सहरमा साइत हेरेर शल्यक्रिया: थाहै नपाई प्रसूति हिंसाको सिकार बन्दै महिला

सामाजिक सञ्जालमध्ये युट्युबमा बढी रमाउँथिन्, रोनिशा । एकदिन ‘रुद्राक्ष टिभी’ नामक युट्युब च्यानलको एउटा एपिसोडमा उनका आँखा अडिए

सुत्केरी छोरी: घरले जाजा, माइतले आआ

बुहारीका लागि घर, कहिलेसम्म ‘पराइ घर’ ?

वैदेशिक रोजगारीले बढ्दो दूरी

सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

घरबाहिर जहाँ पुरुषभन्दा महिला बढी छन्

देशमा पुरुषभन्दा महिलाको संख्या बढी छ

असंवेदनशील अड्डा

महिलाका विभिन्न अवस्था बुझ्ने व्यवस्था खै ?

Showing posts with label Profile. Show all posts
Showing posts with label Profile. Show all posts

Thursday, 1 September 2022

ह्विलचियरमा बन्जी जम्प (भिडियो)

सृजना खड्का |

चैत २६, २०७८ १३:५१ बजे
311Shares

बन्जी जम्प गर्न सुरिएर पोखरास्थित ‘गो बन्जी नेपाल’मा पुगेका केही युवा शरीरमा हार्नेस बाँधेर पनि डराएर बसिरहेका थिए । त्यही बेला झापा, दमकका भेषराज न्यौपाने (३६) ह्विलचियरमा बन्जी ब्रीज पुगे । सुरक्षाका लागि बन्जी क्रुले उनको शरीरमा हार्नेस बाँधिदिए । हातमा गोप्रो क्यामेरा लगाइदिए । ह्विलचियरबाट ओर्लिएर भेषराज बन्जीका लागि पुलछेउ पुगे । वरपरका सबैले उनलाई हुटिङ गर्न थाले । केही क्षणमै उनी डोरीको सहारामा सेती नदीको खोचमा झुल्न थाले । ‘झर्ने बित्तिकै केही सेकेन्डका लागि म शून्य भएँ,’ उनले भने, ‘हातमा लगाएको गोप्रोमा हेर्दै हासेँ । त्यस दिन मेरो अर्को एउटा सपना पूरा भएको थियो ।’ 

पहिल्यै प्याराग्लाइडिङ र र्‍याफ्टिङ गरिसकेका भेषराजलाई केही समय अघिदेखि बन्जी गर्ने सपना पलाएको थियो । तर, ह्विलचियरमा भएका कसैले पनि बन्जी गरेको उनले सुनेका थिएनन् । ‘मलाई बन्जी गर्न दिइन्छ कि दिइँदैन, त्यो नै थाहा थिएन,’ उनले भने, ‘तैपनि, मैले एकजना साथीमार्फत बन्जी टोलीलाई आफ्नो प्रस्ताव राखेँ । मेरो इच्छाशक्ति देखेर उहाँहरूले मलाई बन्जी गराउने निर्णय गर्नुभयो ।’
भेषराजले बन्जी गरेपछि पुल छेउ पुगेर डराइरहेकाहरूले पनि बन्जी जम्प गरे । उनीहरूको डरलाई भेषराजको साहस र आत्मविश्वासले जित्यो । एक हप्ता भयो, भेषराजलाई अहिले धेरैले फोन गरेर बन्जी गरेकामा बधाइ दिइरहेका छन् । बन्जीपछि भने भेषराज अब स्काइडाइभिङ गर्ने सपना पाल्न थालेका छन् । 

त्यस दिनदेखि ह्विलचियरको सहारा...

१२ कक्षामा पढ्ने भेषराज त्यसताका १८ वर्षका थिए । नेपाली सेनाको लेफ्टिनेन्ट बन्ने उनको सपना थियो । त्यसैको तयारीमा उनी बिहान सबेरै उठेर दौडिन्थे । २०६१ सालको फागुन महिना थियो । एक दिन बिहानको शारीरिक व्यायाम सकेर घर फर्किएका थिए । ‘घर फर्किएर कलेज जाने तयारी गरिरहेको थिएँ,’ उनले भने, ‘औँलामा ठेस लागेर झम्झमाएपछि बरन्डामा गएर बसेको थिएँ । चक्कर लागेर बरन्डाबाट तल खसेछु ।’

बरन्डाबाट खसेपछि परिवारका सदस्यले उनलाई तुरुन्तै अस्पताल लिएर गए । उपचारपछि हिँडडुल गर्न सकिएला भन्ने भेषराजले सोचेका थिए । तर, उनलाई आफ्नो अवस्थाबारे खासै जानकारी थिएन । परिवार र डाक्टरले लामो समयसम्म उनलाई वास्तविक अवस्थाबारे जानकारी दिएका थिएनन् । एक समय उनलाई आफ्नो अवस्थाबारे थाहा भयो । ‘ह्विलचियर नै अबको मेरो सहारा हो भन्ने थाहा पाएँ,’ उनले भने, ‘मेरुदण्डको पक्षघात भएको रहेछ । गर्धन भाँचिएको थियो । हात र खुट्टा केही पनि चल्दैनथ्यो ।’
 

भेषराजलाई निको हुन निकै समय लाग्यो । लगभग तीन वर्ष उनले ओछ्यानमै बिताए । दिनरात उनको स्याहारमा कोही न कोही खटिनुपथ्र्यो । तर, बिस्तारै उनको शरीर उठ्न सक्ने भयो । सामान्य जीवन बिताइरहेका उनले दुर्घटनापछि थुप्रै चुनौती बेहोरे । आर्थिक रूपमा पनि परिवारमा निकै अप्ठ्यारो आइपर्‍यो । तैपनि, उनले सजिलै हार मानेनन् । मानसिक रूपले आफूलाई बलियो बनाए । पढाइलाई निरन्तरता दिए । ग्रामीण विकासमा मास्टर्स गर्दै उनी बिस्तारै घरबाहिर निस्किन थाले ।

पुस्तकले ल्याएको परिवर्तन 

दुर्घटनापछिको खराब समयबाट निस्किन र आफूलाई व्यस्त राख्न उनी पुस्तक पढ्न थाले । केही पुस्तक साथीहरूले सिफारिस गरे । केही आफैँले खोज्दै पढ्न थाले । हेलेन केलर, झमककुमारी घिमिरे, स्टिफिन हकिङ आदिका पुस्तक पढे । ती किताबले उनको जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिए । किताबले उनलाई शारीरिक अवस्थाभन्दा विचार शक्तिशाली हुन्छ भन्ने सिकायो । ‘हामी मानसिक रूपले सजग र शक्तिशाली भयौँ भने शारीरिक अवस्थाले केही फरक पार्दैन भन्ने कुरा मैले किताबबाटै सिकेँ,’ उनले सुनाए, ‘किताबले ममा ऊर्जा थप्यो । सशक्त रूपले अघि बढ्न प्रेरित गर्‍यो ।’

जसरी पुस्तकले उनको जीवन बदलियो र समाजमा पुनःस्थापित हुन सघायो, त्यसरी नै उनी पुस्तकको प्रभाव अरुको जीवनमा पनि परेको हेर्न चाहन्थे । तर, उनले चाहेका केही पुस्तक नै दमक बजारमा उपलब्ध थिएनन् । त्यसपछि उनमा आफ्नै घरको पहिलो तल्लामा पुस्तकालय स्थापना गर्ने सपना पलायो । २०६८ सालदेखि उनी पुस्तकालय बनाउने भनेर पुस्तकहरू भेला पार्न थाले । केही साथीहरूको सहयोगमा पुस्तकालय व्यवस्थापन समिति पनि खडा गरे ।

पुस्तकालय सुरु भएपछि पढ्न र सहयोग गर्न आउनेहरू बढ्दै गए । पछिल्लो समय दमकमा ‘डाइनामिक पब्लिक लाइब्रेरी’का रूपमा उनको पुस्तकालय चर्चित छ । भेषराजले अहिले यो पुस्तकालयलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइरहेका छन् । मोरङ, सुनसरी, पोखरा हुँदै देशका १७ ठाउँमा यसका शाखा छन् । 

 

संस्कृतिविद् ग्वंगःले नदेखेको ध्रुवेश्वरीको कथा

सृजना खड्का |

फागुन २५, २०७८ ८:५ बजे
138Shares

काठमाडौँ- ध्रुवेश्वरी ग्वंगःको बिहे २३ वर्षको उमेरमा भयो । यो उमेरपछि मात्र उनी कामधन्दा, परिवारको स्याहारसुसारमा जोतिएकी हैनन्, माइतीमा पनि उनी आफू भएर कम, परिवारको सदस्यको सहयोगी भएर बढी बाँचिन् । 

बिहेपछि श्रीमान्को घर आइन् । जहाँ उनलाई पर्खिरहेका थिए, श्रीमान्को परिवार । उनी लागिन्, परिवार सम्हाल्न । श्रीमती गुमाइसकेका एकल ससुराको स्याहार उनैले गरिन् । आमा गुमाइसकेका ससाना देवर–नन्दको रेखदेख पनि उनैले गरिन् । खुसीसाथ गरिन् । आफ्ना तीन जना छोराछोरीको स्याहार उनैले गरिन्, यो त भन्नैपरेन । नेपाली समाजमा आमाको भूमिका र बाबुको भूमिकामा कति फरक व्यावहारिक कानुन छ, यो ध्रुवेश्वरीलाई लागू नहुने कुरै छैन । 

राणाकालमा जन्मेकी ध्रुवेश्वरी ग्वंगः ८० पुग्दैछिन्, यो उमेरसम्म उनको संसार भनेकै जहानियाँ अर्थात् जहान–परिवार वरिपरि नै घुमिरह्यो । उनी आफ्नो इच्छामा होइन, परिवारको इसारामा बाँचिन् । भलै उनले ‘इसारा’लाई वा परिवार–आफन्तकै खुसीलाई आफ्नो इच्छा भनेर नअथ्र्याऊन् ! ध्रवेश्वरी अपवाद हैनन्, नेपाली समाजका आमा–हजुरआमाको औसत जीवन यसरी नै बाँच्यो, जसले खुसीलाई वैयक्तिक हैन, पारिवारिक ठान्यो । 

ध्रुवेश्वरी भक्तपुरको नासमना टोलमा जन्मिइन् । उनी पाँच कक्षा पढ्दा दिदीको बिहे भयो । दिदीको बिहेपछि घरमा काम गर्ने मान्छे कोही भएन । स्कुलमा ध्रुवेश्वरीको नाम काटियो । ‘दिदीको बिहे भएपछि अब बहिनीले पढ्नु हुँदैन भनेर स्कुलमा नाम काटिदिनुभयो,’ उनले सुनाइन्, ‘त्यो बेला छोरी मान्छेले स्कुल छाडेर भए पनि घरको काम सिक्नुपर्थ्यो ।’

स्कुल छुटेको दिनदेखि घरको कामले उनलाई कहिल्यै फुर्सद मिलेन । तैपनि, आमालाई सघाउँदै स्वेटर बुन्ने र लुगा सिलाउने काम पनि गर्न थालिन् । २३ वर्षको हुँदा उनको पनि बिहे भयो । ध्रुवेश्वरीसँग बिहे हुँदा तेजेश्वरबाबु ग्वंगः साहित्यकारका नामले चिनिने भइसकेका थिए । ऊ बेलै उनले एमए गरिसकेका थिए । सपना देख्न स्वतन्त्र थिए, उनी । ध्रुवेश्वरी घरमा भित्रिएपछि तेजेश्वरबाबु झनै स्वतन्त्र भए । आफ्नो भागको भारीसमेत श्रीमतीलाई बोकाएर उनी देश–विदेश निस्किए । 

ऊ बेला चिउरा कुट्ने मेसिन थिएन, सबै हातैले गर्नुपर्थ्यो । सिमेन्टेड घर थिएनन्, लिपपोत गर्नुपर्थ्यो । महिनैपिच्छे चाडपर्व आउने, पकाइतुल्याईमा जहिल्यै व्यस्त । श्रीमान्को खटाइ जस्तै खटाइ उनको पनि थियो । तर, श्रीमान् पढाइ लेखाइमा खटिन्थे । उनी परिवार र आफन्त रिझाउन खटिन्थिन् । 

बिहान देवर र श्रीमान्लाई अफिस पठाउने तयारी गर्नुपर्थ्यो । दिनभरि ससुराको स्याहारमा हाजिर हुनुपर्थ्यो । ‘ससुरा हुँदा घर नजिकैको माइत पनि जान पाइनँ,’ उनले भनिन्, ‘जान्छु भन्यो भने मलाई कसले चिया पकाएर खुवाउँछ ? भन्नुहुन्थ्यो । त्यसो भनेपछि माया लाग्थ्यो, कतै जान मन लाग्दैनथ्यो । मेरै स्याहारमा उहाँ ९९ वर्षको उमेरमा बित्नुभयो ।’

सानैमा सिकेको हुनाले ध्रुवेश्वरीलाई सिलाइ–बुनाइको काम आउँथ्यो । घरधन्दाबाट फुर्सद मिल्नासाथ उनी स्वेटर बुन्ने, लुगा सिलाउने गर्थिन् । आम्दानी पनि राम्रै हुन्थ्यो । एक समय उनलाई आफूले सिकेको सीप अरुलाई सिकाउने धोको पलायो । पाँचओटा सिलाइ मेसिन किनिन् । अरुलाई पनि सिलाइको तालिम दिन थालिन् । तर, केही वर्षपछि ती मेसिन थन्किए । सिलाइ मेसिन थन्क्याएर उनी परिवारका सदस्यको खुसी सिलाउन–टाल्न अभ्यस्त भइन् । सिलाइको कामलाई व्यावसायिक हिसाबमा लैजान सकेको भए ध्रुवेश्वरी अहिले महिला उद्यमीका रूपले चिनिन्थिन् । ‘त्यसलाई ठूलो गरेर, बोर्ड राखेर गर्न सकेको भए अहिले धेरै राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘तर, उहाँ आफू मात्र अगाडि बढ्न खोज्नुभयो । मलाई घरको काम गर, सबैको हेरविचार गर मात्रै भन्नुभयो ।’

अफिसबाट फर्किदा तेजेश्वरबाबु तीन–चार जना साथी लिएर आउँथे । ध्रुवेश्वरी घरमा भएको मीठो–पिठो बनाएर खुवाउँथिन् । ‘उहाँका साथीहरू भाउजूले बनाएको साह्रै मीठो भन्दै खान्थे,’ उनले भनिन्, ‘सानैदेखि आमाले घरमा आएका पाहुनालाई खुसी बनाउनुपर्छ भनेर सिकाउनुभयो । अहिले पनि घरमा कोही आयो भने सबै ध्यान उनीहरूलाई कसरी खुसी बनाउने भन्नेमै जान्छ ।’

तेजेश्वरबाबु अमेरिका, जापान, कोरियालगायत दर्जन बढी देश घुमिसके । तर, ध्रुवेश्वरी मुस्किलैले नेपालका दर्जन जिल्ला पुगेकी छिन् । तीन दशक उमेर कटेपछि बल्ल उनले पहिलो पटक उपत्यका छाडेकी थिइन् । काठमाडौँ, ललितपुर र भक्तपुरपछि उनले पहिलोपटक पाइला राखेको जिल्ला झापा हो । त्यहाँ उनलाई तेजेश्वरबाबुले लिएर गएका थिए । बाँकी केही जिल्ला बुढेसकाल लागेपछि साथीभाइसँग तीर्थ जाँदा उनी पुगेकी छिन् । 

ध्रेुवेश्वरीलाई घरबाट कतै बाहिर निस्किनुपर्दा मुटु काम्छ । हातखुट्टा लल्याक्लुलुक हुन्छ । ‘बाहिर कतै जानुप¥यो भने पिर लाग्छ,’ उनले भनिन्, ‘भोलिपल्ट बाहिर जानु छ भने अघिल्लो दिन डरले निद्रै लाग्दैन । उहाँजस्तो बोल्न सक्ने टाठोबाठो छैन । बाहिर निस्किँदा केही होला कि भनेर जानुभन्दा महिना दिन अगाडिदेखि थरथर काम्छु ।’

उमेर हुँदा उनलाई ससुराको स्याहार गर्नुपर्ने दायित्वले पछ्याइरह्यो । घर छाडेर बाहिर निस्किन मन मानेन । ससुरा बितेपछि छोराछोरीलाई छाडेर निस्किन मन लागेन । अहिले ८७ वर्षका श्रीमान्लाई छाडेर हिँड्ने कुरै भएन । ‘अहिले त झन् उहाँलाई एकछिन पनि छाड्न मिल्दैन,’ उनले भनिन्, ‘लडेर चोट लाग्ला भनेर दिनभरि उहाँ जता–जता जानुहुन्छ, त्यतै–त्यतै जानुपर्छ ।’

तेजेश्वरबाबुलाई एकदमै सफासुग्घर चाहिन्छ । एक ठाउँमा राख्नुपर्ने सामान अर्को ठाउँमा भयो भने पनि उनी कराउँछन्, रिसाउँछन् । ‘भुइँमा एउटा सानो टुक्रा खस्यो भने पनि गाली गर्ने बानी छ,’ ध्रुवेश्वरीले भनिन्, ‘जतिसक्दो उहाँलाई खुसी बनाउने कोसिस गर्छु तर जति गर्दा पनि कतै न कतै चुकिहालिन्छ । गाली खाइहालिन्छ ।’

ध्रुवेश्वरी र तेजेश्वरबाबुकाका तीन सन्तान सबैले पढेका छन् । तर, ध्रुवेश्वरीको पढाइ छुटेको छुट्यै भयो । राजधानी उपत्यकामै घर–माइती भएर होस् वा श्रीमान्–परिवार पढाइको महत्व बुझ्नेछन् भन्दैमा महिलाका लागि अक्षर साथी हुन पाउँदैन । 

तेजेश्वरबाबु प्रायःजसो ध्रुवेश्वरीलाई ‘तिमी पढेकी छैनौ’ भन्छन् । यसो भन्दा ध्रुवेश्वरीलाई हेपेको महसुस हुन्छ । असाध्यै चित्त दुख्छ । ‘चित्त दुखे पनि के गर्नु माइती जान आमाबुवा छैनन्,’ उनले गुनासो पोखिन्, ‘मेरो जिन्दगी उहाँलाई खुसी पारौँ, सजिलो पारौँ भन्दैमा गयो । तर, फेरि पनि चित्त उहाँले नै दुखाउनु हुन्छ । पढेको भए पो सबै थाहा हुन्छ भनेर होच्याउनु हुन्छ ।’

श्रीमान्ले जहिल्यै पढेको छैन भनेरै पनि उनले कहिल्यै केही बन्ने सपना देखिनन् । उद्यमी बन्ने आँट गरिनन् । ‘मलाई जहिल्यै पनि पढेको छैन, म केही गर्न सक्दिनँ भन्ने लागिरह्यो,’ उनले सुनाइन्, ‘घरमा आउने सबैले कति पढ्नुभएको छ भनेर सोध्दा मनमा चसक्क बिझ्छ । पढाइ नभएपछि के गर्नु ? काम गर्ने, अरुलाई खुसी बनाउने ।’
अहिलेको पुस्ता आफ्नो खुट्टामा उभिएको देखेर ध्रुवेश्वरीलाई खुसी लाग्छ । ‘मैले पनि पढ्न पाएको भए उनीहरूजस्तै गाडी, मोटरसाइकल हाँक्न सक्थेँ होला,’ उनले भनिन्, ‘उहाँको नामबाट त मलाई धेरैले चिन्छन् । पढ्न पाएको भए म पनि आफ्नै नामले चिनिन्थेँ होला ।’

उनी पत्रिकाका नेपाली अक्षर पढ्न सक्छिन् । तर, तेजेश्वरबाबु जसरी पत्रिका पढ्ने फुर्सद उनलाई कहाँ हुनु ? अहिले पनि पढ्नेभन्दा बढी उनको ध्यान घरको काममै जान्छ । ध्रुवेश्वरीलाई मन नपर्ने घरको काम केही छैन । घरमा मान्छे आए र पकाएर खुवाउन पाइयो भने उनी खुसी हुन्छिन् । तेजेश्वरबाबु भने भान्सामा खासै जाँदैनन् । गए भने पनि पकाउन होइन, यसरी पकायो भने मीठो हुन्छ भनेर अह्राउन जान्छन् । 

अझै पनि दिनहुँजसो मानिस उनीहरूको घर आउँछन् । ध्रुवेश्वरीले पकाएको खान्छन् । उनीहरूलाई तेजेश्वरबाबु देश–विदेशका अनुभव दिनभरि ब्रेक नलगाई सुनाइरहन्छन् । तेजेश्वरबाबुले सुनाउन नभ्याएका धेरै कुरा बाँकी छन् । जसलाई उनी एउटा रेकर्डर किनेर रेकर्ड गर्ने विचारमा छन् । किनभने, आउने पुस्तालाई उनले आफ्नो विद्वता र स्वतन्त्रताको भरपुर कथा सुनाउनु छ ।
भनिन्छ, ‘इतिहास जसको लेखिन्छ, उसैको पढिन्छ ।’

तेजेश्वर किताबमा होस् वा अखबारमा बरोबर आइरहने नाम हो । उनी संस्कृतिविद् हुन् । उनी आफ्नो लेखक व्यक्तित्वमा श्रीमतीको ठूलो हात छ भन्ने स्वीकार्छन् । तर, उनको स्वीकारोक्तिमा यति पुरुषवादी सोच देखिन्छ कि उनले श्रीमतीको खुसी के थियो भन्नेमा कहिल्यै सोचेनन् । बरु उनी श्रीमतीले घरपरिवार सम्हालिदिएर आफू फुक्काफाल लेखक हुन पाएकामा दंग छन् । भन्छन्, ‘उनले घर 

हेरिदिएको भएर म संसार डुल्न सकेँ । उनले नहेरेको भए डुल्न सक्निथेँ । मलाई पासो लाग्थ्यो । तर, मेरो भागको पासो पनि उनैले लियो ।’संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःसँग जोडिएको जीवककथा भएकाले मात्र यहाँ उनको प्रसंग आयो तर तेजेश्वर नेपाली समाजका अपवाद हैन, प्रतिनिधि पति हुन् । तर, पढेलेखेको व्यक्तिबाट अझ लेखक भएर चिनिएको व्यक्तिबाट समाजले केही न केही त अपेक्षा गर्छ नै, तर पत्नीको अपेक्षासमेत उनले यो कुराकानीका क्रममा पहिलोपल्ट सुने । रमाइलो त के छ भने, यो कुराकानीका् बीचमा उनी ‘ल तपाईंहरु कुरा गर्दै गर्नुस् है’ भनेर अर्कोतिर लागे । 

तेजेश्वरबाबुलाई ‘व्यक्ति’बाट ‘विद्’ बन्न प्रशस्त स्वतन्त्र वातावरण दिने ध्रुवेश्वरी इतिहासको पानामा कतै छैनन् । ध्रुवेश्वरीका भोगाइ न सुनिएका छन्, न त रेर्कड नै भएर आर्काइभमा छन् । 
ध्रुवेश्वरी जीवनभर कामै कामको लामो शृंखला हो तर, नामैनामको शृंखलामा ध्रुवेश्वरी र ध्रवेश्वरीहरू मौन छन्, गयल छन् र गुमनाम छन् । 
 

आइसोलेसनबाट सरिता : दिनको सुरुवात समाचार होइन, संगीतबाट गर्नुहोस्

सृजना खड्का |

माघ १६, २०७८ १३:१ बजे
29Shares

संगीतज्ञ सरिता मिश्रलाई एक साताअघि कोभिडले भेट्यो । दमले सताइरहेको ज्यानलाई कोभिडले भेटेपछि के चाहियो । श्वासप्रश्वासमा समस्या देखियो । ज्यान गल्न थाल्यो । ‘सारेगम लिटिल च्याम्प’को सुटिङ नै छाडेर उनी होम आइसोलेसनमा बस्नुपर्‍यो । संगीतमा जीवन बिताएकी उनलाई कोभिडबाट निको हुन संगीतले नै सघायो। होम आइसोलेसनमा बिहानदेखि बेलुकासम्म संगीत उनको सारथि बन्यो । 

आइसोलेसनमा बस्दा उनले थुप्रैलाई सुनिन् । उनले भारतका रवि शंकर, जाकिर हुसेनदेखि शुभा मुद्गललाई सुनिन् । नेपालका मनोज सिंह र उमेश पण्डितले बजाएका बाँसुरीका धुन सुनिन् । नवराज गुरुङले बजाएका तबलाको धुन सुनिन् । पाकिस्तानी गायिका अविदा परबिनका गीतले उनका आइसोलेसनका दिनहरू दिक्दारलाग्दो हुन दिएनन् । उनले सुफी संगीत सुनिन् । रूपा न्यौपानेले बजाएको सरोद सुनिन् । मोहनप्रसाद जोशीको जलतरङ्ग सुनिन् ।  हप्तादिनको आइसोलेसन बसाइमा उनले सुनेकाको नाम लिएर साध्य छैन ।  

होम आइसोलेसनमा बसेकालाई हामीमध्ये धेरैले किताब पढ्न सिफारिस गर्छौँ । फिल्म हेर्न सुझाउँछौँ । तर, आइसोलेसनमा बसेकालाई संगीत सुन्ने सल्लाह कमैले मात्र दिन्छन् । सायद मान्छे स्वतः संगीतप्रेमी हुने भएर संगीतका लागि सिफारिस नचाहिएको होला कि ! उनी आफ्नो अनुभव मिसाउँदै भन्छिन्, ‘होम आइसोलेसनमा बस्दा आफूलाई जस्तो मनपर्छ त्यस्तै संगीत सुन्नुस् तर, सुन्न चाहिँ सुन्नुहोस् ।’

सरिताका अनुसार राम्रो संगीतले आइसोलेसनमा बसेकालाई छिटो निको हुन सघाउँछ । उनीहरूको मानसिक स्वास्थ्य बलियो बनाउँछ । आइसोलेसनमा बस्दा उनी ‘इन्स्ट्रुमेन्टल म्युजिक’ सुन्ने सल्लाह दिन्छिन् । सितार, सरोद, सारङ्गी जस्ता तारका बाजाले आनन्द दिने उनी बताउँछिन् । ‘बाहिर बजाएको तारले शरीरभित्र झंकार पैदा गर्छ’ उनी भन्छिन्, ‘संगीत सुन्नु भनेको ध्यान गर्नु बराबर हो । यसले नकारात्मक विचार मनमा आउन दिँदैन ।’

संगीत सुन्दा मान्छे रुन्छ, हाँस्छ, उफ्रिन्छ, कराउँछ, चिच्याउँछ । सरिताको भाषामा संगीतले मानिसलाई चार्ज गर्छ । संगीत यस्तो चिज हो जुन सुन्दा होस् वा बजाउँदा शतप्रतिशत दिनुपर्छ । संगीतमा लाग्दा सरितालाई ध्यान गरेसरह हुन्छ । गीत–संगीत सुन्दा उनी आफूभित्र आफैँलाई खोज्न थाल्छिन् । संगीतमा सबैको स्वाद फरक–फरक हुन्छ । कसैलाई रक मन पर्छ, कसैलाई ब्लुज । कोही शास्त्रीय रुचाउँछन्, कोही सुफी । तर, संगीतमा आफ्नो स्वाद के छ त्यो थाहा नभई भने संगीतको आनन्द लिन नसकिने सरिता बताउँछिन् । कस्तो संगीत मन पर्छ भन्ने कुरा धेरैलाई थाहा नहुँदा सरितालाई दुःख लाग्छ । ‘बालबालिकामा संगीतको संस्कार नै छैन,’ उनी भन्छिन्, ‘अनलाइनबाट खानेकुरा अर्डर गर्न र ग्याजेट चलाउन बाहेक बच्चाहरूले केही सिकेका छैनन् । संगीत भनेको के हो ? बाजा के हो ? थाहा हुन छाडिसक्यो ।’

कोभिडका कारण अहिले धेरैजना होम आइसोलेसनमा छन् । यस्तो बेला शरीर ओछ्यानमा लडिरहे पनि मन दौडिरहेको हुन्छ । तर, सरिताको अनुभवमा संगीत यस्तो चिज हो जसले मनलाई भाग्न दिँदैन । शारीरिक र मानसिक स्वास्थ्यलाई कमजोर हुन दिँदैन । ‘महामारीमा धेरैमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन्छ,’ उनी भन्छिन्, ‘डिप्रेसन र एन्जाइटीका कुरा आउँछन् । कतिपयलाई यस्तो बेला काउन्सिलिङ झन् भारी लाग्न सक्छ । काउन्सिलिङले गर्न नसकेको काम कहिलेकाहीँ संगीतले गर्न सक्छ ।’

सरिताका अनुसार संगीतको पनि समय हुन्छ । रागअनुसार बिहान दिउँसो र बेलुका मिलाएर सुन्नुपर्छ । बिहानको समयमा भैरव, ललित, सन्धिप्रकाश राग सुन्न सकिन्छ। दिउँसो दुर्गा, भिमपलासी राग सुन्दा उपयुक्त हुन्छ । ‘संगीत बुझेका मान्छेले यस्तो कुरा याद गरेर सुन्छन्,’ उनी भन्छिन्, ‘सबैलाई संगीतको रागबारे ज्ञान नहुन सक्छ । तर, संगीतको ज्ञान भएकाले मात्र यसको आनन्द लिन सक्छन् भन्ने होइन । कतिपय अवस्थामा ज्ञान नभएकाले यसको बढी आनन्द लिन सक्छन् ।’

सरिता आइसोलेसनमा बस्दा बिहानीको सुरुवात समाचारभन्दा संगीतबाट गर्न सुझाव दिन्छिन् । ‘हत्या–हिंसाका समाचारबाट दिन सुरु हुँदा दिमागमा नकारात्मक विचारले डेरा जमाउँछ,’ उनी भन्छिन्, ‘त्यसको सट्टामा संगीतबाट दिनको सुरुवात गर्नुपर्छ । संगीतले हाम्रो दिन नकारात्मक ऊर्जाबाट सुरु हुन दिँदैन ।’ 

सरितालाई सम्झना छ पहिले–पहिले रेडियो र टेलिभिजन खोल्दा बिहान गीत र भजन आउँथ्यो अनि मात्रै समाचार । अहिले हामी रेडियो र टेलिभिजनभन्दा अनलाइन र मोबाइलमा लिप्त छौँ । जहाँ जतिबेलै समाचार मात्रै आउँछन् । जसले बिरामीको मानसिक स्वास्थ्यलाई झन् प्रभाव पार्ने सरिता बताउँछिन् । ‘बेलुका पनि सामाजिक सञ्जालसँगै निदाउने धेरैको बानी हुन्छ,’ उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा तँभन्दा म के कम भन्ने खालको द्वन्द्वबाहेक केही हुँदैन । सबैलाई कोभिड भएको छ । सबै दुःखी छन, भँडास पोखिरहेका छन् । यस्ता कुरा मनमा रेकर्ड हुँदा न राम्रो निद्रा पर्छ न  स्वास्थ्यमा नै सुधार आउँछ ।’ यस्तो बेलामा सामाजिक सञ्जालबाट दुःखदायी पोस्टहरू स्क्रोल गर्नुभन्दा संगीतलाई साथी बनाउन सरिताको सुझाव छ । ‘नकारात्मक समाचारले मनलाई नकारात्मकतिर लैजान चारो हाल्ने काम गर्छ,’ उनी भन्छिन्, ‘मनलाई कमजोर बनाउने चारो हाल्नुमन्दा बाँसुरीको धुन मात्रै सुन्यो भने पनि शरीरमा फरक खालको ऊर्जा मिल्छ । 

यसको मतलब बाहिरी दुनियाँबारे जानकारै हुनु हुँदैन भन्ने भनाइ सरिताको होइन । ‘तर, जसले जे सूचना दिन्छ त्यो सबै लिनुपर्छ भन्ने छैन,’ उनी भन्छिन्, ‘हरेक दिन कोभिड अपडेट हेरेर तनाव हुन्छ भने त्यस्ता कुरा नहेरेकै बेस । जस्तो खालको संगीतमा आफ्नो मन अडिन्छ त्यो सुनेर आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।’

आइसोलेसनमा बसेर संगीतको तीनैवटा विधा गायन, वाद्य र नृत्यबाट आनन्द लिन सकिने उनी बताउँछिन् । राम्रो संगीतमा कुनै प्रकारको अश्लीलता र गालीगलौज नहुने हुँदा त्यसले फाइदा पुर्‍याउने उनको भनाइ छ । ‘शास्त्रीय संगीत त झन् एउटा साधना हो,’ उनी भन्छिन्, ‘त्यो संगीतको माध्यमबाट गालीगलौज गर्ने फुर्सद कसैलाई हुँदैन ।’ 

त्यस्तै उनको नजरमा अहिले बजारमा आएका गीतहरू पैसा र भ्युजका लागि आएका छन् । जसमा न कुनै साधना छ, न त्यसले आनन्द नै तुल्याउँछ । ‘उनीहरूले ती गीत आफ्नै लागि पनि गाएका छैनन्,’ उनी भन्छिन् । तर, साधनाबाट निस्किएका संगीतले महामारीमा मान्छेको घाउमा मल्हम लगाउनेमा सरिता विश्वस्त छिन् । 

एक्लै यात्रा गर्ने सिज्जुको बेग्लै तरिका

सृजना खड्का |

पुस ३०, २०७८ १४:३९ बजे
35Shares
sharethis sharing button

काठमाडौँ - उनकी हजुरआमा हिँडेकै बाटो आमा हिँडिन् । आमा जुन बाटोमा हिँडिन्, उनी पनि त्यही बाटो हिँडून् भन्‍ने चाहन्थ्यो समाज । तर, रुकुम, मुसिकोटकी सिर्जना सिज्जु (२४) आमा र हजुरआमाभन्दा फरक बाटो हिँड्न चाहन्थिन् । ‘छोरी भएर यो गर्नुहुँदैन, त्यो गर्नुहुँदैन’ भन्‍नेको गतिलो जवाफ बन्न चाहन्थिन् । सिर्जना वनविज्ञानकी विद्यार्थी हुन् । तर, अहिले अर्को एउटा परिचय थपिएको छ— त्यो हो, सोलो ट्राभलर अर्थात् एकल यात्री । 

वनविज्ञान पढेकी उनी केही महिनायता आफू, प्रकृति र समाजलाई बुझ्न वनजंगल चहार्न थालेकी छिन् । खोलानाला डुल्न र हिमाल चढ्न थालेकी छिन् । उनको गन्तव्य कुनै ‘भाइरल स्थान’ होइन । उनी त्यस्तो ठाउँ पुग्छिन् जहाँ मानिस घुम्नैका लागि विरलै पुगेका हुन्छन् । 



सिर्जनाले सानैदेखि ‘यो गर, त्यो नगर’ भन्‍ने खालको आदेश पालना गर्नुपरेन । उनको परिवार भन्थ्यो, ‘अरूलाई हानि हुने गरी नबाँच्नू, बाँकी जसरी बाँच्दा पनि हुन्छ ।’ परिवारको साथ र सहयोगले उनको जीवनमा ठूलो प्रभाव परेको छ । ‘परिवारले विश्वास गर्‍यो भने मात्र मानिसले आफूले आफूलाई विश्वास गर्न सक्छ,’ उनी भन्छिन् । सिर्जना घुमेर आएपछि सबैभन्दा पहिला आफूले कैद गरेका फोटो र भिडियो आमालाई देखाउँछिन् । सिर्जनाको स्वतन्त्रतामा उनीभन्दा आमा बढी उत्साहित हुन्छिन् । 

फरेस्ट्री यात्रा 

एसएलसीपछि सिर्जनाका साथीमध्ये कसैले विज्ञान, कसैले व्यवस्थापन, कसैले मानविकी पढे । तर, उनलाई धेरैले नपढेको विषय पढ्नु थियो । एकजना आफन्तको सल्लाहमा उनी फरेस्ट्री पढ्न काठमाडौँ आइन् । तीन वर्षे डिप्लोमा कोर्स सकेर फेरि रुकुम फर्किइन् । त्यहाँ एउटा एनजीओमा काम गर्ने मौका मिल्यो । त्यसलाई उनी जीवनको टर्निङ प्वाइन्ट मान्छिन् । त्यसअघि उनी गाउँलेहरूप्रति खासै संवेदनशील थिइनन् । तर, त्यहाँ काम गर्न थालेपछि उनले गाउँको समस्यालाई नजिकबाट नियाल्न पाइन् । यसबीचमा उनले लोक सेवा आयोगको परीक्षा पनि दिइन् । त्यसमा पास नभएपछि उनी स्नातक गर्न फेरि काठमाडौँ आइन् । 

त्यसताका उनी युट्युबमा थुप्रै मोटिभेसनल भिडियो हेर्थिन् । ‘बायोग्राफी’ पढ्थिन् । फरेस्ट्री पढ्दै गर्दा उनले प्रकृति र संस्कृतिलाई जोगाउँदै पर्यटन गतिविधिमा स्थानीय जनसहभागिता बढाउने कल्पना गर्न थालिन् । कल्पनालाई वास्तविकतामा बदल्न उनी यात्रामा निस्किइन् । एउटा टिमसँग मिलेर १५ दिन उपल्लो डोल्पा फन्को मारिन् । डोल्पालाई लिएर जति सुन्दर शब्द खर्चिए पनि अन्याय हुने उनलाई लाग्यो । नेपाल यति सुन्दर होला भन्‍ने उनले सोचेकी थिइनन् । सिर्जनामा छुट्टै खालको आत्मविश्वास पलायो । यसपछि उनी आफ्नै जिल्लाका थुप्रै ठाउँ डुलिन् ।  लोबुचे हिमाल चढिन् । केही हप्ताअघि मात्रै उनी मार्दी सोलो टे«क गएर आएकी छिन् । 

सोलो ट्राभल गर्दा निर्णय क्षमता बढ्ने अनुभव सिर्जनाले गरेकी छिन् । ‘साथीहरूसँग जाँदा सबैको आ–आफ्नै खालको प्रतिक्रिया हुन्छ,’ उनी भन्छिन्, ‘कुनै डिसिजन गलत भयो भने अर्कालाई दोष लगाउँदैमा यात्रा सकिन्छ ।’ सिर्जनालाई आफैँले रोजेर हिँडेका गन्तव्यले कहिल्यै नबिर्सिने अनुभूति दिएका छन् । त्यसैको ऊर्जाले उनलाई अर्को यात्रामा निस्किन तम्साइरहन्छ । उनी हराएको आफूलाई भेट्न एकल यात्रा गर्छिन् । प्रकृतिबाट उनले सिकेको पाठ हो— जस्तोसुकै परिस्थति आए पनि आफ्नो समयमा फक्रिन, फुल्न र फल्न छाड्नुहुँदैन । 

केही अघिसम्म सिर्जनालाई कसैले ‘छोरी मान्छे’ भन्दा खासै फरक पर्दैनथ्यो । ‘छोरी मान्छेलाई छोरीभन्दा किन रिसाएको होला जस्तो लाग्थ्यो,’ उनी भन्छिन्, ‘कस्तो अवस्थामा भनेको हो त्यसले फरक पर्दो रहेछ । हिजोआज घुम्न निस्केका बेला ‘छोरी मान्छे भएर पनि घुम्न हिँडेको’ भन्यो भने साह्रै रिस उठ्छ । छोरी हटायो भने म पनि मान्छे हुँ । मान्छे त हिँड्छ, डुल्छ, खान्छ, रमाइलो गर्छ ।’

यात्रामा निस्किँदा उनले केहीको मात्र स्याबासी पाउँछिन् । ‘एक्लै घुम्न पठाउने बाआमा कस्ता होलान्,’ ‘कस्तो बेबारिसे जस्तो छाडा छोडेको’, ‘घर–व्यवहार सम्हाल्नुपर्ने बेला झोला बोकेर के लखर–लखर हिँडेको होला’ अधिकांशले दिने प्रतिक्रिया यस्तै–यस्तै हुन्छ । तर, उनी ती प्रतिक्रियाको जवाफ फर्काउन जरुरी ठान्दिनन् । उनी प्रायःजसो मौनतामा डुल्छिन् । 

सोलो ट्राभल टिप्स

उनी कहिलेकाहीँ साथीहरूसँग पनि यात्रामा निस्किन्छिन् । समूहमा हिँड्दा र एक्लै हुँदा बेग्ला–बेग्लै रमाइलो हुन्छ । ‘साथीहरूसँग गयो भने एक ठाउँमा हजार वटा फोटो खिच्न लगाउँछन्,’ उनी भन्छिन्, ‘त्यो बेला न आफूलाई भेट्टाइन्छ न प्रकृतिलाई । एक्लै हुँदा नजिकबाट दुवैको अनुभूति गर्न पाइन्छ ।’ एकल यात्राबाट उनले आफूमा भएका बलियो र कमजोर पक्ष पत्ता लगाएकी छिन् । ‘प्रकृतिलाई अनुभव गर्न पाएकाले नै जीवनमा आइपर्ने परिस्थितिको सामना गर्न सिकेको छु,’ उनी भन्छिन् । 

सोलो यात्रामा निस्किनुअघि आफू जाने ठाउँबारे प्रशस्त जानकारी लिन उनको सुझाव छ । त्यस्तै, प्रकृतिसँग चाहिनेभन्दा बढी चुनौती नलिन, प्रकृतिप्रति संवेदनशील हुन, अरुबाट सहयोगको अपेक्षा नगर्न, खल्ती छामेर मात्र खर्च गर्न उनी सुझाउँछिन् । ‘एक्लै यात्रा गर्दा अरुलाई हेरेर निर्णय गर्नुहुँदैन,’ उनी भन्छिन्, ‘अरुको लहलहैमा लाग्नु हुँदैन । आफूलाई चाहिने लुगा–जुत्तादेखि सबै सामान बोकेर हिँड्नुपर्छ ।’

आफू बस्ने होटल, नजिकैको प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालयको सम्पर्क नम्बर पनि राख्न उनी सल्लाह दिन्छिन् । ‘कतै हराइयो वा कसैले दुःख दियो भने काम लाग्न सक्छ,’ उनी भन्छिन्, ‘तर, यात्रामा भेटिएका जोसुकैसँग सम्पर्क नम्बर साटासाट गर्नु जरुरी छैन ।’

घुम्न जाँदा मौसम एकनासको हुँदैन । घाम लाग्छ भनेको दिन पानी पर्न सक्छ । पानी पर्न सक्छ भनेको दिन थाम्नै नसक्ने गरी हिउँ पर्न सक्छ । ‘जस्तो मौसमलाई पनि स्वीकारेर यात्रा गर्नु नै यात्रीको विशेषता हो,’ सिर्जना भन्छिन् । 

‘घुम्नु मान्छेले सोचेजस्तो महँगो छैन’

उनले यात्रा गरेको फोटो–भिडियो सामाजिक सञ्जालमा राखेपछि धेरैले प्रश्न तेस्र्याउँछन्, ‘हैन यसरी लखर–लखर डुल्ने पैसा कहाँबाट आउँछ ?’ यसमा सिर्जनाको रेडिमेड जवाफ छ । केटा साथीहरूले सोधे भने– तिमीहरूले रक्सी र चुरोटमा उडाउने पैसाले घुम्छु । केटी साथीहरूले सोधे भने– लिप्स्टिक, पाउडर किन्ने पैसाले घुम्छु ।

‘मान्छेले सोचेजस्तो घुम्न महँगो छैन,’ उनी भन्छिन्, ‘डिजाइनर लुगा नलगाउने, क्लब जाने पैसा जोगाउने हो भने घुम्न जति पनि पुग्छ । तर, मान्छेहरूलाई २० हजारको लेहेङ्गा सस्तो लाग्छ । घुम्दा पाँच हजार खर्च भयो भने महँगो लाग्छ ।’ सिर्जना भने लेहेङ्गा किन्ने पैसाले टे«किङ गेयर किन्छिन् । ‘लेहेङ्गा एक पटक लगाएपछि लगाउन मन लाग्दैन,’ उनी भन्छिन्, ट्रेकिङ गेयर एक पटक किनेपछि पटक–पटक काम लाग्छ ।’

सिर्जनालाई लाग्छ, समाज बुझ्न डुल्नैपर्छ । घरबाहिर निस्किनै पर्छ । यसअघि उनलाई गाउँका कुनाकन्दरामा बसेका मान्छेहरू दुःखी छन् जस्तो लाग्थ्यो । तर, डोल्पा पुगेपछि उनलाई लाग्यो मानिसहरू जहाँ पनि खुसी छन् । रेडियो, टेलिफोन, इन्टनेट नभएको ठाउँमा मानिसहरू झन् बढी खुसी छन् । सिर्जनाको नजरमा सामाजिक सञ्जालमा देखेका र भेटेका मान्छे मात्र मान्छे होइनन् । नेपालको दूरदराजमा यस्ता मान्छे पनि छन् जसले बाहिरका मान्छे देखेका छैनन् । घुलमिल हुन सिकेका छैनन् । त्यहाँ जाँदा राम्रो आतिथ्य पाइँदैन । तर, यो उनीहरूको दोष होइन । ‘यो कर्णालीको अहिलेको मुख्य समस्या हो,’ उनी भन्छिन्, ‘पर्यटनमा उनीहरू आकर्षित छैनन् । आफ्नो ठाउँको महत्व उनीहरूलाई बुझाउन सकिएको छैन ।’

पर्या–पर्यटनबारे काठमाडौँमा बैठक गरेर मात्रै नहुने उनी बताउँछिन् । ‘होटल नै खोल्नुपर्दैन, घरकै दालभात खुवाउँदा पनि पैसा आउँछ भनेर हामीले सिकाउन सकेका छैनौँ,’ उनी भन्छिन्, ‘खोलानाला जोगायो भने आफैँलाई फाइदा हुन्छ भन्‍ने मान्छे कोही छैन ।’ सिर्जना आफू घुम्न गएको ठाउँमा यी कुरा सुनाउँछिन् । उनको परिभाषामा घुम्नु केबल घुम्नु र सामाजिक सञ्जालमा फोटो, भिडियो सेयर गर्नु मात्र होइन । आफूसँगै समाजलाई पनि अगाडि बढाउनु हो, प्राकृतिक स्रोत र साधनको महत्व बुझाउनु पनि हो । 

भौगोलिक विकटता चिर्ने सामाजिक सञ्जाल 

सिर्जनालाई कर्णालीमा पर्यटन विकास भएको हेर्ने रहर छ । ‘त्यहाँको भौगोलिक विकटतालाई चिरेर पर्यटकलाई कसरी आकर्षित गर्न सकिएला भनेर सोचिरहन्छु,’ उनी भन्छिन् । भौगोलिक विकटता चिर्ने उनको हतियार हो–सामाजिक सञ्जाल । टिकटक, फेसबुक र युट्युबको प्रयोग गरेर उनले आफ्नो ठाउँको भरपुर प्रचार गरिरहेकी छिन् । सिर्जनालाई आफूले बाँचेका समयलाई क्यामेरामा कैद गर्न मन लाग्छ ।

कुनाकन्दरामा गएर उनी ती भिडियोबाट सामाजिक सञ्जालमा आह्वान गर्छिन्, ‘यो ठाउँ साह्रै बबाल छ है गाइज ! अहिलेसम्म यहाँ आइपुग्नु भएको छैन भने तपाईंको आधा जिन्दगी खेर गयो ।’ सिर्जना भन्छिन्, ‘भाइरल नभएको त्यो ठाउँमा मेरो भिडियो हेरेर एकजना मात्रै गयो भने मेरा लागि ठूलो उपलब्धि हुनेछ ।’


नर्सको आइसोलेशन अनुभव : कोभिडका बिरामीलाई उपचारले छुनै मुस्किल छ

 सडकको हुल देख्दा अस्पतालका बिरामीको छट्पट्टी सम्झिन्छु

सृजना खड्का |
बैशाख १८, २०७८ ७:४९ बजे



  

काठमाडौँ : एकवर्ष भयो नर्स कमला पौडेललाई १४ वर्षीय छोरालाई अंगालोमा बेर्न मन लागेको । उसँगै नजिकिएर गफिन मन लागेको । अनि, मन भरिने गरी समय बिताउन मन लागेको । घर पुग्‍ने बित्तिकै उनका छोरा दौडिदै उनीसामू आउँदा उनी भन्छन् - ‘बाबु दुई मिटर टाढा बस ।’

जबदेखि कोभिड सुरु भयो उनका श्रीमान्, छोरा र उनको कोठा छुट्टाछुट्टै छ । दिनभरी अस्पतालमा सेवा गरेर घर फर्किने बेला उनको मुटु ढक्क फुल्छ । श्रीमान र छोरालाई कोभिड सर्ने हो की भन्ने चिन्ताले प्रत्येक दिन उनलाई सताउँछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ग्यास्ट्रो आइसोलेसन वार्डकी इन्चार्ज नर्स हुन्, कमला । उनले सेवा दिने वार्डमा ३३ जना कोभिडका बिरामी हुन्छन् । अस्पतालमा क्वारेन्टाइनको व्यवस्था नहुँदा काम सकेर उनी प्रत्येक दिन घरै (डल्लु) फर्किन्छिन् । 


उनको वार्डमा काम गर्ने नर्समध्ये कतिले आफ्ना छोराछोरीलाई माइत लगेर छाडेका छन् । कतिले आफन्तकोमा । ‘नर्सहरूले आफ्ना छोराछोरी कोभिड सर्ला भनेर अगाडि पर्नै दिएका छैनन् । अहिले टेकु अस्पतालको आईसीयू पूरै भरिएको छ । अधिकांश बिरामी अक्सिजन लगाउनुपर्ने खालका छन् । प्रायः बिरामी एकैछिन अक्सिजन छाडेर ट्वाइलेटसम्म पुग्दा पनि अक्सिजन लेभल कम भएर स्वाँस्वाँ र फ्वाँफ्वाँ हुन्छन् । 

‘धेरैजसो बिरामीलाई बेडमै दिसा पिसाब गराउनुपर्ने अवस्था छ,’ उनी भन्छिन्, ‘बिरामीहरू सबै अक्सिजन लगाउनै पर्ने खालका छन् । अक्सिजन नलगाउने बिरामीलाई अस्पतालले भर्नै लिएको छैन ।’ पहिलाजस्तो वृद्धवृद्धालाई मात्र नभएर अहिले कम उमेरका व्यक्तिमा पनि कोभिडले गम्भिर असर गरेको उनी बताउँछिन् । ‘अहिले भर्खरका मान्छेहरू पनि कोभिडका कारण सिरियस भएर आएका छन्,’ उनी भन्छिन्, ‘१७ र १९ वर्षका बिरामीको  हामीकहाँ उपचार भइरहेको छ ।’

त्यस्तै, पहिलो लहरको कोभिडलाई उपचारले छोए पनि अहिलेकोलाई हत्तपत्त उपचारले नछोएको अनुभव उनले गरेकी छिन् । ‘पहिला अक्सिजन लगाउनुपर्ने र सिरियस खालका बिरामी धेरै थिएनन्,’ उनी भन्छिन्, ‘अहिले अस्पताल छिर्ने बित्तिकै अक्सिजन लगाउनुपर्ने खालका बिरामी छन् । जसलाई उपचारले छुन मुस्किल परिरहेको छ ।’ 

पहिलाको २४ घण्टा ड्यूटी गर्दाको जस्तो थकान अहिले ६ घण्टाको ड्युटी गर्दैमा हुन्छ उनीहरूलाई । ‘पहिला २४ घण्टा ड्युटि गर्दा पनि बरु थाकिदैनथ्यो,’ उनी भन्छिन्, ‘आजभोलि ६ घण्टे ड्यूटीले पहिलाको २४ घण्टा ड्युटी गरे बराबर थकाउँछ । सबै सिरियस टाइपका बिरामी छन् । दिशापिसाबदेखि ख्वाउने प्याउने सबै गर्नुपर्छ ।’ उनका वार्डका धेरै नर्सहरू त थकानले सुत्नसमेत सक्दैनन् । ‘शरीर दुख्यो भनेर प्रत्येक रात सिटामोल खाएर सुत्ने नर्सहरू पनि छन्,’ उनी भन्छिन् । 

निषेधाज्ञामा पनि हुल बाधेर हिँड्नेहरू देख्दा उनी अस्पतालभित्र छटपटाइरहेका बिरामीको अनुहार झल्झली सम्झिन्छिन् । ती अनुहारले उनलाई यसै चुप बन्न दिँदैन र, उनी बाटोमा हुल बाँधेर हिँड्नेहरुलाई भन्छिन् - ‘यसरी नहिँड्नुहोस् न कोभिड सर्छ ।’ कसैले उनको कुरा सनेर भौतिक दूरी कायम गर्छन् । कसैले भने एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् । 

नर्सिङ पेसामा तीन दशक बिताएकी उनले बझाङ, बाझुरा, मनाङ, म्याग्दी, स्याङ्जा, रामेछाप, कास्कीजस्ता जिल्लाहरूमा सेवा दिएकी छिन् । सहरभन्दा गाउँका मान्छे बुझकी लाग्छन् उनलाई । ‘बरु गाउँघरका मान्छेलाई यो नगर भने गर्दैनन्, बुझ्छन्,’ उनी भन्छिन्, ‘तर, सहरका मानिसलाई बुझाउन साह्रै हम्मेहम्मे छ । जति बुझाए पनि बुझ्दै बुझ्दैनन् ।’ 

कोभिडका बिरामीको सामिप्यमा बसेर सेवा गर्दा उनलाई डरै नलाग्‍ने होइन । तर, त्यो डरलाई बिरामीको निको हुने अभिलाषाले जित्छ । ‘यो बेला हामीले जागिर छाड्यौँ भने बिरामीलाई कसले बचाउँछ भनेर जति डर लागे पनि पचाउँछौँ ।’तर, अस्पतालमा सहयोग गर्ने सहयोगी कर्मचारीहरूले पछिल्लो समय भटाभट जागिर छाड्न थालेको उनी बताउँछिन् । ‘हेल्परहरूले भने जागिर छाड्ने क्रम बढिरहेको छ,’ उनी भन्छिन्, ‘उनीहरूलाई हामीले सम्झाउन सकेनौँ । अहिले एउटा हेल्परले छाड्ने अर्को आउने भइरहेको छ ।’

कमलासँगै स्कुल पढेका साथी कोही विदेश गए कोही माथिल्लो तहको कर्मचारी । तर, जबदेखि उनले जागिर थालिन्, आजसम्म पनि उनको परिचय एउटै छ, नर्स । न कुनै प्रमोसन, न कुनै पोस्ट । ‘जागिर खाँदा पनि म नर्स नै थिए, जागिरबाट निस्क्निे बेला पनि नर्स नै हुन्छु,’ उनी भन्छिन्, ‘पोस्ट जेसुकै होस्, यो महामारीमा अरुको ज्यान बचाउने कोसिसमा लाग्‍न पाउनु नै ठूलो कुरा हो ।’

जेन्डर-लिक मिच्दै शालुको डिजेइङ जर्नी

सृजना खड्का |

कात्तिक १०, २०७८ १७:२५ बजे
815Shares
शालुलाई स्कुल पढ्दादेखि नै संगीतमा रुचि थियो । शालु गीत पनि गाउँथिन् । तर, आफ्ना लागि ठीकठाकै लाग्ने स्वर सांगीतिक क्षेत्रमै जम्ने खालको भने उनी आफैँलाई पनि लागेन । भोकलको माध्यमबाट नभए पनि अन्य कुनै माध्यमबाट संगीतलाई करिअर बनाउने अठोट उनको थियो । त्यसका लागि शालुले रोजिन्– डिजेइङ ।

शालुले पढिन् ल्याब टेक्सियन । छोरी नर्स भएको हेर्न चाहन्थिन् आमा । तर, उनी बनिन् डिजे । शालुलाई अहिले धेरैले ‘डिजे क्विन’का नामले चिन्छन् । उनको रोजाइमा परिवार खासै खुसी थिएन । छोरीले राति क्लबमा गएर काम गरेको परिवारले खासै रुचाएको थिएन । ‘खान्दानमै कसैले नगरेको काम गर्छु भन्दा उहाँहरूले सपोर्ट गर्ने कुरै भएन,’ उनले सुनाइन्, ‘अहिले पनि हाम्रो खान्दानमा मात्र होइन, टोलमै कोही छैन डिजे ।’ समाजमा आफू डिजे भएको कुरा उनी अहिले पनि खुलेर कसैलाई भन्दिनन् । ‘फलानाकी छोरी डिजे’ भनेर कुरा काट्नेको भिडबाट उनी टाढै बस्न रुचाउँछिन् ।



शालुलाई केही वर्ष पहिलेसम्म धेरैले डिजे होइन, महिला डिजे भनेर चिन्थे । उनको नामले बोलाउनेभन्दा पनि ‘केटी डिजे’ भनेर बोलाउँथे । तर, उनलाई समय फेरिएको जस्तो लाग्छ । ‘अहिले महिला–पुरुष जो भए पनि उनीहरूलाई डिजे मात्रै भनेर बोलाउन थालिएको छ,’ उनले भनिन्, ‘वास्तवमा डिजे एउटा प्रोफेसन हो, यसको कुनै जेन्डर हुँदैन ।’

डिजे हुनुभन्दा पहिला नै मोबाइलमा उनी आफूलाई मन परेका गीत मिलाएर राख्थिन् । मन पर्ने र मुडअनुसारका गीत त्यसरी राख्‍न उनलाई मन पर्थ्‍याे । तर, डिजेइङ गर्दा आफूलाई मन पर्ने गीत मात्रै बजाएर हुँदैनथ्यो । आफूसँगै पार्टीमा आएकाहरूको मुड र मनोरञ्जनलाई पनि ध्यान दिनुपर्थ्‍याे । यसका लागि उनले केही समय डिजेइङको क्लास लिइन् । बेसिक कोर्स पूरा भएपछि उनी फिल्डमा उत्रिइन् । क्लब र मान्छेहरू चिन्दै गइन् । पढ्नु र फिल्डमा काम गर्नुमा निकै अन्तर अनुभव भयो उनलाई । ‘डिजे हुनलाई बोल्ड देखिनुपर्छ भन्ने सुनेको थिएँ,’ उनले भनिन्, ‘तर, त्यस्तो होइन रहेछ । मान्छेको बोल्डनेस ऊ महिला हो वा पुरुष भन्ने कुराले फरक नपार्दो रहेछ । जुन क्षेत्रमा पनि आखिर चाहिने त मेहनती मान्छे नै रहेछ ।’

 

ललितपुरको पाटनमा जन्मी-हुर्किएकी शालु महर्जन (२७) लाई सुरुसुरुमा ‘केटी डिजे’ भनेर बोलाउँथे । तर, अब भने उनी ‘केटी डिजे’बाट ‘डिजे’ भएकी छन् ।

 

२० वर्षको उमेरदेखि शालु यो क्षेत्रमा निरन्तर मेहनत गरिरहेकै छिन् । यो क्षेत्रबाहेक अब उनी कुनै क्षेत्रबारे सोच्नै सक्दिनन् । तर, यसबीच यो क्षेत्रमा कुनै चुनौती नै नभएका भने होइनन् । शालुलाई लाग्ने मुख्य चुनौती- धेरैले यसलाई करिअरको रूपमै देख्दैनन् । ‘विदेशमा आफ्नै म्युजिक बनाएर डिजेहरू कार्यक्रमको सिलसिलामा विश्व घुम्छन्,’ उनले सुनाइन्, ‘नेपालमा डिजेइङ भन्नेबित्तिकै क्लबमा रमाइलो गर्न जाने मात्रै बुझ्छन् । यसलाई प्रोफेसनको रूपमै लिइँदैन ।’

यो क्षेत्रमा आउनेलाई उनको एउटै सल्लाह छ- डिजे बनेपछि क्लबमा गएर रमाइलो गर्न पाइन्छ भन्ने सोच छ भने सुरुमै यो क्षेत्रमा प्रवेश नगर्दा बेस हुन्छ । ‘देख्दा जस्तै झिलिमिली संसार देखिएपछि यहाँ चल्ने र बिक्ने भनेको आफ्नै मेहनत हो,’ उनले भनिन्, ‘साथसाथै यो क्षेत्रमा लाग्नका लागि परिवारको साथ र सहयोग पनि उत्तिकै चाहिन्छ ।’

शालुले डिजेइङ सुरु गर्दा महिला डिजेहरू निकै कम थिए । पछिल्लो समय डिजे महिलाहरूको सहभागिता बढेको उनको अनुभव छ । तर, निरन्तरता दिन नसकेर ब्रेक लिनेहरूको संख्या पनि उत्तिकै भएको उनले बताइन् । तर, शालु डिजेइङलाई करिअरका रूपमा अगाडि बढाउन लागिपरेकी छिन् । शालु र उनका केही साथी मिलेर ल्याब रानी स्टुडियो खोलेका छन् । जहाँ डिजे कोर्स गराइन्छ ।

कोभिडले उनीहरूलाई केही समय निकै असर गर्‍यो । रोजीरोटी ठप्प जस्तै भयो । क्लबहरू पूरै बन्द भयो । इभेन्टहरू पनि भएनन् । त्यो समयमा सामाजिक सञ्जालको राम्रो सदुपयोग गरिन् शालुले । टिकटकदेखि युट्युबसम्म आफ्ना भिडियोहरू राखेर अरूलाई यो क्षेत्रप्रति आकर्षित गरिरहिन् । ‘लकडाउनले एकपटक त होपलेस नै बनाएको थियो,’ उनले भनिन्, ‘त्यो बेलामा हामीमात्र होइन विश्वकै डिजेहरू ठप्प भएर बसेका छन् भनेर चित्त बुझायौँ ।’

अहिले क्लबहरू बिस्तारै खुल्न थालेका छन् । शालुलाई इभेन्टहरूबाट पनि निमन्त्रणा आउन थालेको छ । क्लब र इभेन्टहरू उनका दुःख भुलाउने ठाउँ हुन् । ‘क्लबमा मान्छेहरू ह्याङआउट गर्न आइरहेका हुन्छन्,’ उनले भनिन्, ‘त्यस्तो ठाउँमा आफू दुःखी भएर बस्ने कुरा आउँदैन । तर, क्लब यस्तो ठाउँ हो जहाँ बाहिरबाट जस्तो मुडमा छिरे पनि भित्र छिरेर काम गर्न थालेपछि मुड आफैँ फ्रेस हुन्छ ।’

उनका दाजु र भाउजू अस्‍ट्रेलिया बस्छन् । एकपटक दाइकै माध्यमबाट उनी र उनकी आमा अस्‍ट्रेलिया गएका थिए । ‘त्यो बेला नेपालबाट डिजे आएको छ भनेर कसैले हल्ला गरिदिएछ,’ शालुले सुनाइन्, ‘मलाई त्यहाँ डिजेइङका लागि अनुरोध गरियो । त्यहाँको नाम चलेकै क्लबमा समेत मैले बजाउने मौका पाएँ ।’ त्यो भिडमा शालुको परिवार पनि थियो । छोरीले त्यत्रो भिडमा डिजेइङ गरेको दृश्यले उनको परिवारलाई भावुक बनाएको थियो । ‘डिजेका रूपमा परिवारले मलाई पहिलो पटक देखेको थियो,’ उनले भनिन्, ‘त्यहाँ डिजेलाई दिएको सम्मान देखेर उहाँहरू निकै खुसी हुनुभएको थियो ।’ 

यस्तै कुराले उनलाई यो क्षेत्रमा लाग्न अझै हौस्याएको छ । जस्तोसुकै चुनौती आइपरे पनि पछि हट्ने उनको सोच छैन । ‘भविष्यमा कहाँ पुगिन्छ, त्यो त थाहा छैन,’ उनले भनिन्, ‘तर, अहिलेका लागि आफ्नो कामप्रति म निकै सन्तुष्ट छु । जहिलेसम्म सक्छु, यो क्षेत्रलाई केही न केही दिई नै रहन्छु ।’

शालुको डिजेइङ जर्नीले जेन्डरको परम्परागत सोचमा बदलाव त ल्याइदिएको छ नै, करिअरका नयाँ मार्ग पनि प्रशस्त हुँदै छन् ।