सहरमा साइत हेरेर शल्यक्रिया: थाहै नपाई प्रसूति हिंसाको सिकार बन्दै महिला

सामाजिक सञ्जालमध्ये युट्युबमा बढी रमाउँथिन्, रोनिशा । एकदिन ‘रुद्राक्ष टिभी’ नामक युट्युब च्यानलको एउटा एपिसोडमा उनका आँखा अडिए

सुत्केरी छोरी: घरले जाजा, माइतले आआ

बुहारीका लागि घर, कहिलेसम्म ‘पराइ घर’ ?

वैदेशिक रोजगारीले बढ्दो दूरी

सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

घरबाहिर जहाँ पुरुषभन्दा महिला बढी छन्

देशमा पुरुषभन्दा महिलाको संख्या बढी छ

असंवेदनशील अड्डा

महिलाका विभिन्न अवस्था बुझ्ने व्यवस्था खै ?

Showing posts with label Interview. Show all posts
Showing posts with label Interview. Show all posts

Thursday, 1 September 2022

हामीले १ अर्ब २० करोड वैदेशिक अनुदान स्वीकार गरेनौँ

सृजना खड्का |

फागुन २९, २०७८ १६:४० बजे


क्षेत्रफलका हिसाबले भक्तपुर नगरपालिका देशकै सानो नगरपालिकामध्ये हो तर ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, शैक्षिक–स्वास्थ्य पूर्वाधारका दृष्टिले भने यो नगरपालिका अग्रपंक्तिको सहर हो । २०७२ को भूकम्पमा क्षतिग्रस्त भएका थुप्रै ऐतिहासिक सम्पदालाई यस नगरले विदेशी सहयोगबिना नै स्थानीय स्रोत, साधन, सीप र दक्षता प्रयोग गरी पुनःनिर्माण गरेको छ । सम्पदा संरक्षणसँगै, शिक्षा, स्वास्थ्य र छरितो सेवाप्रवाहमा भक्तपुरलाई नमुना नगरका रूपमा लिन सकिन्छ । अरु स्थानीय तहका लागि भक्तपुर नगरपालिका एउटा उदाहरण बन्न सक्छ । संघीयताको बहस र अभ्यासमा स्थानीय सरकारका संस्थापकहरूको आनुभविक आवाज सुन्न यसपटक भक्तपुर नगपालिकाका मेयर सुनिल प्रजापतिसँग सृजना खड्काले गरेको कुराकानी ः 

तपाईं संघीयताको खास जग हुनुहुन्छ, संघीयता थेग्न सकिँदैन भन्ने आवाज पनि छँदै छ, स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईं के भन्नुहुन्छ ?
स्थानीय तह प्रजातन्त्रको जग हो । यो जग बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ । संघ र प्रदेश हुँदै अधिकार स्थानीय तहसम्म आएको छ । तर, माथिल्लो तहमा बस्ने अधिकारीले दिन चाहिरहेका छैनन् । कानुनले दिएको अधिकार पनि रोकिरहेका छन् । उदाहरण, माध्यामिक तहसम्म शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई भनिएको छ । तर, एसईई परीक्षा केन्द्रले लिन्छ। तलब नगरपालिकाले खुवाउँछ तर शिक्षकहरूको नियुक्ति गर्नुपर्‍यो भने संघीय सरकारमार्फत हुन्छ।

योजना छनोटको अधिकार स्थानीय तहलाई हुनुपर्ने हो। किनकि, स्थानीय समस्या संघ वा सिंहदरबारलाई थाहा हुँदैन । यो हकमा गलत अभ्यास भएको अनुभव गरेका छौँ । नत्र संघीयता थेग्नै नसक्ने भन्ने होइन। आफूसँग भएको पुँजीलाई जनताको हितमा अधिकतम प्रयोग गर्न सकियो भने केही समस्या हुँदैन । दुरूपयोगका कारणले संघीयता थेग्न सकिँदैन भनिएको होला । स्थानीय तहको कारणभन्दा पनि हाम्रा नेताको मानसिकताका कारण संघीयता थेग्न नसकिएको हो । एउटा प्रदेशमा सातओटा मन्त्रालय बनाउने भनिएको थियो । तर, प्रदेशले मन्त्रालय बढाएको बढायै छन् । यो राम्रो होइन । यसले खर्च बढ्न र संघीयताको विषयमा नकारात्मक टिप्पणी हुन्छ । तर, फेरि संघीयता नै सबैथोक भन्न पनि मिल्दैन । जापान र चीनजस्ता विकसित देशले संघीयताको अभ्यास नगरेर पनि विकास गरिरहेका छन् । 

संघीयता आउनुभन्दा पहिला र अहिले पाएको अधिकारमा के फरक अनुभव गर्नुभएको छ ?

पहिला र अहिलेमा धेरै फरक छ । पहिला राज्यले बनाएको कानुनभित्र रहेर काम गर्नुपथ्र्यो । अहिलेको स्थानीय तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनैओटा अधिकार प्राप्त छ । यसले आफैँ कानुन बनाउँछ र कार्यान्यवन गर्छ । यो हिसाबले पहिलाभन्दा धेरै फाइदा छ । स्थानीय तहलाई यति अधिकार दिएको र सरकारको रूपमा स्वीकार गरेको नेपालका इतिहासमा पहिलो पटक हो । 

 

कला संस्कृतिको संरक्षण भएको छ । शैक्षिक क्षेत्रमा अगाडि बढेको नगरको रूपमा परिचित भएको छ । स्वास्थ्य क्षेत्रमा पनि तुलनात्मक रूपमा राम्रै व्यवस्था गर्न सकेका छौँ ।

स्थानीय सरकारको नेतृत्वका रूपमा तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा आफ्नो पालिकाको खास पहिचान र सामथ्र्य के बनाउनुभयो ?

मैले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को घोषणापत्र अनुसार चुनाव लडेको हुँ । नेपकिपाको नीति निर्देशनअनुसार हामी चल्छौँ । त्यसैको आधारमा भन्ने हो भक्तपुर सफा भएको छ । कला संस्कृतिको संरक्षण भएको छ । शैक्षिक क्षेत्रमा अगाडि बढेको नगरको रूपमा परिचित भएको छ । स्वास्थ्य क्षेत्रमा पनि तुलनात्मक रूपमा राम्रै व्यवस्था गर्न सकेका छौँ । नगरपालिकाको कार्यक्षत्रभित्र कानुनले दिएको अधिकार प्रयोग गरि जनताको अधिकतम सेवा गरिरहेका छौँ ।
 

आमअपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गरियो ?

चुनौती र अप्ठेरो जुन ठाउँमा पनि हुन्छ । यहाँको सबैभन्दा ठूलो समस्या खानेपानी हो । अहिले ठाउँ–ठाउँमा बोरिङ गरेर जनतालाई पानी उपलब्ध गराइरहेका छौँ। मेलम्ची नआएसम्म हामीसँग अर्को विकल्प छैन । जनसंख्या वृद्धि भइरहेको छ । पानीको स्रोत सुक्दै गइरहेको छ । त्यस्तै, यहाँका खोला, खोला नभएर ढल बनेर बगिरहेका छन् । त्यसलाई विशेषज्ञहरूसँग छलफल गरेर खोलाकै रूपमा बगाउने कोसिस गरिरहेका छौँ । 

त्यस्तै, जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरभरि टोल–टोलमा २३ ठाउँमा व्यायामशाला राखेका छौँ। जिम जान महँगो छ। औषधि उपचार गर्नुभन्दा व्यायाम गरेर स्वस्थ हुनुपर्छ भनेर खोलिदिएका छौँ। घर–दैलो नर्सिङ सेवा राखिदिएका छौँ । आयुर्वेदिक केन्द्र छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी तयार पार्न फुटबल, भलिबल, बक्सिङलगायत ६ ओटा खेलको नियमित प्रशिक्षण गरिरहेका छौँ। आर्थिक रूपले कमजोर विद्यार्थीलाई शैक्षिक ऋण दिएका छौँ। झनै कमजोर विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौँ। 

चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका पाँच प्रमुख प्राथमिकता के थिए ?

हामीले जोड दिएको शिक्षा, स्वास्थ्य, संस्कृति, सरसफाइ र खानेपानी नै हो । हामी निर्वाचित भएर आउँदा भूकम्पले एतिहासिक सम्पदाहरू क्षत्विक्षत् अवस्थामा थिए। पहिलो प्राथमिकता त्यसैको पुनः निर्माणलाई दियौँ । पुनः निर्माणमा विदेशी सहायता लिएनौँ।

२०७५ सालमा नेपाल र जर्मन सरकारबीच एउटा सम्झौता भएको थियो। सम्झौता अनुसार भक्तपुरका १० वटा सम्पदा पुनर्निर्माणका लागि नगरपालिकाले एक करोड युरो (करिब रु. १ अर्ब २० करोड) वैदेशिक अनुदान पाएको थियो। तर, हामीले स्वीकार गरेनौँ । सम्झौतामा आफ्नै प्राविधिकहरू नियुक्त गर्ने, उनीहरूले भनेकै सामान प्रयोग गर्ने भन्ने थाहा पाएपछि हामी पछि हट्यौँ । सरकारले सही गरिसक्यो, स्वीकार्नुपर्छ भनिएको थियो । अर्थ मन्त्रालयका सह–सचिवहरू पटक–पटक आउनुभयो । तर, हामीले हामीले ‘प्राचीन स्मारक संरक्षण ऐन’लाई अगाडि राखेर ऐतिहासिक सम्पदामा सिमेन्ट र रड प्रयोग गर्नबाट रोक्यौँ । उनीहरूलाई तपाईंहरूको सद्भाव, सहयोगको निम्ती धन्यवाद ! हाम्रो सम्पदा हाम्रै जनताहरूले आफ्नै प्रविधिको प्रयोग गरेर बनाउँछन् भनेर रकम फिर्ता गर्‍यौँ ।

केही बुद्धिजीवी भन्नेहरूले १ अर्ब २० करोड फिर्ता पठाएर दशकौँसम्म भक्तपुरलाई भग्नावशेष बनाउने भयो पनि भने। तर, हामीले अरुको पैसा लिएपछि उनीहरूले भनेजस्तो गर्नुपर्छ भनेर नगरबासीलाई जानकारी गरायौँ। उनीहरूले पनि त्यो पैसा नलिँदा हुन्छ भने। हामीले सहयोग मागेपछि नगरबासी आफैँ पुनः निर्माणका लागि लाइन लागेर आए। पैसा फिर्ता पठाएकामा हाम्रो केही चित्त दुखाइ छैन। हामी गर्व महसुस गर्छौं । एमसीसीको चर्को विरोध गरिरहँदा हामीलाई दाग लाग्ने ठाउँ कतै थिएन । नत्र हामीलाई आफू विदेशीको पैसा लिने, अरुलाई विरोध गर्ने भनेर आक्षेप लाग्थ्यो ।  

आफूसँग पैसा नभए पनि जनता साथमा भएपछि त्योभन्दा ठूलो धन नहुँदो रहेछ । पैसा भएर पनि खर्च गर्न नसकेका नगरका थुप्रै उदाहरण हामीले देखेकै छौँ । नगर विकासको लागि साथमा पैसाभन्दा पनि जनता चाहिँदो रहेछ

अनि यी करिब पाँच वर्षमा तपाईंको नेतृत्वमा भएका प्रमुख पाँच काम के–के हुन् त ?

ख्वप अस्पताल बनायौँ । सम्पदा क्षेत्रमा न्हू पुखू (रानिपोखरी) निर्माण गर्‍यौँ। सेनाको कम्पाउन्डभित्र थियो । वर्षौंदेखि त्यहाँ कोही छिर्न पाएका थिएनन् । सेनासँग थुप्रैपटक पत्राचार गर्‍यौँ । प्रधानसेनापतिसँग भेटेरै गणत्रान्त्रिक व्यवस्थामा सेनाले जनतालाई सहयोग गर्नुपर्छ भन्यौँ । सेनासँग सम्झौता भएपछि नगरपालिकाले लगानी गर्‍यो । करिब साढे २ करोड खर्च भयो । हालसालै उद्घाटन गरेर सर्वसाधारणका लागि खुला गरिसक्यौँ ।

त्यस्तै, दरबार स्क्वायरको वत्सला मन्दिर पूर्ण रूपले भत्किएको थियो । आफैँले भत्काएको भए एक–एक गरेर नम्बरिङ गरेर भत्काउन मिल्थ्यो । तर, भूकम्पले क्षतविक्षत बनाएको थियो । एउटा–एउटा टुक्रा जोडेर पहिलाकै अवस्थामा फर्काउन हामीलाई चार वर्ष लाग्यो । ङातापोलको अवस्था पनि उस्तै थियो । तर, हाम्रै डकर्मी, सिकर्मीले त्यसलाई ठडाए । हाम्रा बाजेहरूले यत्रो संरचना बनाए, हामीले मर्मत गर्न किन नसक्नु भन्दै सम्पदा संरक्षणमा सघाए ।

हाम्रो नगरको मुल बाटोमा इँटा छापिएको थियो । इँटा हरेक चार–पाँच वर्षमा फेरिरहनुपर्ने भयो । पर्यटकीय स्थलमा ढुङ्गा छाप्न मिल्छ÷मिल्दैन भनेर अध्ययन गर्‍यौँ। विज्ञहरूसँग छलफल गर्‍यौँ। मिल्छ भनेपछि पूरै नगरमा ढुङ्गा छाप्यौँ । हाम्रो नगरमा जो आए पनि तपाइँहरूसँग कति पैसा छ ? भनेर सोध्नुहुन्छ। कोरोनाको कारण कति पैसा छ, त्यो त हामीलाई नै थाहा छ । दिनको हजार जना पर्यटक आउने ठाउँ कोरोनाले शून्य भयो । नत्र हाम्रो नगरमा वर्षको ३० करोड पर्यटकबाट आउँथ्यो । तर, आफूसँग पैसा नभए पनि जनता साथमा भएपछि त्योभन्दा ठूलो धन नहुँदो रहेछ । पैसा भएर पनि खर्च गर्न नसकेका नगरका थुप्रै उदाहरण हामीले देखेकै छौँ । नगर विकासको लागि साथमा पैसाभन्दा पनि जनता चाहिँदो रहेछ । 

गर्न चाहेर पनि नसकिएका काम केही छन् ?

भक्तपुरको दरबारक्षेत्रको ऐतिहासिक न्ह्यकं झ्यः दरबार (राष्ट्रिय कला संग्रहालय रहेको भवन र लाल बैठक) टेको लगाएर राखिएको छ । त्यसलाई मल्लकालीन शैलीमै बनाऊँ भनेर हामीले धेरै पटक पुरातत्व विभागसँग आग्रह गर्‍यौँ । उहाँहरूले मान्नु भएन, टेन्डर गरिदिनुभयो । भत्काउन सुरु भइसकेको थियो, पत्राचार गरेर त्यसलाई रोक्यौँ । पछि सम्झौता भएको थियो । तर, विश्व सम्पदा सूचीमा परेकाले युनेस्कोसँग अनुमति लिनुपर्ने कुरा आयो।

युनेस्कोमा पुरातत्व विभाग, संस्कृति मन्त्रालयबाट जानुपर्छ । आफ्नो सम्पना पुनःनिर्माण गर्न अरुको अनुमति किन लिनुपर्यो भनेर हामी पटक–पटक धाइसक्यौँ । तर, प्रक्रिया अगाडि बढेकै छैन । दूधपाटीस्थित भाज्या पुखुः (पोखरी) कस्तो थियो भनेर धेरै सोधखोज गर्‍यौँ । यहाँका संस्कृतविद्हरूसँग कुरा गर्दा पनि केही पत्ता लागेन । अध्ययन गर्दा आठ सय वर्ष पुरानो भन्ने खुल्यो । अनुसन्धान गरेर एउटा नक्सा तयार गर्‍यौँ । त्यही अनुसारले खनेर पुनःनिर्माण गर्न खोज्दा हाम्रो नक्साको ढोका एकातिर भयो । वास्तविक ढोका अर्कैतिर भेटियो । तीन–चार वर्ष त्यसमा काम गर्‍यौँ तर, पूरा गर्न सकेनौँ ।  

काम गर्दै गर्दा संवैधानिक, कानुनी र व्यवहारगत के–कस्ता जटिलता आइपरे ?

कर्मचारीको अधिकारको कुरामा एकदमै समस्या भयो। २० वर्षदेखि स्थायी र पदोन्नति हुन नपाएका धेरै कर्मचारी छन्। भन्न चाहिँ प्रमुख प्रशासकीय अधिकृतबाहेकका कर्मचारी भर्ना, प्रमोसन र सेवा–सुविधा दिने अधिकार नगरपालिकालाई भनेको छ। तर, यहाँ मन्त्रीहरू कानुनभन्दा माथि बसेर निर्देशन दिनुहुन्छ । पत्राचार गर्नुहुन्छ । आर्थिक ऐनले उपभोक्ता समितिबाट काम गराउने अधिकार दिएको छ । तर, केही समयअघि मात्रै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कुनै पनि स्थानीय तहले उपभोक्ता समितिबाट काम नगराउनु भनेर पत्राचार गर्नुभयो । हामी जसरी कानुनभित्र बसेका छौँ, उहाँहरू पनि बस्नुपर्छ । 

हामीले ख्वप बहु–प्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सिक कक्षा सञ्चालन गरिरहेका थियौँ । तर, यो वर्षबाट शिक्षा मन्त्रालयले भर्ना रोक्यो । पूर्वाधार तयार हुँदा पनि सय बेडको स्वीकृति हामीलाई दिइएन । अस्पताल पनि बन्द भयो। मन्त्रीहरू आउँछन्, कति राम्रो काम गर्नुभएको रहेछ भन्छन्, जान्छन् । जुनसुकै पार्टी सरकारको भए पनि त्यो जनताको हो नि ।

निर्वाचित भएपछि सबैजना साझा व्यक्तित्व हो । तर, यहाँ त म मन्त्री भएपछि मेरो निर्वाचन क्षेत्रको विकास गर्नुपर्छ भन्ने छ । देश विकास गर्नुपर्छ भन्ने छैन । ऐन कानुन सबैलाई बराबर हुन्छ । कानुनको आधारमा सबै समान हुनुपर्ने हो । तर, यहाँ पार्टीगत र पूर्वाग्रही आँखाले हेरिन्छ । भक्तपुर नगर र अरु नगरलाई छुट्याएको बजेटलाई नै हेर्ने हो भने धेरै कुरा प्रस्ट हुन्छ । केही समयअघि बागमती प्रदेशमा एक अर्बको स्वास्थ्य सामग्री वितरण भयो । ख्वप अस्पतालले केही पाएन । हामी दिएनन् भनेर चित्त दुखाएर बस्दैनौँ । कानुन बमोजिम दिए लिन्छौँ, तर माग्दैनौँ । आफ्नो नगर आफैँ विकास गछौँ ।

 

हामी दिएनन् भनेर चित्त दुखाएर बस्दैनौँ । कानुन बमोजिम दिए लिन्छौँ, तर माग्दैनौँ । आफ्नो नगर आफैँ विकास गछौँ ।

तपाईंको सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्तो बन्यो ?

हामीले हाम्रो कानुन आफैँ बनाएका छौँ । शैक्षिक ऋण, राहत वितरण, खेलकुद सबै क्षेत्रमा कानुनबिना हामी चल्दैनौँ । भक्तपुर नगरलाई सम्पदा क्षेत्र घोषणा गरेका छौँ । यो क्षेत्रभित्र नगरबासीले मात्रै घर किनबेच गर्न पाउने व्यवस्थाबारे कुरा उठाएका थियौँ । त्यसमा कसैले सर्वोच्च अदालतमा मुद्दा हालिदियो । यो विश्व सम्पदा सूचीमा परेको क्षेत्र हो ।

विश्व सम्पदा सूचीमा परेको सम्पदालाई बचाउनु केही कडा कानुन बनाउनुपर्छ । यो त हामीले होइन सरकारले बनाउनुपर्ने हो । सम्पदा क्षेत्रमा तोकेभन्दा अग्लो र सिमेन्टेड घर बन्न थाले । पैसा तिरेर किनेको जग्गामा मैले जसरी बनाएपछि के मतलब भन्ने कुरा आयो । यसो हुँदा सम्पदा खत्तम हुन्छ भनेर चिन्तन गर्न थाल्यौँ । पुरानो बस्तीलाई जोगाउन हामीले यो उपाय लगाएका हौँ । यो कानुन बनाएपछि सार्वजनिक भयो । सर्वोच्चमा गएपछि समानताको हक विपरीत भनेर अन्तरिम आदेश आयो । अहिलेसम्म फैसला भएको छैन । 

अब आउने नेतृत्वका लागि अनुभवप्राप्त अभिभावकका हिसाबले के सुझाव छ ?

जोसुकै आएपछि जनताबाट निर्वाचित भएर आउने हो । जनतालाई दिएको वचनअनुसार गरियो भने जनताको विश्वास जितिन्छ । विकास हुन्छ । काम गर्न सहज हुन्छ । हाम्रो अनुभवले पनि त्यही देखाउँछ । जनता र जनप्रतिनिधिबीच दूरी बढ्नुहुँदैन । उनीसँग घनिष्ट भएर काम गर्नुपर्छ । उनीहरूको इच्छा आकांक्षा पूरा गर्ने कोसिस गर्नुपर्छ । जनतासँगै छलफल गरेर काम गर्‍यो भने थोरै स्रोत–साधनमा अधिकतम काम गर्न सकिन्छ ।

आफ्नो कार्यकाललाई १० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

भक्तपुरका १० जना जनतालाई सोध्नुहोस् । उनीहरूले दिएको नम्बर नै मेरो नम्बर हो । 


प्रश्न गर्ने मान्छेलाई समाधान पनि खोज भन्‍नु भयंकर ठूलो षड्यन्त्र हो

प्रश्नभन्‍दा जवाफ दिइरहने पत्रकार नायक हैनन्, खलनायक हुन्

806Shares
sharethis sharing button

राजनीतिक-सामाजिक विषयमा लेख लेखिरहेका सञ्जीव पोखरेलको पुस्तक ‘एक अनि शून्य’ हालै सार्वजनिक भएको छ । पुस्तकलाई उनले ‘पाश्चात्य  दर्शनशास्त्रको संक्षिप्त वर्णनयात्रा’ भनेका छन् । परिचय र उपसंहार गरी किताबमा एक दर्जन पाठ छन् । किताब दश दर्शनबारे लेखिए जस्तो देखिए पनि विभिन्न दर्शन आपसमा ठेलमेल भएका छन् । दर्शन जस्तो विषय पनि सजिलो बनाउँदै उनले ‘प्रिय पाठक’ भन्दै कथा हालेका छन् । पाश्चात्य दर्शन मूलतः प्रश्नमुखी दर्शन हो । लेखक पोखरेलसँग प्रश्नबारे प्रश्नैप्रश्न गरिएको छ । इकागजका विमल आचार्य र सृजना खड्काले पोखरेलसँग गरेको प्रश्न-संवाद: 

प्रश्न यो छ कि प्रश्न के हो ? 

रमाइलो प्रश्न । प्रश्नभित्र केही निश्चित तत्व हुन्छन् । ती तत्व उत्सुकता र दृष्टिकोण हुन् । तिनै तत्वले हामीलाई आफू र संसारसँगको आफ्नो सम्बन्ध बुझ्न सघाउँछन् । तर, हामी प्रश्नभन्दा बढी जवाफमा केन्द्रित भइरहेका हुन्छौँ । किनभने, जवाफ दिन एकदमै सजिलो छ । जवाफ भनेको व्याख्या हो । हामी सबैसँग आफ्नो-आफ्नो खाले केही न केही व्याख्या त हुन्छन् । जवाफभन्दा एक कदम बाहिर निस्किएर आलोचनात्मक ढंगले हेर्ने हो भने प्रश्नको निर्माण गर्न सकिन्छ ।

कसरी निर्माण हुन्छ ? 

प्रश्नलाई धेरै जटिल बनाउन पनि आवश्यक छैन । प्रश्न सामान्य नै भए राम्रो । सामान्य प्रश्नहरूको निर्माणले नै हामीलाई वैचारिक रूपमा थप उन्‍नत र प्रस्ट हुन सघाउँछ । हामीले संसारलाई धेरै व्याख्या गर्‍यौँ । अब व्याख्याहरूलाई पनि प्रश्न गर्नुपर्छ । 

बच्चा हुँदा हामी पनि धेरै प्रश्न सोध्छौँ, सोच्छौँ । तर, उमेर बढ्दै जाँदा हामीसँग प्रश्न पनि कमकम हुँदै गए जस्तो लाग्छ, किन यस्तो हुन्छ होला ? 

हाम्रो हुर्काइ, हाम्रो सांस्कृतिक विशेषता र त्योसँग जोडिएको मनोविज्ञानमा प्रश्नभन्दा जवाफको महत्व धेरै भएर हो कि ? अनि धेरै प्रश्नको उत्तर नपाएपछि, अभिभावक-स्कुलले प्रश्न टारिरहेपछि, प्रश्नतिर प्रेरित नगरेपछि सायद हामीलाई प्रश्न गर्नु जरुरी काम रहेनछ भन्ने लाग्दो हो कि ? 

प्रश्नलाई नै प्रश्न गर्न पनि त सकिएला ? 

पानी किन पर्छ ? खाना कस्तो खानुपर्छ ? कस्तो सिनेमा हेर्नुपर्छ ? जस्ता प्रश्नको सबैसँग सरल जवाफ हुन्छ । हामी ती सरल जवाफभित्र पसेर थप प्रश्न गर्दैनौँ । जस्तै : मलाई कुनै साथीले ‘फिल्न हेर्न जाऊँ’ भन्यो भने म ‘जान्नँ’ भन्छु । उसले ‘किन नजाने ?’ भनेर प्रश्न गर्ला । त्यसबेला म ‘त्यो फिल्मको निर्देशक/कलाकार मन पर्दैन’ भन्छु अथवा केही भन्छु । साथी ‘ए ल तिमी नजाने भए म गएँ है त’ भनेर जान्छ । त्यहाँ साथीले अर्को तहको प्रश्न गर्न सक्थ्यो— ‘किन त्यो निर्देशक/कलाकारको सिनेमा मन पर्दैन ?’ प्रश्नहरू किन महत्वपूर्ण हुन्छन् भनेर हामी आत्मसात् गर्दैनौँ । सम्भवतः यो हाम्रो संस्कृति र सामाजिकीकरणको विशेषता हो । प्रश्नको शृङ्खलालाई निरन्तरता दिन हामी बालबालिकालाई सिकाउँदैनौँ । जसरी व्याख्याहरू महत्वपूर्ण हुन्छन्, प्रश्नहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन् भनेर उनीहरूलाई भन्दैनौं । 

कतिपय प्रश्न साँच्चै झर्कोलाग्दा पनि हुन्छन् कि हामीलाई त्यस्‍ताे लाग्छ ? 

हामीलाई कतिपय प्रश्नको निश्चित जवाफ छ जस्तो लाग्छ । त्यसमा थप प्रश्न गरिरहनुपर्छ भन्ने लाग्दैन । कुनै प्रश्न, प्रश्न गर्नैलायक छैन जस्तो लाग्छ । कसैले ‘सुन्तला किन गुलियो हुन्छ ?’ भनेर प्रश्न गर्‍यो भने गुलियो हुन्छ त्यसैले गुलियो हुन्छ भनौँला । तर, हामीले सुन्तला गुलियो हुने आधार के हुन् ? यो फल्ने प्रक्रिया, मौसम आदि आदिमा हामी जाँदैनौँ । सबै जानुपर्छ भनेको होइन तर आफ्ना केटाकेटी, विद्यार्थीलाई रुचि हुनसक्छ नि, प्रेरित गर्दैनौँ । अभिभावक भएपछि, शिक्षक भएपछि हर प्रश्नको उत्तर हुनुपर्छ भन्ने छँदै छैन, तर हर विषयमा प्रश्न चाहिँ हुनुपर्छ । प्रश्न बनाइदिनु पनि पर्दैन ।  

प्रश्न नै सबथोक हो त ?

सबै थोक त केही पनि होइन । तर, मेरो विचारमा प्रश्न धेरै महत्वपूर्ण छन् । 

प्रश्न दुई खाले हुँदा हुन् । शिक्षकले विद्यार्थीलाई सोध्ने अर्थात् आफूले जवाफ लुकाउने र विद्यार्थीले शिक्षकलाई सोध्ने अर्थात् साँच्चै जवाफको चाहना राख्ने । ज्ञान लुकाउने वा ज्ञानको चाहना राख्ने कस्ता प्रश्न ? 

प्रश्न कसरी बनाउने भनेर धेरै सोच्नुपर्छ भन्ने होइन । राम्रो प्रश्न कसरी बनाउने भन्नेमा अल्झियौँ भने बढी सचेत भइन्छ । सबै खाले प्रश्नको जवाफ नभए पनि अर्थ चाहिँ छ । तपाईंको प्रश्नको जवाफ यहाँ भेटिएन वा छैन भन्दैमा ‘कस्तो अर्थहीन प्रश्न’ भन्न मिल्दैन होला । 

कलेज पढ्दा रिसर्च प्रपोजल (शोधप्रस्ताव) लेख्दा सबैभन्दा गाह्रो ‘स्टेटमेन्ट अफ द प्रब्लम’ (समस्या कथन) मा भएको हाम्रो आफ्नै अनुभव छ । प्रश्न सही, स्पष्ट र सूक्ष्म भए मात्र अनुसन्धान राम्रो हुने, तर समस्यै बनाउन नै सबैभन्दा गाह्रो... 

ठीक भन्नुभयो । यो म आफैँले पनि, मेरा विद्यार्थीले पनि फेस गरेको अनुभव हो । हामी प्रश्नमुखी नहुने हुँदा हामीलाई एक्कैचोटि प्रश्न बनाउन गाह्रो लागेको होला । भनिन्छ, सही प्रश्न बनाउन सक्नु शोधको आधाआधी काम पूरा गर्नु हो । यसमा अर्को समस्या पनि छ– धेरैजसो विद्यार्थी 'स्टेटमेन्ट अफ द प्रब्लम' भन्ने शब्दावलीमा रहेको ‘प्रब्लम’ शब्दको अर्थलाई राम्रोसँग बुझ्न खोज्दैनन् । उनीहरू यसलाई समाजको समस्याजस्तो गरेर बुझ्छन् र समाधानका उपायमा आफ्नो ध्यान केन्द्रित गर्छन् । किनकि हामीलाई समाधान वा जवाफ बढी महत्त्वपूर्ण हुन्छन् भनेर सिकाइएको छ । त्यसै हुनाले विद्यार्थीहरूको रुचि पनि जवाफमा छ, प्रश्नहरूमा छैन ।

प्रश्न असान्दर्भिक, अप्रासांगिक कति बेला हुन्छन् ? 

जब प्रश्नहरूले जवाफको ठाउँ लिन थाल्छन् त्यसबेला प्रश्नहरू अप्रासङ्गिक हुन्छन् । जस्तै, हिजोआज मानिसहरू आफ्नो स्वार्थ वा पूर्वाग्रहको संरक्षण गर्न जवाफलाई प्रश्न बनाउने यत्न गरिरहेका छन् ।

यसलाई अलि विस्तारमा हेरौँ । व्यक्ति, समाज र राष्ट्रलाई निर्देश गर्ने केही आधारभूत मूल्य-मान्यता हामीसँग हुन्छन् । ती मूल्य-मान्यता न्याय, अधिकार, समानता, स्वतन्त्रतासँग जोडिएका हुन सक्छन् । आफू, समाज र राष्ट्रलाई बुझ्न प्रश्न गर्नु आवश्यक छ । मनमा कुनै न कुनै खाले प्रश्न हुन्छन् र त हामी कला होस् वा साहित्य वा अन्य पढि-हेरिरहेका हुन्छौँ । तर, हिजोआज मानिसहरू मानिसका लागि चाहिने आधारभूत सामाजिक सर्तहरूलाई निश्चित स्वार्थवश प्रश्न उठाइरहेको देख्छु ।

 

‘वर्तमान राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?’ देखि ‘अन्तिममा केही भन्न चाहनुहुन्छ कि ?’ सम्मका वार्ता समयको सत्यानाश मात्र हो । आलोचनात्मक चेतको विरोध गर्दै प्रश्न गर्नुभन्दा जवाफ दिइरहने पत्रकार नायक हैनन्, खलनायक हुन् ।  

के लोकतन्त्र आवश्यक छ ? के विधिको शासन महत्वपूर्ण छ ? यस्ता प्रश्न सही प्रश्न होइनन् । हिजोआज म एउटा प्रश्नबाट दुःखी छु- लोकतन्त्र, सकारात्मक विभेद देशका लागि राम्रो नै हो त ? मलाई यस्ता खालका प्रश्नमा विश्वास छैन । यी प्रश्न झट्ट हेर्दा प्रश्नजस्ता लागे पनि दृष्टिकोण हुन् । यस्ता दृष्टिकोणले प्रश्नहरूलाई ठाउँ दिँदैनन् । समाजको समग्र मूल्य-मान्यता बलियो बनाउँदैनन् ।

प्रश्न गतिलो भयो भने मात्र जवाफ पनि गतिलो आउँछ होला । हामीले अहिले भोगिरहेको परिस्थितिलाई एकप्रकारले हाम्रा प्रश्नको ‘जवाफ’ मान्ने हो भने प्रश्न त प्रश्नमै पो गर्नुपर्ने देखियो, हैन र ? 

हुन सक्छ, हामीले सही प्रश्न सोधिरहेका छैनौँ । सही प्रश्न समाजमा आउन नसक्नुका विभिन्न कारण होलान् । हामीले जसरी बालबच्चा हुर्काइरहेका छौँ, जस्तो खालको शिक्षा प्रणालीको स्थापना गरिरहेका छौँ, जस्तो संस्कृतिलाई जोड दिइरहेका छौँ, र जस्तो प्रकारको मूल्य-मान्यतालाई प्रश्रय दिइरहेका छौँ, त्यसमा प्रश्नका लागि ठाउँ नै छैन । जवाफका लागि मात्रै प्रशस्त ठाउँ छ । हामी जताततै जवाफै जवाफले घेरिएका छौँ । 

प्रश्नका लागि प्रोत्साहन छैन भन्नुभयो, अनि तपाईं आफैंले सामाजिक सञ्जालमा धेरैलाई ‘ब्लक’ गरेको देखियो, किन त ?

हो, म सामाजिक सञ्जालमा ट्वीटर चलाउँछु, जहाँ लगभग चार-पाँच सय जनालाई ब्लक गरेको छु । म दुईखाले मानिसलाई ब्लक गर्छु । पहिलो, जसको विचार मलाई असाध्यै विषाक्त लाग्छ । दोस्रो, जसले मलाई बोल्नै हुँदैन भनेर व्यक्तिगत तहमै उत्रेर किचकिच गरिरहन्छन्, बहिष्कार गर्नुपर्छ भनेर अभियान चलाउँछन् । ब्लक गरेपछि उनीहरूको विचार मेरो टाइमलाइनमा आउँदैन । यसको अर्थ उनीहरूले मेरो विरोध गर्न पाउन्नन् वा आफ्ना विचार राख्न पाउन्नन् भन्ने होइन– ती विचार नसुन्न मैले आफ्नो स्वतन्त्रताको उपयोग गरेको मात्र हो । त्यो उनीहरूका लागि भन्दा पनि मेरा लागि हो । कतिपय कहिल्यै सम्पर्क, सम्बन्ध र कुराकानी नभएकालाई पनि मैले ब्लक गरेको छु । उनीहरू मलाई ‘अरुको विचार नसुन्ने, ब्लक गर्नेको विचार किन सुन्नु’ भन्छन् । यसो गर्न उनीहरू एकदमै स्वतन्त्र छन् । म पनि आफूलाई मन नपर्ने धेरै लेखक, टिप्पणीकार वा अन्यका कुरा सुन्दिनँ । 

म ट्वीटरमा यस्ता मानिसलाई ब्लक गर्छु, जससँग विचार भएको पाउँदिनँ । जसले दलित, आदिवासी, महिला, अपांगता भएका आदिबारे निकृष्ट ‘विचार’ राख्छन् वा जसले एउटा नेता वा धर्मगुरुको चाकरीमा आफ्नो आत्मसम्मान सुम्पेर अन्टसन्ट कुरा गरिरहन्छन्, उनीहरूलाई मेरो टाइमलाइनमा किन आउन दिनु ? मानिस भएर मानिसका लागि चाहिने आत्मसम्मानविरुद्ध घिसापिटा तर्क गर्ने र कसैको दास बन्न पाए हुन्थ्यो भनेर गनगन गर्नेहरूलाई पनि मेरो टाइमलाइनमा कुनै स्थान छैन । जसरी तपाईं आफ्नो घर-अफिसमा सबै खालको विचारलाई सम्मान गर्ने नाममा कमजोर पारिएकालाई झनै हेप्ने-अपमान गर्ने ‘विचार’लाई प्रवेश दिनुहुन्न त्यसरी नै ‘ब्लक’ सामाजिक सञ्जाल चलाउने म सामान्य नागरिकले गरेको एक हिसाबको ‘दण्ड’ हो । त्यही भएर ट्विटरले ब्लक गर्ने प्रावधानको उपयोग गर्न प्रयोगकर्ताहरूलाई प्रोत्साहित पनि गर्छ ।

पत्रकारिताको काम, कर्तव्य, अधिकार, औचित्य सबै खासमा प्रश्न नै होला । हामीले सोध्ने प्रश्न कस्तो लागिरहेको छ, तपाईंलाई ? 

पत्रकारितामा प्रश्नै नभएको होइन । तर, पत्रकारिताको मुख्य चासोमा भने 'रिभिजिट' गनुपर्ने देखिन्छ । पत्रकारिताले कसलाई कस्ता प्रश्न सोधिरहेको छ, त्यसमा समीक्षा गर्नुपर्छ । हामीले नै स्थापना गरेका संस्थाहरू राज्य, सरकार, राजनीतिक दल आदि नै हाम्रो समस्याको स्रोत हुन् । यी संस्थाले हाम्रो जीवन जटिल बनाइरहेका छन् । यस हिसाबले मिडियाको चासो यस्तै संस्थामा बढी हुने गर्छ । सरकार कहिले बन्ने/कहिले ढल्ने ? को नेताले के भने ? आदि इत्यादि ।

 

रामदेव कसरी क्रान्तिकारी भए भनेर माओवादीलाई ​सोध्थेँ । 

हाम्रा प्रश्न तिनै संस्थामा मात्र केन्द्रित हुन्छन् जसले जवाफ मात्र दिन्छन् । जसले आफैँलाई कहिल्यै प्रश्न गर्दैनन् । सरकार, राजनीतिक दलले आफैँलाई कहिल्यै पनि प्रश्न गर्दैनन् । उनीहरू जवाफ मात्रै फर्काउँछन् । आफू सही छु भनेर पुष्टि गर्ने मात्रै प्रयत्न गर्छन् । हामीले प्रश्न सही ठाउँमा केन्द्रित नगरेको हो कि जस्तो लाग्छ । तर, केही पक्षमा नेपालको पत्रकारिता दक्षिण एसियाका थुप्रै देशको भन्दा पृथक् र सन्तोषजनक छ । नेपाली पत्रकारिताले धेरै हदसम्म शक्ति र सत्तालाई प्रश्न गर्ने गरेको छ । जसलाई बचाएर राख्नुपर्नेे, अझै बढाउनुपर्ने छ जस्तो लाग्छ ।

प्रश्नपछि जवाफ । जवाफपछि हामी शान्त । प्रतिप्रश्न चाहिन्छ ?
 
हामी प्रतिप्रश्नमा चुकिरहेका पनि छौँ । प्रतिप्रश्न गर्न अध्ययन, अवलोकन, तयारी राम्रो चाहिन्छ । ‘वर्तमान राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?’ देखि ‘अन्तिममा केही भन्न चाहनुहुन्छ कि ?’ सम्मका वार्ता समयको सत्यानाश मात्र हो । हाम्रोमा यस्तो पनि देखिन्छ, आलोचनात्मक चेतको विरोध गर्दै आफू चाहिँ पुरानै टेप बजाइरहने, प्रश्न गर्नुभन्दा जवाफ दिइरहने, यस्ताले आफूलाई पत्रकारिताको नायक दाबी गर्छन् । तर तिनीहरू नायक हैनन्, खलनायक हुन् ।  

मिडियासँगै विचार पनि जोडिएर आउँछ । पत्रपत्रिकामा आउने विचार-टिप्पणीमा कति प्रश्न पाउनुहुन्छ ? अनि तिनले समसामयिक सवाललाई, नागरिकका दुःखलाई कति उठाएका छन् ? 

विचारका रुपमा आउने टीका-टिप्पणी निश्चित व्याख्यालाई स्थापित गर्ने उद्देश्यसँग केन्द्रित छन् । लेखक र विश्लेषकको काम स्थापित विचारलाई बुझ्न प्रश्न निर्माण गर्ने हो । तर, विचार निर्माण र प्रवाह गर्ने पद्धतिमा केही समस्या छ, जसले प्रश्नलाई ठाउँ दिँदैन । यसमा अरुलाई मात्र दोष दिन्नँ । त्यो कमजोरी ममा पनि छ । नेपाली कांग्रेसको महाधिवेशनको छेको पारेर मैले ‘नेपाली कांग्रेसलाई पाँच प्रश्न’ भनेर एउटा लेख लेखेको थिएँ । नेपालको संविधानको मूल र पेचिला विषयमा कांग्रेसको भूमिका के हो भनेर सोधेको थिएँ । त्यो मैले प्रश्न निर्माण गर्नु महत्वपूर्ण काम हो भन्ने सचेतनाले गरेको थिइनँ । लेख्दै जाँदा त्यो संरचना ठीक लाग्यो, त्यसरी नै लेखेँ । अरु लेखमा मैले पनि प्रश्नलाई ठाउँ दिएको छैन । त्यो हामी सबैको कमजोरी हो । विचारको पद्धति निश्चित ढंगले अगाडि बढिरहेको छ । हामी आफ्नै ढंगले व्याख्या र विश्लेषण प्रस्तुत गरिरहेका छौँ । त्यसमा ताजापन र विविधता ल्याउन जरुरी छ ।

यसले प्रश्न मात्र गर्‍याे, गुनासो मात्र गर्‍याे, जवाफ पनि दिएन, विकल्प पनि दिएन भनेर लेखकप्रति धेरैले प्रश्न उठाउँछन् । नोट लेखाउने टिचर खोजेजस्तो हामी किन बनिबनाउ जवाफ दिने लेखक खोजिरहेका हुन्छौँ त ? 

समाधानमुखी चिन्तनले हामीलाई कतै लैजाँदैन । हामीसँग प्रश्नमुखी चिन्तन हुनुपर्छ । एउटा मानिससँग समाज र राष्ट्रलाई कस्तो बनाउने भन्ने विचार हुन्छ । तर, त्यो मानिसले दिएको विचारले समाज र राष्ट्र राम्रो हुन्छ भन्ने होइन । खगेन्द्र संग्रौला समाज र राज्यको चरित्रबारे कुरा गर्नुहुन्छ । उहाँको लेखमार्फत दिने समाधानले यी कुरा निश्चित हुने होइनन् । प्रश्न गर्ने र समाधान खोज्ने पक्ष फरक–फरक हुनुपर्छ । आफैँले प्रश्न गर्ने, आफैँले जवाफ दिने भयो भने त्यहाँ निश्चित आग्रह लुकेको हुन्छ ।

 

एनजीओले कुनै देशबाट पैसा लिएर मानिसलाई धर्म परिवर्तन गराउँछु भन्दै हिँड्यो भने त्यसलाई तुरुन्तै अवैधानिक घोषणा गरेर उसका काम-कारबाही बन्द गर्नुपर्छ र कानुनअनुसार कारबाही गर्नुपर्छ ।

त्यहाँ जवाफदेहिताको कुरा आउँछ । प्रश्न गर्ने मान्छेलाई समाधान पनि खोज भन्नु भयंकर ठूलो षड्यन्त्र हो । यसो हुँदा मानिसले प्रश्नै गर्न पाउँदैन । प्रश्न गर्नेसँग समाधान नहुन सक्छ । उदाहरणका लागि, कोही सार्वजनिक बस चढ्छ । तर, उसको ठाउँमा सार्वजनिक बस नियमित आउँदैन भने उसले ‘किन नियमित आउँदैन ?’ भनेर प्रश्न गर्छ । बसलाई कसरी नियमित गराउने भनेर जवाफ ऊसँग हुनुपर्छ भन्ने छैन । त्यसैले समस्याको मात्रै कुरा गर्ने, समाधानको कुरा नगर्ने भन्नु प्रश्न रोक्ने षड्यन्त्र हो । 

खगेन्द्र संग्रौलाको प्रसंग आइहाल्यो । ‘किन प्रश्न मात्र ?’ भन्ने प्रश्नमा उहाँले जवाफ दिनुभएको पनि छ । उहाँ भन्नुहुन्छ— जवाफ दिने भनेरै त यत्रा सिंहदरबारहरू छन्, योजना आयोगहरू छन्, शासक-प्रशासकहरू छन्, तिनको काम हाम्रा प्रश्न सुन्नु होइन ? अनि जवाफ पनि मै निम्छरो चाबेलको चाउरेले दिनु !

हो नि, जवाफ नभएको त होइन । जवाफ दिन मन नलागेको त होइन । जवाफ दिँदै लेख्न स्वाद पनि आउँछ । तर, मैले ‘नेपाली कांग्रेसलाई पाँच प्रश्न’ भनेर लेखेँ । अब जवाफ दिने काम उनीहरूको हो नि ! यस्ता यस्ता प्रश्न छन् है, यी हाम्रा पनि प्रश्न हुन् भनेर सम्झिने-सोध्ने जिम्मेवारी नै हामी आम नागरिकदेखि पार्टीका नेता-कार्यकर्ताको हो ।

पत्रकार हुँ भन्छस्, यत्ति पनि थाहा छैन भनेर एमसीसीदेखि बीआरआईसम्मका पृथ्वीनारायणदेखि अन्तरिक्षसम्मका प्रश्न परिवार–साथीसँगीबाट आउँछ । कुनै विषयमा पीएचडी गर्नेबित्तिकै त्यो सर्वज्ञ भइजान्छ यहाँ । कसलाई कुन प्रश्न ​सोध्ने भन्नेमै हामी आफैँलाई प्रश्न सोच्दैनौँ । सबै प्रश्न अनिवार्य छन् जसरी प्रश्न पनि अन्टसन्ट, जवाफ पनि अन्टसन्ट आइराखेको हुन्छ, यसको साइड इफेक्ट छ ? 

यो खासै नराम्रो त होइन । चेतनाको स्तर बढ्दै जाँदा पत्रकारिता पनि सुध्रेला । समग्रतामा प्रश्नसँग हामीलाई त्यति सरोकार छैन, जति सरोकार जवाफमा छ । जवाफको सत्यापनमा पनि छैन । जवाफपछि प्रश्नचिह्न हुनुपर्ने हो, पूर्णविराम हुन्छ । पूर्णविरामले जिज्ञासा, सृजना, समालोचना, समाज सबै मार्छ । हामी कुनै अवस्था वा घटनाको विभिन्न आयाम हुन्छन् भन्नेमा विश्वास गर्दैनौँ । हामी कुनै परिणामको निश्चित कारण हुन्छ भन्नेमा विश्वास गर्छौँ ।

 

म को हुँ ? भन्ने प्रश्नका निश्चित सजिला अर्थ छन् । पुरुष हुँ । बुवा हुँ । छोरा हुँ । कथित उच्च जातको हुँ । हिन्दु हुँ । पहाडको हुँ । तर, हामी अझै बढी उपयोगी र उन्नत अर्थहरूमा पुग्ने प्रक्रिया भनेको ‘त्यो म कसरी हुँ ?’ भनेर खोज्नु हो । पुरुष हुँ भन्ने लाग्छ भने त्यो हुनुको अर्थ के हो ?

जवाफ थाहा नहुँदा हामीलाई लाज लाग्छ । म लामो समयदेखि बसिरहेको पाकिस्तानमा धेरैले आफूलाई थाहा नभएको कुरा ‘थाहा छैन’ भन्दैनन्– एउटा कुनै उत्तर दिन्छन् । किनभने, त्यहाँ थाहा छैन भन्नु नराम्रो हो भन्ने संस्कृति रहेछ । हामीले के कुरामा विचार गर्नुपर्छ भने ‘थाहा छ’ भन्नेले त्यसको परिणाम बेहोर्नु पर्दैन । यसमा हामी आफैँ सतर्क हुनुपर्छ । हामीकहाँ एकखाले मानिस जानीजानी गलत प्रश्नले स्थान पाऊन् भनेर प्रयास गरिरहेका हुन्छन् । यो दुखद् अवस्था हो । 

प्रश्नहरूलाई प्रतिबन्ध गर्दा त्यसले निम्त्याउने परिणाम कस्तो हुन्छ ?

यसका दुइटा परिणाम हुन सक्छन् । एउटा ‘साइलेन्ट’, अर्को ‘भायलेन्ट’ । साइलेन्ट हुँदा मानिसले प्रश्न गर्न पाउँदैन । प्रश्न नगर्दा जवाफ पाउँदैन । जवाफ नपाउँदा मानिस दुःखी र विक्षिप्त हुन्छ । म जस्तो अवस्थामा छु, म त्यही हुँ भन्न थाल्छ । मनमनै प्रश्न गर्नुहुन्न भन्ने सोचेर ऊ चुप लाग्छ । प्रश्नबाट वञ्चित हुँदा उसले जिम्मेवार र सम्मानजनक जीवन बाँच्न पाउँदैन । त्यस्तै, भायलेन्ट हुँदा परिणाम के हुन्छ भने उसले ती प्रश्नलाई हतियारमार्फत, हिंसामार्फत अभिव्यक्त गर्छ । उसले प्रश्न गर्न खोज्छ, प्रश्न गर्न पाएन भने हतियार त उठाउँछ । नेपालका युद्ध जसले नेतृत्व गरे उनीहरू युद्धप्रति इमानदार थिएनन् । तर, जो युद्धमा सामेल थिए उनीहरू प्रश्न गर्न नपाउने मानिस हुन् । उनीहरूका प्रश्नलाई सही स्थान नदिनाले ती प्रश्न हतियारमा परिणत भएका हुन् । 

जेमा पनि शंका गर्नु, प्रश्न गर्नु मानसिक रोग हो पनि भनिन्छ । कुन तहसम्म प्रश्नवादी वा संशयवादी हुँदा मानसिक रोगी भइन्न त ?

प्रश्नहरू कहाँनेर उपयुक्त हुन्छन् भन्नेमा हाम्रा आफ्नै चिन्तन, बुझाइ, दृष्टिकोण छन् । त्यसैलाई कोष्ठभित्र राखेर हामीले प्रश्न निर्माण गर्छौं । जसको असाध्यै ठूलो उपयोगिता छ । म को हुँ ? भन्ने प्रश्नका निश्चित सजिला अर्थ छन् । पुरुष हुँ । बुवा हुँ । छोरा हुँ । कथित उच्च जातको हुँ । हिन्दु हुँ । पहाडको हुँ । तर, हामी अझै बढी उपयोगी र उन्नत अर्थहरूमा पुग्ने प्रक्रिया भनेको ‘त्यो म कसरी हुँ ?’ भनेर खोज्नु हो । पुरुष हुँ भन्ने लाग्छ भने त्यो हुनुको अर्थ के हो ? मैले पाउने विशेषाधिकार के हो ? त्यो हुनुको अर्थ र जिम्मेवारी के हो ? भनेर प्रश्न गर्नु हो । आफ्नो भूमिका प्रभावकारी बनाउन आफूले आफैँलाई प्रश्न गर्नुपर्छ । यसले हाम्रो दैनिक जीवनलाई सहज बनाइदिन्छ । प्रश्न गर्ने भनेर सबै कुरामा प्रश्न गर्नुपर्छ भन्ने छैन । तर, प्रश्नले हाम्रो जीवन र सोचाइलाई उन्नत चाहिँ अवश्य बनाउँछ । 

अब अलिकति रमाइलो खेलौँ । यदि तपाईं पत्रकारको भूमिकामा हुनुभयो भने यो सरकारलाई सोध्नुपर्ने एउटा प्रश्न के हुन सक्ला ? 

म यदि प्रधानमन्त्रीलाई भेट्ने पत्रकार हुन्थेँ भने एउटा प्रश्न सोध्थेँ- तपाईंले प्रधानमन्त्रीका रूपमा गर्न नसक्ने काम के हो ? हामी जहिल्यै के गर्नुहुन्छ भनेर मात्र सोध्छौँ । अनि जवाफ दिनेले म सबथोक गर्छु भनेर गर्वसाथ भनिरहेको हुन्छ । आफ्नो सीमितताबारे उसलाई हेक्का हुँदैन ।

हुन त सरकारको नेतृत्व कांग्रेसकै हो, तर पनि नेपाली कांग्रेसलाई चाहिँ के प्रश्न गर्न चाहनुहुन्छ ?

एउटा नेपाली नागरिक कांग्रेस हुनुको अर्थ के हो ? अथवा कांग्रेसलाई भोट दिनुको अर्थ के हो ? भनेर सोध्थेँ । कांग्रेसलाई यो पनि सोध्थेँ— २०७२ सालको संविधानमा हुनुपर्ने तर नभएको कुरा के हो ? 

अनि एमालेलाई नि ?

तपाईंहरूले देखेको नेपाली समाजभित्रको अन्तर्विरोध के हो ? भनेर सोध्थेँ । किनभने, उनीहरूले सबै ठीक छ, मिलेको छ भनिरहेका छन् । उनीहरूले हाल कुनै अन्तर्विरोध देखेका छैनन् । अन्तर्विरोधबारे उनीहरूको विचार जान्न पाए मज्जा हुन्थ्यो । 

माओवादीलाई ?

रामदेव कसरी क्रान्तिकारी भए ? भनेर सोध्थेँ । 

अनि नागरिक समाजलाई अर्थात् हामी सबैलाई ?

हामीले परिकल्पना गरेको नेपाली समाजको तस्बिर कस्तो हो ? 

त्यस्तै, हामी मिडियालाई सोध्न मन लागेको प्रश्न ?

नेपाली समाजको संरचना र मिडियाको संरचनाबीचको अन्तर्विरोध के हो ? भनेर सोध्थेँ । मिडियाको संरचनाले समाजको संरचनालाई प्रतिनिधित्व गरेको देखिँदैन । नेपाली मिडिया अलि बढी पुरुषवादी, कथित उच्च जातको आवाजलाई प्रवद्र्धन गर्ने खालको छ । त्यसभित्र सीमान्तीकृतको भौतिक मात्रै नभएर वैचारिक प्रतिनिधित्व कसरी बनाउने ? मिडियाले नेपाली समाजको तस्बिरलाई कसरी प्रतिविम्बित गर्ने ? मिडियालाई म यिनै प्रश्न गर्छु ।

तपाईं आफू आबद्ध गैरसरकारी संस्थाको अभियानलाई गर्नुपर्ने प्रश्न के छन् ? 

गैरसरकारी संस्था विश्वव्यापी सन्दर्भमा सिर्जना भएका अस्थायी संयन्त्र हुन् । एउटा देशको समुन्नति र समृद्धिका लागि यिनीहरूको योगदान सीमित नै हुन्छ । विकास गरिदिने नाममा स्थापना हुने संस्थाले विद्यमान शक्ति संरचनालाई टिकाइराख्छन् जसबाट रूपान्तरणको विषय ओझेलमा पर्न जान्छ । यिनले शक्तिसम्पन्न देशका प्रभावलाई बचाइराख्ने काम पनि गर्छन् ।

तसर्थ, अन्तर्राष्ट्रिय संस्थाको सहयोग अल्पकालका लागि कामचलाउ संयन्त्र मात्रै हो, दीर्घकालमा यिनको अन्त्य हुनु आवश्यक छ । गैरसरकारी संस्थाले प्रवद्र्धन गर्ने न्याय, समानता, समावेशिता, मानवअधिकार, वातावरण संरक्षण, सेवा प्रवाह आदिमा राज्यले स्वामित्व र अग्रसरता लिँदै जानुपर्छ । देशले आफ्नो सार्वभौमिकता र सक्षमतालाई वृद्धि गरेर विकासे सहयोगलाई पूर्ण रूपमा आफ्नो प्राथमिकताअन्तर्गत राख्नुपर्छ । आफ्नो प्राथमिकतामा नपर्ने बाह्य सहयोगलाई बन्द गर्नुपर्छ । समग्रमा, कुनै विदेशी राष्ट्रले नेपाललाई राम्रो बनाइदिने होइनन् । नेपालले आफैँ राम्रो बन्ने प्रयत्न गर्नुपर्छ ।

 

लेख्ने मेरो पेसा होइन । मेरो रुचि लेख्नमा भन्दा खाना पकाउनमा बढी छ । त्यसका बाबजुद पनि म किन लेखिरहेको छु ? लेखनसँग जोडिएको मेरो स्वार्थ के हो ?

मेरो विचारमा यो कुरा नेपाललाई अल्पकालका लागि विकास सहायता दिइरहेका दातृसंस्था वा विदेशी राष्ट्रले पनि बुझ्न आवश्यक छ र सम्भवतः उनीहरूले बुझिरहेका पनि छन् । यसको अर्को पाटो पनि छ, विकासे सहयोगलाई चर्को आलोचना गरिरहनेहरूको विचार राष्ट्र दह्रो र समुन्नत होस्, सन्तुलित र न्यायपूर्ण होस् भन्ने होइन । विकासे संस्थाले अन्याय, असमानता आदिका मुद्दालाई सहयोग गरेका छन् जसको कारण यी मुद्दा नरुचाउनेहरू अन्तर्राष्ट्रिय सहयोगप्रति असन्तुष्ट छन् । यिनलाई धपाउन पाए ती मुद्दाको पनि अवसान हुन्थ्यो भन्ने हिसाबले पनि उनीहरूले विरोध गरेका हुन् । धार्मिक अतिवादी र राजावादीहरूले विकासे संस्थाको विरोध गरेर नागरिकको स्थानलाई जुन तरिकाले खुम्च्याउने प्रयत्न गरेका छन्, त्यसबारे भने सचेत हुनु जरुरी छ ।

एउटा समाज वा राष्ट्रका लागि खुलापन अनिवार्य सर्त हो । नागरिक आवाजको अभिव्यक्तिका लागि यथेष्ट ठाउँ चाहिन्छ । हिजोआज नागरिक आवाज नरुचाउनेहरूले पनि यसलाई विदेशी सहयोगका रूपमा व्याख्या गरेर नागरिक अभियानलाई निलम्बन गर्न प्रयास गरिरहेका छन् । यो प्रवृत्तिलाई पनि ध्यान दिनु जरुरी छ । 

हाम्रा विश्वविद्यालय, थिंक ट्यांक, प्राज्ञ र बौद्धिकहरूलाई पनि तपाईंका केही प्रश्न छन् कि ?  

विश्वविद्यालय, प्राज्ञ र नागरिक समाजलाई कोबाट सञ्चालित छन् भनेर प्रश्न गर्नु हुँदैन । हामीले उनीहरूलाई उनीहरूले दिएको योगदान, उनीहरूको कामबारे प्रश्न गर्ने हो । उनीहरूले उठाएका प्रश्नबारे प्रश्न गर्ने हो । एनजीओले कुनै देशबाट पैसा लिएर मानिसलाई धर्म परिवर्तन गराउँछु भन्दै हिँड्यो भने त्यसलाई तुरुन्तै अवैधानिक घोषणा गरेर उसका काम-कारबाही बन्द गर्नुपर्छ र कानुनअनुसार कारबाही गर्नुपर्छ । तर, यदि कुनै विदेशी संस्थाले पैसा दिएर महिला अधिकार सुरक्षित गर्नुपर्‍यो, दलितहरूको सबलीकरण गर्नुपर्‍याे, आरक्षणलाई प्रभावकारी बनाउनुपर्‍यो, स्थानीय सरकारलाई क्षमताशील बनाउनुपर्‍यो, निर्वाचनलाई पारदर्शी बनाउनुपर्‍यो भन्छ भने त्यो हामीले नै बोक्नुपर्ने मूल्य-मान्यता हो । त्यसमा के गल्ती भयो र ? उनीहरूलाई कहाँबाट पैसा लिएर परिचालित छन् भन्नुभन्दा पनि उनीहरूले कस्ता प्रश्न उठाइरहेका छन्, त्यो महत्वपूर्ण हो । हामी केवल कोबाट सञ्चालित छन् भन्ने प्रश्नबाट मात्रै निर्देशित हुन थाल्यौँ भने संकीर्ण र अनुदार अवस्थामा पुग्छौँ । हामीले यस्तो संसारको परिकल्पना गर्नुपर्छ जहाँ कोही जुन देशबाट जस्तो खालको स्वार्थले पनि काम गर्न स्वतन्त्र हुन्छ । किनभने, सबै स्वार्थ गलत हुँदैनन् ।

सबैलाई सोधियो, तपाईं आफैँले आफैँलाई सोध्नुपर्ने प्रश्न के छ ?

म के हुँ ? मलाई चिन्नेमध्ये धेरैले लेखकका रूपमा चिन्छन् । म किन लेख्छु ? अथवा म किन बोल्छु ? यी मेरा आफ्नै लागि महत्वपूर्ण प्रश्न हुन् । किनभने, लेख्नु मेरो ‘प्रोफेसन’ र ‘प्यासन’सँग जोडिएको कुरा होइन । लेख्ने मेरो पेसा होइन । मेरो रुचि लेख्नमा भन्दा खाना पकाउनमा बढी छ । त्यसका बाबजुद पनि म किन लेखिरहेको छु ? लेखनसँग जोडिएको मेरो स्वार्थ के हो ? यही नै मलाई मेरो प्रश्न हो ।  


खानपान र वातावरण यस्तै भइरहे क्यान्सर बढेको बढ्यै हुन्छ

परिवारका एक जनालाई क्यान्सर लाग्‍नु पूरै परिवारलाई क्यान्सर लाग्‍नु हो

सृजना खड्का |
माघ २२, २०७७ १६:१८ बजे


आज विश्‍व क्यान्सर दिवस । फेब्रुअरी ४ का दिन विश्‍व भर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्‍न जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइन्छ । यो वर्ष ‘आई एम एन्ड आइ विल’ अर्थात्  ‘म सक्छु र म गर्छु’ भन्‍ने नारासहित क्यान्सर दिवस मनाइदैछ । यसै सन्दर्भमा नेपाल क्यान्सर केयर फाउन्डेसनकी महासचिव वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेसँग इकागजकी सृजना खड्काको संवाद :-

विश्‍व क्यान्सर दिवस किन मनाउने गरिन्छ ?




विश्‍व भरि क्यान्सरको विषयमा जनचेतना जगाउन क्यान्सर दिवस मनाइन्छ । त्यस्तै, क्यान्सरको बारेमा व्यक्तिलाई मात्र नभएर सरकारलाई समेत झकझकाउननिम्ति यो दिवस मनाउने गरिन्छ । धेरैले ३६५ दिनमा एक दिन यस्तो दिवस मनाएर के हुन्छ भनी प्रश्‍न पनि गर्छन् । क्यान्सर दिवस ३६४ दिन गरेको कामको मूल्याङ्कन गर्ने दिन हो । 

यो दिवस सरकारलाई झक्झकाउन पनि हो, भन्‍नुभयो । क्यान्सरको सन्दर्भमा नेपाल सरकार कत्तिको झक्झकिएको छ त ?

क्यान्सरको बारेमा अहिले धेरैलाई थाहा भइसकेको छ । ग्रामीण भेगमा मानिसहरूलाई पनि यसको बारेमा जानकारी छ । तर, यसबाट बच्न सकिन्छ । यसको उपचार पनि सम्भव छ भनेर धेरैलाई थाहा छैन । १० वर्षको तथ्यांकलाई पल्टाएर हेर्ने हो भने सरकारले क्यान्सरसम्बन्धी धेरै कार्यक्रम ल्याएको छ । उपचारमा सहुलियतका कुरा आएका छन् । पछिल्लो समयमा सरकारी तवरबाट खोलिएका अस्पतालको पनि स्तरोन्नति भएको पाइन्छ । तर, क्यान्सरजस्तो खर्चिलो र उपचारमा लामो समय लाग्ने रोगमा जति धेरै काम गरे पनि कम नै हुन्छ । त्यसैले, सरकारले उपचारमा भन्दा पनि अब क्यान्सर हुन नदिनको लागि के गर्न सकिन्छ भन्‍ने कुरामा जोड दिनुपर्छ । 

सामान्य भाषामा बुझ्‍न खोज्दा क्यान्सर के हो ?

शरीरको कुनै पनि अंगमा चहिनेभन्दा बढी मासु पलायो भने त्यसलाई हामी क्यान्सर भन्छौँ । तर, त्यो मासु एकठाउँबाट अर्को ठाउँमा फैलिने खालको हुनुपर्छ । नङ र कपालबाहेक क्यान्सर शरीरको जुनसुकै भागमा लाग्छ सक्छ । क्यान्सर जो कोहीलाई पनि हुन सक्छ । 

नेपालमा यसको अवस्था कस्तो छ ? 

अस्पतालहरूको मात्रै तथ्यांक हेर्ने हो भने वर्षमा २० हजार क्यान्सरका बिरामी थपिएको देखिएको छ । वर्षैपिच्छे क्यासरका बिरामी बाढेका बढ्यै छन् । त्यसमा सबैभन्दा बढी फोक्सोका क्यान्सरका बिरामी छन् । त्यसपछि महिलाहरूमा हुने पाठेघरको क्यान्सरका बिरामी पनि धेरै छन् । 

धेरैजसो मानिस क्यान्सर फैलिसकेपछि मात्रै अस्पताल पुग्‍ने गरेको पाइन्छ, यसको कारण के हो ?

क्यान्सर हुँदा दुख्ने पोल्ने हुँदैन । हाम्रोमा दुख्ने, पोल्ने भएपछि मात्रै अस्पताल जाने चलन छ । अरु रोग लाग्दा लक्षण देखिन्छ । कसैलाई ज्वरो आउँछ, कसैलाई रोग लागेको ठाउँमा पीडा हुन्छ । तर, क्यान्सरको हकमा त्यसो हुँदैन । मासु पलाउँदै जान्छ । तर, आफूलाई थाहा हुँदैन । त्यस्तै, थाहा भए पनि धेरैजना डाक्टरकहाँ जान हिँचकिचाउँछन् । यो गल्ती कदापि गर्नुहुँदैन । कोठीमा परिवर्तन आउनु, लगातार खोकी लाग्नु, स्वर लगातार परिवर्तन हुनु, शरीरमा गाठागुठी बढ्नु, दिसापिसाबको बानीमा परिवर्तन आउनुु, चाँडै महिनावारी हुन थाल्नु जस्ता लक्षण देखिनेबित्तिकै स्वास्थ्य संस्थामा जचाउन गइहाल्नुपर्छ । तर, क्यान्सरका रोगीमध्ये ७० प्रतिशत रोग फैलिसकेपछि मात्रै अस्पताला आउँछन् । 

क्यान्सर नलागोस् भन्‍नेलाई तपाईंको सल्लाह के हुन्छ ?

सन् २०१९ देखि २०२१ सम्मको विश्‍व क्यान्सर दिवसको नारा ‘आई एम एन्ड आइ विल’ भन्‍ने छ । यो नाराले मुख्यतया क्यान्सर रोकथाममा जोड दिन्छ । आफू र आफ्नो समाजको लागि के गर्न सकिन्छ भनेर सबैलाई झकझकाउँछ । सुरुको स्टेजमा उपचार गरायो भने सामान्य जाँचले काम गर्छ । जुन अंगमा क्यान्सर भएको हो, त्यसको मात्र जाँच गरे पुग्छ । त्यसका लागि अपरेसन, रेडियोथेरापी र किमोथेरापी जस्ता महँगा उपचार पद्धति अपनाउनु पर्दैन । त्यस्तैले बेलाबेलामा जाँच गराइरहनुपर्छ । जीवनशैली, खानपान र व्यायममा पनि हामीले उत्तिकै ध्यान दिनुपर्छ । 

हाम्रो जीवनशैली, वातावरण र खानपान क्यान्सरसँग कसरी जोडिएको छ ? 

वातावरण, जीवनशैली र खानपान क्यान्सरसँग प्रत्यक्ष जोडिएको छ । क्यान्सरलाई धूमपान र मद्यपानले धेरै असर गरिरहेको हुन्छ । सुर्ती चुरोट सेवन गर्नेलाई फोक्सो मात्रै नभएर शरीरको जुनसुकै अंगको क्यान्सर हुन हुन्छ । त्यस्तै, मद्यपानले कलेजोको क्यान्सर गराउँछ । ढुसी आएका खानेकुराले पनि क्यान्सरलाई बल पु¥याइरहेको हुन्छ । ‘बार्बिक्यू’ भनेर आजभोलि पोलेको मासु खाने चलन एकदमै बढ्दै गइरहेको छ । त्यो पनि क्यान्सरको लागि राम्रो मानिदैन । चिल्लो, बोसो भएका खानेकुराभन्दा सागसब्जी, फलफुल र गेडागुडीमा बढी जोड दिनुपर्छ । त्यस्तै शारीरिक व्यायमले पनि क्यान्सर हुन सक्ने संभावना घटाउँछ । हामी जति फुर्तिलो हुन्छौँ, त्यति हाम्रो स्वास्थ्य पनि फुर्तिलो हुन्छ । 

पछिल्लो समय कोभिड-१९ ले गर्दा क्यान्सरलाई कत्तिको असर गरेको छ ?

कोभिडले गर्दा बिरामी अस्पतालसम्म जान सकेनन् । कोभिड लाग्ने डरले धेरै बिरामी अस्पताल जान डराए । उपचारमा जानेलाई पीसीआरको बोझ थपियो । पीसीआरको बोझले आर्थिक भार बढाइदियो । क्यान्सरको उपचार उसै पनि खर्चिलो छ । यसको उपचार पद्धति अपरेसन, रेडियोथेरापी र किमोथेरापीको माध्यमबाट हुन सक्छ । यी तीनै उपचार पद्धति सस्ता छैनन् । आज उपचार गरेर भोलिदेखि पूर्ण रूपले निको हुनुभयो भनेर भन्न सकिदैन । फेरि बल्झिन सक्छ । जति नै सफल उपचार भए पनि हामीले बिरामीलाई ‘ढुक्क भएर जानुस्’ भन्न सक्दैनौँ । बेलाबेलामा जचाउन आइरहनुपर्छ । एकचोटि रेडियोथेरापी गर्दा एक महिना छुट्याउनुपर्छ । पैसाको खर्चसँगै समयको खर्च पनि त्यति नै हुन्छ । 

विश्‍व क्यान्सर दिवस मनाइरहँदा क्यान्सरको हकमा विश्‍वबाट हामीले सिक्न सक्ने कुरा के-के हुन् ?

‘प्रिभेन्सन इज बेटर देन क्योर’ भन्‍ने वाक्यलाई विश्‍व ले जस्तै हामीले पनि आत्मसात् गर्नुपर्छ । विदेशबाट हामीले सिक्ने कुरा यही हो । क्यान्सरको रोगमा उपचारमा मात्रै जोड दिएर कहिल्यै उभो लागिदैन । यसमा उभो लाग्‍नको लागि रोकथाममा काम गर्नुपर्छ । क्यान्सर कतिपय अवस्थामा वंशाणुगत भएकाले यो पूर्ण रूपमा निर्मुल हुँदैन । विकसित देशहरूले धेरै खर्च गरेर त निर्मूल गर्न सकेका छैनन् । तर, क्यान्सर लागिहाले पनि निको हुने संभावना भने हुन्छ । एक जनालाई क्यान्सर लाग्‍नु पूरै परिवारलाई  क्यान्सर लाग्‍नुसरह हो । यसले परिवारका हरेक सदस्यलाई शारीरिक मानसिक र आर्थिक रूपले असर गरिरहेको हुन्छ, पीडा दिइरहेको हुन्छ । 


गर्भधारण गर्नलाई यो उपयुक्त समय होइन

सृजना खड्का |

जेठ ११, २०७८ १३:१२ बजे

247Shares
sharethis sharing button

कोभिड-१९ को संक्रमणबाट बच्‍न यति बेला हामी घरभित्रै छौँ । त्यस्तै, घरभित्र छन्, गर्भवती, सुत्केरी र नवजात शिशु पनि । जो यो समयमा अत्यन्तै जोखिम वर्गमा पर्दछन् । चिकित्सकहरूका अनुसार अरुको तुलनामा उनीहरूलाई कोभिड संक्रमण हुँदा गाह्रो बनाउँछ, क्षति पुर्‍याउन सक्छ । यसै सन्दर्भमा ‘कोभिड र गर्भधारण’, ‘कोभिड र नवजात शिशु’, ‘कोभिड र स्तनपान’, ‘कोभिड, गर्भवती महिला र भ्याक्सिन’ आदि विषयमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालसँग इकागजकी सृजना खड्काले गरेको कुराकानी :

कोभिडको यो महामारीमा ‘बेबी प्लान’ गर्नुहुन्छ कि हुँदैन ? यो जिज्ञासा अहिले धेरैमा छ ।
सबैभन्दा पहिला त हामीले के बुझ्नुपर्छ भने, कोभिड सबैलाई लाग्छ । यसले कसैलाई छाड्दैन । जसले सतर्कता अपनाउँदैन, नियमको पालना गर्दैन उसलाई त झनै लाग्छ । नराम्रोसँग लाग्छ । तर, अरुको तुलनामा सुत्केरी, गर्भवती र नवजात शिशुलाई कोभिड लाग्यो भने उनीहरूलाई गाह्रो बनाउँछ, क्षति पुर्‍याउँछ । यस्तो बेलामा सुरक्षित हुन निकै कठिन छ । त्यसैले यो गर्भधारण गर्ने उपयुक्त समय होइन । 

कामकाजी (करिअर ओरिएन्टेड) जोडीका लागि यो ब्रेक गर्भधारणका लागि उपयुक्त समय पनि त हुन सक्छ नि, होइन र ?
यो बेलामा गर्भधारण गर्नु आपत्ति छैन । तर, गर्भवती भइसकेपछि भने विभिन्‍न समस्या आउन सक्छ । चाहिएको बेलामा आफूले सोचेका चिकित्सक नभेटिन सक्छन् । अप्ठ्यारो परेको बेला तुरुन्तै अस्पताल जान नसकिने अवस्था आउन सक्छ । अस्पताल जाँदा आफैँ संक्रमित हुन सक्ने सम्भावना पनि उत्तिकै हुन्छ । संक्रमण भइहाल्यो भने त झन् अप्ठ्यारो हुन्छ, जोखिम हुन्छ । त्यसैले, यो समयमा सकेसम्म बच्चा प्लान नगरौँ ।

जो गर्भवती छन्, उनीहरू यस्तो बेला संक्रमणबाट कसरी जोगिने ?
गर्भवतीले अरु बेलामा भन्दा यस्तो महामारीको बेलामा आफ्नो विशेष ख्याल राख्नुपर्छ । सामान्य अवस्था जस्तो अस्पताल गइराख्‍ने गर्नुहुँदैन । सामान्य अवस्थामा गर्भवती हुँदा आठ-दशपटक अस्पताल जानुपर्ने हुन सक्थ्यो भने यस्तो अवस्थामा सकेसम्म जरुरी परेको खण्डमा मात्रै अस्पताल जानुपर्छ । अप्ठ्यारो पर्‍यो भने चेकअप गराइरहेको डाक्टरसँग फोन सम्पर्कमार्फत काउन्सिलिङ लिनुपर्छ । अस्पताल चेकअपमा जाँदा जोगिएर जानुपर्छ । यस्तो बेलामा उनीहरू बाहिरको वातावरणसँग जति कम घुलमिल हुन्छन्, उति संक्रमणबाट जोगिन्छन् ।

जोगिँदा-जोगिँदै पनि संक्रमणले भेटिहाल्यो भने नि ?
पहिलो कुरो त सकेसम्म संक्रमण हुनबाट जोगिनुपर्छ । तर, जोगिँदा जोगिँदै गर्भवतीलाई कोभिड संक्रमण भएमा आत्तिहाल्नु पर्दैन । अरुलाई कसरी नसार्ने त्यसतिर ध्यान दिनुपर्छ । सावधानी अपनाउनुपर्छ । आइसोलेसनमा बस्नुपर्छ । यस्तो बेलामा उनीहरूले पटक-पटक ज्वानो पानी, गुर्जो पानी, बेसार पानी, दालचिनी पानी, चिया, कफी के-के खान मन लाग्छ खानुपर्छ ।

 

गर्भवती र सुत्केरीलाई निराश र डिप्रेस्ड हुन दिनु हुँदैन । यो बेलामा उनीहरूलाई हाम्रो राम्रो बोली, व्यवहार र सहयोगको खाँचो छ ।

तातो झोलिलो खाने कुराहरू प्रशस्त खानुपर्छ । दिनको तीन-चार पटक तातो पानीको बाफ लिनुपर्छ । श्वासप्रश्वाससम्बन्धी एक्सरसाइज गर्नुपर्छ । मास्क लगाउने, हात धुने, स्यानिटाइज गर्ने, भौतिक दूरी कायम गर्ने जस्ता कुरालाई भुल्नु हुँदैन । भरसक कसैसँग पनि भेट्नु हुँदैन । काम पर्‍यो भने फोनमा कुरा गर्नुपर्छ । भेट्नै पर्‍यो भने पनि टाढा बसेर कुराकानी गर्नुपर्छ । यति गर्ने हो १२-१३ दिन भित्रमा उनीहरू पहिला जस्तै सामान्य हुन्छन् । सामान्य भएपछि आफ्नो काम आफैँ गर्ने, बगैँचातिर निस्किने, छतमा गमला राखेर आफूलाई मन लागेका चिज उमार्ने, तिनलाई स्याहार गर्ने र भर्‍याङ अलि-अलि तलमाथि गर्ने जस्ता क्रियाकलाप गर्न सकिन्छ ।  

गर्भवतीलाई कोभिड हुँदा त्यसले बच्चालाई असर गर्छ कि गर्दैन ?
गर्दैन । गर्भवतीलाई संक्रमण भएर पछि निको भयो भने त्यसले बच्चालाई असर गर्दैन । तर, आफूलाई कोभिड भएकै कारण कोही गर्भवतीलाई त्रास र चिन्ता छ भने त्यसले गर्भको बच्चालाई असर गर्न सक्छ । २०७२ सालमा भूकम्पको जाँदा धेरै गर्भवती महिलाहरूमा यस्तो समस्या देखिएको थियो । उनीहरूलाई देखिएको त्रास र चिन्ताले बच्चालाई निकै असर गरेको थियो । 

संक्रमित आमाबाट जन्मिएको बच्चा संक्रमित नै हुन्छ कि संक्रमित नहुन पनि सक्छ ?
नेपालमा धेरै कोभिड संक्रमित आमाहरूको डेलिभरी भएको छ, अप्रेसन भएको छ । प्रसुति गृहमा मात्रै ३५-४० जना संक्रमित आमा सुत्केरी भइसके । त्यस्तै, अरु अस्पतालले पनि संक्रमित आमाको डेलिभरी गराउँदै आएका छन् । कोभिड पोजेटिभ आमाबाट जन्मिएका सबै बच्चाहरू पोजेटिभ नै हुन्छन् भन्‍ने छैन ।

धेरै गर्भवती महिला कोभिडविरुद्धको भ्याक्सिन लगाउने कि नलगाउने भनेर दोधारमा हुनुहुन्छ, उहाँहरूले भ्याक्सिन लगाउन मिल्छ कि मिल्दैन ?
गर्भवतीले भ्याक्सिन लगाउने भन्दा पनि भाइरसबाट भरसक जोगिने उपाय अपनाउनु पर्छ । गर्भावस्थामा भ्याक्सिन लगाउनु हुँदैन । तर, बच्चा पाइसकेको केही समयपछि भने लगाउँदा पनि हुन्छ । 

संक्रमित आमाले आफ्नो बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ?
मिल्छ । तर, बच्चालाई संक्रमणबाट जोगाएर सकिन्छ कि सकिँदैन विचार पुर्‍याउनुपर्छ । आमाले निकै नै सावधानी अपनाउनुपर्ने हुन्छ । तर, बच्चा पाइसकेपछि आमामा कोभिड इन्फेक्सन देखिएको छ भने स्तनपान नगराउँदा बेस हुन्छ । राम्ररी सावधानी अपनाउन नसक्दा बच्चामा सर्न सक्छ । आमालाई नेगेटिभ नआउँदासम्म बच्चा र आमालाई अलग राखेको राम्रो ।

बच्चालाई नै कोभिड देखियो भने चाहिँ के गर्ने ?
बच्चालाई पनि सकेसम्म जोगाएर राख्‍ने हो । तर, कोभिड भइहाल्यो भने पनि उनीहरूलाई स्याहार गर्दा सुरक्षित हुनुपर्छ । मास्क र पन्जा लगाउनुपर्छ । यस्तो बेलामा गर्भवती, सुत्केरी वा नवजात शिशुमा कोभिड भयो भने आत्तिनु हुँदैन । मनोबल उच्च राख्नुपर्छ । मनोबल उच्च राख्नु नै अहिलेको अवस्थामा सबैभन्दा ठूलो औषधि हो । गर्भवती र सुत्केरीलाई निराश र डिप्रेस्ड हुन दिनु हुँदैन । यो बेलामा उनीहरूलाई हाम्रो राम्रो बोली, व्यवहार र सहयोगको खाँचो छ ।