँग सुत्दिनँ’ भनेर आमाबुवालाई भनेकी पनि रहिछिन्,’ उनी भन्छिन्, ‘पढ्नको गाह्रोले मसँग सुत्न नमानेको’ भनेर दाजु आमाबुवालाई कुरा लगाउने गर्दा रहेछन् । आमाबुवा उल्टो गाली गर्दै दाजुसँग सुत्न पठाउने रहेछन् ।’ केही समयपछि ती किशोरी गर्भवती भएको परिवारले थाहा पायो । आफ्नै परिवारभित्र भएको घटना भन्दै आमाबुवाले गुपचुप किशोरीको गर्भपतन गराए ।
डा. पाठककहाँ त्यस्तै प्रकृतिको एउटा केस केही समयअघि आएको थियो । परामर्शका लागि आएकी ती किशोरीमा शारीरिक समस्या केही थिएन । मानसिक रूपमा निकै तनावपूर्ण अवस्थामा उनी आइपुगेकी थिइन् । उनको समस्या थियो- आफन्त दाइसँगको मनमुटाव । कुरा बुझ्दै जाँदा डा. पाठकले थाहा पाइन्- उनका दाजुले उनीमाथि यौन दुव्र्यवहार गरेका रहेछन् । त्यसपछि उनी दाइसँग बोल्नै छाडिछिन् ।
‘परिवारले जहिल्यै दाइसँग किन नबोलेको भनेर बोल्न प्रेसर दिँदो रहेछ,’ डा. पाठक भन्छिन्, ‘किन नबोलेको भन्ने जवाफ उनले आमाबुवालाई दिन सकिनछिन् । यही कुराले उनलाई मानसिक तनाव दिएको रहेछ ।
काउन्सिलिङका क्रममा किशोरीले डा. पाठकलाई भनेकी थिइन्- म त्यो दाइको घरमा दसैँमा टिका लगाउन पनि जान छोडेँ । उसलाई देख्यो कि डर लाग्छ, रिस उठ्छ । आफन्तबाट भएका यौन दुर्व्यवहारका घटनालाई लिएर धेरैजना परामर्शका लागि आउने गरेको डा. पाठक बताउँछिन् । ‘यसको जड परिवारले आफन्त भनेर विश्वास गर्नु हो,’ उनी भन्छिन्, ‘आफ्नै त फुपूको छोरा, काकाको छोरा, मामाको छोरा । उसले मेरो छोरीलाई एकदमै माया गर्छ, केयर गर्छ भन्दाभन्दै कतिबेला आफ्ना सन्तान दुव्र्यवहारमा पर्छन्, पत्तै हुँदैन ।’
कोसँग कति दूरी कायम गर्ने भन्ने थाहा नपाउँदा यस्ता दुर्घटना हुने उनी बताउँछिन् । ‘आफ्ना बालबालिकालाई सानैदेखि असल छुवाइ र खराब छुवाइबारे जानकारी दिइरहनुपर्छ,’ उनी भन्छिन्, ‘कोसँग कति नजिक हुने, कसलाई कति विश्वास गर्ने जस्ता कुरा सिकाउनुपर्छ । यसमा अभिभावक आफैँ पनि चनाखो हुनुपर्छ ।'