सहरमा साइत हेरेर शल्यक्रिया: थाहै नपाई प्रसूति हिंसाको सिकार बन्दै महिला

सामाजिक सञ्जालमध्ये युट्युबमा बढी रमाउँथिन्, रोनिशा । एकदिन ‘रुद्राक्ष टिभी’ नामक युट्युब च्यानलको एउटा एपिसोडमा उनका आँखा अडिए

सुत्केरी छोरी: घरले जाजा, माइतले आआ

बुहारीका लागि घर, कहिलेसम्म ‘पराइ घर’ ?

वैदेशिक रोजगारीले बढ्दो दूरी

सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

घरबाहिर जहाँ पुरुषभन्दा महिला बढी छन्

देशमा पुरुषभन्दा महिलाको संख्या बढी छ

असंवेदनशील अड्डा

महिलाका विभिन्न अवस्था बुझ्ने व्यवस्था खै ?

Thursday, 1 September 2022

लिंग पहिचान गरेर गर्भपतन : समाज एकातिर, कानुन अर्कोतिर

सृजना खड्का |

चैत ९, २०७८ ७:३० बजे
32Shares
sharethis sharing button

मुलुकी अपराध (संहिता) २०७४ अनुसार लिंग पहिचान गरी गर्भपतन गरेमा गर्भपतन गर्ने चिकित्सक र दम्पतीलाई जेल तथा जरिवाना हुने व्यवस्था छ । संहिताको परिच्छेद १३ मा गर्भ संरक्षणविरुद्धको कसुरमा लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई २ देखि ६ वर्षसम्म कैद वा २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख गरिएको छ ।

तर, महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी)का कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठका अनुसार लिंग पहिचान गरेर गर्भपतन गर्ने वा गराउने एक जना पनि कानुनी दायरामा आएका छैनन् । सजायको भागिदार भएका छैनन् । ‘लिंग पहिचान गरेर गर्भपतन गर्ने काम समाजमा भइरहेको छ,’ उनी भन्छन्, ‘तर, दम्पती र चिकित्सक दुबैको मिलेमतोमा हुने भएकाले यस्ता केस प्रायः गुपचुप रहन्छन् । प्रहरी र अदालतसम्म आइपुग्दैनन् ।’ 


अधिवक्ता सुजन पन्त पनि गर्भपतन गर्ने र गराउने दुवैको मिलेमतोमा भएकाले यस्ता घटना हत्तपत्त बाहिर नआउने बताउँछन् । ‘कुनै ठूलै घटना भयो भने मात्र बाहिर आउला नत्र यस्तो घटना प्रहरी र वकिलसम्म आइपुग्न मुस्किल छ,’ उनी भन्छन् । 

स्वास्थ्य अधिकारसम्बन्धी वकालत गर्दै आएकी नर्स दुर्गा सापकोटा पनि यो विषयमा कानुन र समाजबीचमा निकै ठूलो खाडल भएको बताउँछिन् । ‘कानुन समाज नियन्त्रण गर्न बनाइन्छ,’ उनी भन्छिन्, ‘तर, के हाम्रो बनिरहेको कानुनले हाम्र्रो समाजलाई नियन्त्रण गरिरहेको छ त ? समाजमा घटना भइरहदा पनि कानुनी प्रक्रियासम्म कोही पुगेको छैन भने सोच्नुपर्ने देखिन्छ ।’ यो समस्याको समाधानका लागि हाँगाबिगा केलाएर नहुने भन्दै समस्याको जरासम्मै पुग्नुपर्ने उनी बताउँछिन् ।’ 

नर्स सापकोटाको भाषामा कानुन प्राकृतिक न्यायको सिद्धान्त अनुसार हुनुपर्छ । अनि मात्र त्यो कार्यान्वयनमा आउँछ । कानुन बनाउँदा समाजको गति के छ ?, कतातिर गइरहेको छ ? भनेर बनाउनुपर्ने उनी बताउँछिन् । ‘हाम्रो कानुन एउटा दिशातिर गइरहेको छ तर, समाज अर्को दिशातिर लम्किरहेको छ,’ उनी भन्छिन्, ‘प्राकृतिक नियम विपरीत कानुन बनाइयो भने त्यो दिगो हुँदैन, कार्यान्वयनमा आउँदैन ।’

उनका अनुसार जबसम्म समाजमा छोराछोरीबीच हुने विभेद अन्त्य हुँदैन तबसम्म लिंग पहिचानको आधारमा हुने गर्भपतन रोकिँदैन । ‘यहाँ गर्भमा छोरा छ कि छोरी भनेर थाहा पाउनु समस्या होइन,’ उनी भन्छिन्, ‘समस्या ऊ जन्मिसकेपछि समाजले हेर्ने नजरमा छ । त्यो समस्यालाई जबसम्म चिर्दैनौँ लिंग पहिचान गरेर हुने गर्भपतन रोक्नु असम्भव जस्तै छ । हांगाबिगालाई जति काटे पनि जरालाई उखालेर नफ्याँकेसम्म समस्या पलाइरहन्छ ।’

विश्वव्यापी रूपमा लिंग पहिचानका लागि थुप्रै प्रविधि भित्रिसके ‘प्रविधिले फड्को मारेर प्रेग्नेन्ट हुनेबित्तिकै अन्य तरिकाले पनि छोरा हो कि छोरी भनेर थाहा पाउने जमाना आइसक्यो,’ नर्स सापकोटा भन्छिन्, ‘ढिलो–चाँडो ती प्रविधि नेपालमा पनि भित्रिन्छन् । यसलाई नियन्त्रण गर्न सकिँदैन । त्यसैले हामीले प्रश्न टेक्नोलोजीलाई होइन, पितृसत्तात्मक मानसिकतालाई गर्नुपर्छ ।’

डा. लक्ष्मी तामाङ करकापमा परेर होस् वा ललाई फकाई गरेर होस् लिंग पहिचान गरेकी गर्भपती कुनै पनि हालतमा कानुनी उपचारमा नजाने बताउँछिन् । ‘उनीहरू किन उजुरी दिन गएनन् भन्नु नै मूर्खता हो,’ उनी भन्छिन्, ‘पारिवारिक सम्बन्धलाई दाउमा राखेर कुन चाहिँ महिला लिंग पहिचान गरायो भनेर परिवारविरुद्ध मुद्दा हाल्न जान्छिन् ? आफ्नै श्रीमान् र परिवारविरुद्ध मुद्दा लड्दा के ती महिलालाई त्यो घरमा बस्न–टिक्न सजिलो होला ?’

त्यस्तै, कतिपय अवस्थामा दम्पतीले आफैँ सेवा लिइरहेको हुने उनी बताउँछिन् । र, उनीहरू कुनै पनि हालतमा कानुनी उपचारमा नजाने उनको तर्क छ । ‘जो डाक्टरकोमा आफैँ खोजी–खोजी, पैसा तिरीतिरी सेवा लिन गएको छ उसले कसरी उजुरी हाल्छ,’ उनी भन्छिन्, ‘डाक्टर जो आफैँले निजी क्लिनिक खोलेर सेवा दिइरहेका छन् उनीहरू आफैँले म अपराधी हुँ भन्दै जाने त झन् कुरै भएन ।’

यता, डा. एन्जिला थापा लिंग पहिचान गरेर गर्भपतन गराउनुलाई गैरकानुनी भनेर टुङ्गाइएको तर, त्यसभित्रका आयामहरूलाई भने केलाउन बाँकी रहेको बताउँछिन् । ‘हामी पितृसत्तात्मक समाजको संरचनाभित्र छौँ,’ उनी भन्छिन्, ‘जहाँ धन कमाउने र मरेपछि स्वर्गमा लैजाने छोरा नै हो भन्ने मान्यता राखिन्छ । सानो परिवार सुखी परिवार भन्ने मान्यताले पनि धेरैले छोराकै चाहना राख्छन् ।’ 

यसमा दोषी गर्भपतन गर्ने दम्पती वा गराउने चिकित्सकलाई मात्र दिन नमिल्ने उनी बताउँछिन् । ‘छोरी जन्माउँदा र छोरा जन्माउँदा महिलालाई गरिने व्यवहार अहिले पनि फरक छ,’ उनी भन्छिन्, ‘लैंगिक असमानताको कारण धेरैको छनोटमा लिंग पहिचानपछिको गर्भपतन पर्छ ।’

डा. थापा कानुनले जति नै गैरकानुनी भनेपछि भित्रभित्रै यसको अभ्यास भइरहेको बताउँछिन् । ‘कानुन बन्नका लागि मात्र बनेको छ,’ उनी भन्छिन्, ‘समाजमा सबैलाई छोरा चाहिएको छ । तर, कानुन हामीले छोरीलाई सुरक्षा गरिरहेको छौँ भनेर देखाउनेका लागि मात्रै बनेको छ । जसले गर्दा यो कार्यान्वयनको पाटोमा चुकेको छ ।’ उनका अनुसार जसले लिंग पहिचान गरेर गर्भपतन गराउँछ, उसलाई मुलुकी ऐनअनुसार सजाय हुन्छ । तर, चिकित्सकलाई भने मेडिकल काउन्सिलले सजाय दिन्छ ।

कानुनी दायरामा गए पनि यसमा मुख्य सजायको भागिदार गर्भपतन गराउने नै हुन्छ । ‘लगातार तीन–चार जना छोरी पाउने महिला परिवारको नजरमा दोषी हुन्छिन्, छोरा नपाएको भन्दै हिंसामा पर्छिन्,’ उनी भन्छिन्, ‘त्यो हिंसाबाट बच्न भनेर लिंग पहिचान गराउन जाँदा उनी राज्यको नजरमा दोषी हुन्छिन् । अन्तिममा जताबाट पनि पीडित महिला नै हुन्छन् ।’

गर्भपतनसम्बन्धी कानुन महिलाको हितमा नबनेको उनी बताउँछिन् । ‘कानुनले सजायको भागिदार बनाइदिँदा धेरै महिला लिंग पहिचान र गर्भपतन गराउन असुरक्षित केन्द्रतिर धाउँछन्,’ उनी भन्छिन्, ‘सरकारी रेकर्डमा नै नआउने गरी गर्भपतन गराउनुपर्दा त्यो झनै असुरक्षित हुन्छ । सुरक्षित गर्भपतन गराउनेको संख्या घट्छ ।’

यो समस्या समाधानका लागि कुनै पनि बच्चा जन्मिसकेपछि उसलाई दिइने अधिकारलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने नर्स सापकोटा बताउँछिन् । ‘नेपाली समाजका अधिकांश महिलाको छोरा पाउनेबित्तिकै जीवन नै परिवर्तन हुन्छ,’ उनी भन्छिन्, ‘उनलाई गरिने व्यवहार, स्याहार, हेर्ने दृष्टिकोण सबै कुरा परिवर्तन हुन्छ । महिलाहरू जसरी भए पनि आफ्नो जीवन सजिलो बनाउन चाहन्छन् । मानवका रूपमा बाँच्ने अधिकार सुनिश्चित गर्नकै लागि भए पनि उनीहरू त्यतातिर होमिन्छन् ।’

जस्तोसुकै कडा कानुन आए पनि समाजमा लैंगिक विभेदको अन्त्य नभएसम्म यो अभ्यासले निरन्तरता पाइरहने उनी बताउँछिन् । ‘हामीले अहिले पनि छोरा पाउनु र छोरी पाउनुमा फरक छ भनेर बुझिरहेका छौँ,’ उनी भन्छिन्, ‘छोरीलाई धेरै कुराबाट वञ्चित गरेको र बोझका रूपमा लिएको देखेका छौँ । जे भए पनि सन्तान हुन् भन्ने कुरा बुझिसकेको अवस्था छैन । हामीले जहिले छोरा र छोरी जन्मिनुमा केही फरक छैन भनेर बुझ्न सक्छौँ, त्यहिले यो खाल्डो पुरिन्छ । नत्र गैरकानुनी नै भए पनि डाक्टरलाई बिन्ती गरेरै भए पनि गर्छन् । नेपालमा गर्न नमिले विदेशमा गएर भए पनि गर्छन् ।’

नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको झन्डै दुई दशक बितिसकेको छ । गर्भपतनले २०५९ असोज १० बाट कानुनी मान्यता पाएसँगै २०६० मा सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति बनेको थियो । यही नीतिका आधारमा २०७३ देखि सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सेवा दिँदै आएका थिए । २०७५ मा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन जारी भएको थियो । २०७७ मा नियमावली बनेर २०७८ मा सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका जारी भएको थियो ।

महिलाको नछाप्‍ने तर हामीलाई गाली गरेको चाहिँ जति पनि छाप्ने

 कति लडियो, लड्‍नेलाई मात्रै थाहा छ !

अमृता लम्साल |
मंसिर ३, २०७७ १२:५८ बजे




३०—३० स्तम्भ इकागजडटकमको सुरु दिनदेखिको विशेष शृंखला हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि अहिले ठ्याक्कै ३० वर्ष पूरा भएको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता–अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबध्द रूपमा प्रकाशन भइरहेका छन् । यसै सन्दर्भमा नेपालको महिला आन्दोलन, मिडिया र महिला जस्ता विषयमा सञ्चार तथा महिला अधिकारकर्मी अमृता लम्सालको विचार यहाँ प्रस्तुत गरिएको छ : 

नेपाल प्रेस इन्स्टिच्युटबाट मैले २०४८ सालमा पत्रकारिता पढेँ । ५०–६० जना विद्यार्थीमा हामी जम्मा पाँच जना महिला थियौँ । तीमध्ये पत्रकारितामा सक्रिय भएर लाग्ने म मात्रै भएँ । त्यति बेला महिलाले पत्रकारिता गर्नु सजिलो थिएन । 




म पनि, सजिलोसँग यो क्षेत्रमा लागेकी होइन । म काठमाडौँको ‘ठूलो परिवार’की बुहारी थिएँ । घरबाट सजिलै पाइला बाहिर निक्लिने वातावरण थिएन । मेरो कर्म घरमा, छोराहरू त विरलै जागिरे थिए भने, बुहारीले जागिर खानु कति कष्टसाध्य थियो होला ?

विवाह गरेर भित्रिएपछि, सासूले भन्नुभएको दुइटा कुरा अझै बिर्सिएकी छैन । पहिलो, ‘एकजना साथी नलिई घरको कम्पाउन्डबाट बाहिर ननिस्किनू !’ दोस्रो, ‘घरबाट बाहिर निस्किँदा घुम्लुंग खास्टो (ओढ्ने) ओढेर मात्र निस्कनू !’ मतलब, शरीर ढाकेर मात्र घर बाहिर निस्कनू ।

माइतीमा ममी पढेलेखेको हुनुहुन्थ्यो । मैले सम्झिने उमेरदेखि नै घरबाहिर काम गर्नुहुन्थ्यो । हामी पाँच जना छोरी । म जेठी । समाजले छोरी मान्छेलाई नगन्ने ।छोरीको छिटो विवाह गरिदिए टन्टै सकिने भएकाले मेरो सानै उमेरमा बिहे भयो । बिहे गरेर आइसकेको घरमा पढ्ने वातावरण थिएन । तैपनि, प्राइभेट परीक्षा दिएर, आईए पास गरेँ । हुनत, स्कुल पनि जम्मा तीन वर्ष मात्रै पढेर एसएलसी दिएकी हुँ । बीए पनि प्राइभेट परीक्षा नै दिएर सकेँ ।

 

अहिले पनि खुसी हुनुपर्ने अवस्था छैन । 

आईए पास भएपछि जागिर खाने हुटहुटी चल्यो । घरमा यसका लागि ठूलै विद्रोह गर्नुपर्‍यो । पढ्न र जागिर खान बाहिर जाँदा घरका केही सदस्यसँग बोलचाल नै बन्द भयो । यो २०४१ सालको कुरा हो । त्यो समयमा महिलाको स्थिति त्यस्तो थियो । त्यतिबेला, कहाँ महिला अधिकारका कुरा, कताको ‘नारीवाद’ ! मेरी हजुरआमाले ममीले खाएको जागिरमा सधैँ गुनासो गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘मान्छेले कुरा काटे, जागिर छाडेर बस ।’ 

ममीबाहेक, मैले देख्ने मेरो सेरोफेरोमा जागिर खाने महिला कोही पनि थिएनन् । त्यतिबेला, समाचारको स्रोत भनेको, सुन्न रेडियो नेपाल र पढ्न गोरखापत्र मात्र पाइन्थ्यो ।

बाहिरी संसारबारे केही थाहा थिएन । हामीले त्यो बेला बाहिरी संसारसँग ‘एक्सपोज’ नै हुन पाएनौँ । को महिलाले के काम गरे ? कस्तो काम गरे ? केही थाहा हुँदैनथ्यो । कसैको सिको गर्ने वा प्रेरणा लिने मौका त्यो बेला हामीलाई मिलेन । मैले, केटाकेटीदेखि घोकेको वा नबिर्सेको नाम रेडियम पत्ता लगाउने म्याडम क्युरी थिइन् । सिकाइ र बुझाइको दायरा कल्पना नै गर्न नसकिने हदसम्म सीमित थियो । 

तैपनि, घरबाट विद्रोह गरेर जागिर खान गएपछि एक खालको ऊर्जा आयो । विभिन्न तालिमहरूले मलाई थप ऊर्जावान् बनायो । बोल्न सक्ने भएँ । प्रश्न गर्न सक्ने हुँदै गएँ ।

पत्रकारितातिर संयोगवश लागियो । बहिनीले पत्रकारिता पढ्ने विचार गरेपछि उनका लागि साथी जाने क्रममा पत्रकारितातिर लागेँ । नेपाल प्रेस इस्टिच्युटको आठौँ ब्याचमा दश महिने तालिम लिएँ ।

त्यहीँ, शरदचन्द्र वस्तीसँग भेट भयो । ‘केही लेख्न पाए हुन्थ्यो’ भनेर मैले चासो देखाएपछि उहाँले लेख्न प्रोत्साहन गर्नुभयो । उहाँ ‘पुनर्जागरण साप्ताहिक’को सम्पादक हुनुहुन्थ्यो । त्यो बेलासम्म मलाई ‘जेन्डर’बारे ‘जिरो’ नलेज थियो । कनिकुथी लेख्ने कोसिस गर्थेँ । अहिले मृत्युदण्डको विषयमा कुरा चलिरहेको छ । म त्यसको घोर विरोधी हुँ । तर, मैले २०४९ फागुनमा मृत्युदण्ड दिनुपर्छ भनेर लेखेकी थिएँ । 

हरेक हप्ता कुनै न कुनै विषयमा लेख लेख्थेँ । महिलाले पत्रपत्रिकामा लेख्नु त्यो बेला निकै ठूलो कुरा थियो । राजनीतिक पार्टीमा लाग्ने महिलाहरूको भने केही आलेख आउँथे । त्यो कुरा पनि पढेर थाहा पाएकी होइन । पछि २०५६ सालमा सञ्चारिका समूहबाट ‘छापामा महिला’ भन्ने किताब निकालेका थियौँ । त्यो किताब निकाल्दा प्रेस काउन्सिलमा गएर पत्रपत्रिकाको ढड्डा पल्टाएर हेरेका थियौँ । महिलाबारे कसले के–के लेख्दा रहेछन् भनेर १० वर्षको महिला लेखन जम्मा गर्दा, महिला लेखन वा महिलाबारे लेखिने कुरा कति कम थिए भन्ने थाहा भएको हो । 

महिलाबारे खासै केही लेखिएको हुँदैनथ्यो । राजनीतिक पार्टीबाट लेख्ने महिलाहरूले महिलाका कुरा उठाउँथे । तर, राजनीतिज्ञका हिसाबले उठाउँथे । महिलाको विषयका मुख्य मुद्दा अहिले जसरी खासै बाहिर आउँदैनथे ।

२०४५ सालमा ‘अस्मिता’ म्यागेजिन छापिन थालेपछि महिला अधिकारका विषयमा धेरै कुरा छापिन थाले । महिलाको क्षेत्रमा ‘अस्मिता’ कोसेढुङ्गा साबित भयो । अस्मितापछि पनि ऋचा, नवऋचा निस्के । तर, पछिल्ला म्यागेजिन नियमित हुन सकेनन् ।

‘अस्मिता’बाहेक महिलाका कुरा लेख्नेहरूमा बबिता बस्नेत, सुलोचना मानन्धर, गौरा प्रसाईं आदि एउटा हातका औँलामा गन्न सकिने महिला थिए । 
म पनि निरन्तर रूपमा लेख्न थालिसकेकी थिएँ । लेख्दालेख्दै महिलाको विषयमा म नजानिँदो तरिकाले नजिकिन पुगेँ । त्यतिबेला पुरुष लेखककै पनि ‘मधुपर्क’मा कभर स्टोरी छापिनु ठूलो कुरा थियो । मेरो पनि वि.सं. २०४९ मा ‘सडक बालबालिका’बारे मधुपर्कमा कभर स्टोरी छापिएको थियो । त्यसपछि केही समयसम्म ‘मधुपर्क’मा मैले ‘महिला स्तम्भ’ लेखेँ । 

त्यसबखत, महिलाका लेख या महिलासम्बन्धी समाचार छाप्न ठूलै संघर्ष गर्नुपथ्र्यो । कहिलेकाहीँ नछापी नहुने समाचार छाप्न पत्रिकाहरूमा गएर अनुनय–विनय गर्दा वा फोनबाट अनुरोध गर्दा ‘ठाउँ पुगे राखिदिउँला !’ भन्ने जवाफ फर्काउँथे । हत्तपत्त ठाउँ पुग्दैनथ्यो । त्यसको बदलामा भलै बकम्फुसे नै किन नहोस् नेताका भाषण महत्वपूर्ण हुन्थे ।

एकपटक चेलिबेटी बेचबिखनको विषयमा लेख्नुपर्ने भयो । यही क्रममा महिला अधिकारकर्मी दुर्गा घिमिरेसँग भेट्नुपर्ने भयो । त्यो बेला अहिलेको जस्तो हातहातमा मोबाइल थिएन । इमेल–इन्टरनेटको त झनै कुरै नगरौँ । स्टोरी वा समाचारहरू हातले लेखेर अफिससम्म पुर्‍याउन जानुपर्थ्यो  । ल्यान्डलाइनको फोनमा कुरा भएपछि दुर्गा दिदीले समाज कल्याण परिषद्‌मा भेट्न बोलाउनुभयो । त्यहाँ गैरसरकारी संस्थाका थुप्रै महिला तथा पुरुष थिए । गौरी प्रधान, प्रतिभा सुवेदी, डा. शान्ता थपलिया, साहना प्रधान सबैसँग त्यहीँ भेट भयो ।

त्यो बेला अहिलेको जस्तो ४० हजार प्लस एनजीओ थिएनन् । साहना प्रधान, दुर्गा घिमिरे, सुशीला श्रेष्ठ, हिसिला यमी, शशी श्रेष्ठ, डा. शान्ता थपलिया, राधा शर्मा, कल्याणी शाहलगायत गैरसरकारी क्षेत्र र राजनीतिक समूहका महिला मिलेर २०४९ असारमा ‘महिला सुरक्षा दबाब समूह’ गठन भयो ।

समूह गठन हुनुमा बलात्कारको घटनाको देन छ । २०४९ सालमा ठमेलको लजमा नौ वर्षकी बालिकाको बलात्कार भएको घटना बाहिर आयो । योगप्रसाद उपाध्याय त्यसताका गृहमन्त्री हुनुहुन्थ्यो । शशी श्रेष्ठ, हिसिला यमीलगायत महिलाहरूले महिलाको सुरक्षा हुनुपर्‍यो भनेर तत्कालीन गृहमन्त्रीकहाँ ज्ञापनपत्र लिएर जानुभयो । गृहमन्त्रीले ‘बलात्कृत नहुन लामो लामो नङ पाल्ने र खुर्सानीको धुलो बोकेर हिँड्ने’ भनेर पठाउनुभयो । यो जवाफले महिला एकदमै आक्रोशित भएका थिए । त्यसैको फलस्वरूप ‘महिला सुरक्षा दबाब समूह’ गठन भयो । 

त्यो समूह महिलाको हकका लागि अर्को कोसेढुंगा साबित भयो । 

त्यो दबाब समूहमा म पनि स्तम्भ लेखनकै कारणले जोडिन पुगेँ । सुरुका दिनमा, त्यो समूहको कुनै अफिस कोठा थिएन । कहिले कसको, कहिले कसको घर वा संस्थाहरूको अफिसमा बैठक हुन्थ्यो । जब महिलाका विषयलाई सरकारले बेवास्ता गथ्र्यो वा सुन्दैनथ्यो हामी दबाब समूहबाट जुलुस जान्थ्यौँ । धर्ना बस्थ्यौँ । डेलिगेसन जान्थ्यौँ । त्यो फोरम एकदमै सशक्त थियो । सशक्त त्यो अर्थमा कि त्यहाँ सबै राजनैतिक दल र गैरसरकारी क्षेत्रका महिलाहरूको आवाज एकमुख भएर जान्थ्यो । अहिलेको जस्तो हरेक कुरामा राजनैतिक आस्थाका आधारमा विभाजित आवाज थिएन ।

 

‘अलमलिएका अलमस्ता अमृताहरू’ भनेर विचार पृष्ठमै लेख छापियो । 

२०४६ सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराई सरकार प्रमुख हुनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको ‘महिलाविरुध्द हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्नेे महासन्धि–१९७९ (CEDAW) मा हस्ताक्षर गरेर आउनुभयो । त्यतिबेला, भट्टराईको प्रधानमन्त्रित्वमा बनेको सरकारसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अधिकार थियो । त्यो सन्धि २२ अप्रिल १९९१ मा अनुमोदन गरियो । अन्तर्राष्ट्रिय सन्धिपत्रहरूमा हस्ताक्षर, अनुमोदन वा सम्मिलन गर्ने सदस्य राष्ट्रहरूले महिला, पुरुष, तेस्रो लिङ्गी सबैले समान रूपले उपभोग गर्न पाउने गरी आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक एवं राजनीतिक अधिकार उपलब्ध गराउनुपर्ने हुन्छ । त्यो महासन्धिलाई आधार मानेर सरकारलाई घचघचाउन पाइयो ।

त्यतिबेलाको मुलुकी ऐनमा संविधानसँग मेल नखाने २३ ओटा महिलासँग सम्बन्धित व्यवस्था थिए । संविधान लागू भएको पाँच वर्षपछि अर्थात् २०५२ मा सर्वोच्च अदालतले श्री ५ को सरकारको नाममा एउटा आदेश जारी गर्‍यो । एक वर्षभित्र संविधानसँग नबाझिने गरी समानताको आधारमा महिला अधिकारसम्बन्धी कानुन बनाउने भनेर ।

प्रजातन्त्रको पुनर्बहालीपछि मानिसहरू बाहिर जान थाले । बाहिरी देशको खबर थाहा पाउन थाले । सन् १९९५ मा चौथो विश्व महिला सम्मेलन बेइजिङमा हुने भयो । सम्मेलन हुने तय भएपछि नेपालले पनि संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र नाताले भाग लिनुपर्ने ‘बाध्यता’ आइपर्‍यो ।

तर, सरकारले तयारीका लागि चाइँचुइँ गरेन । केवल सम्मेलनमा भाग लिन आफ्ना मान्छे कसलाई कसरी लैजान सकिन्छ भनेर कानेखुसी गर्‍यो । तर, त्यतिबेला सरकार बाहिर रहेका महिला पनि बाह्य संसारको पहुँचमा पुगिसकेका थिए । अहिले जस्तो इमेल, इन्टरनेटको सुविधा नभए पनि अन्तरवैयक्तिक सञ्चार सीपमार्फत विदेश पढेका, विदेशी साथीहरू भएका र कतै न कतैबाट सभा–सम्मेलनमा भाग लिन विदेश पुगेकाहरूले सम्मेलन हुन लागेको कुरा थाहा पाइसकेका थिए । 

महिला सुरक्षा दबाब समूहले गैरसरकारी राष्ट्रिय तयारी समिति गठन गर्‍यो । दबाब समूहबाहेक अन्य महिला समूहहरूले पनि तयारी समिति गठन गरेर काम गर्न थालिसकेका थिए । छलफलका लागि १९९५ जनवरी १६ (२०५१ माघ २ गते ) महिला सुरक्षा दबाब समूहको संयोजकत्वमा नेपाल ल क्याम्पसको हलमा एउटा भेलाको आयोजना गरियो । उक्त भेलाले महिला सुरक्षा दबाब समूहको संयोजक साहना प्रधानको संयोजकत्वमा गैरसरकारी संस्थाहरूको समिति ‘नेपाल नेसनल प्रिप्रेटरी कमिटी’ अर्थात् राष्ट्रिय तयारी समिति, नेपाल गठन गर्‍यो ।

त्यस भेलामा दुई सय १४ वटा गैरसरकारी संस्थाको आबध्दता थियो । बेइजिङ गएर फर्किएपछि १९९५ डिसेम्बर ३ (२०५२ मंसिर १७) मा बाँकी काम महिला सुरक्षा दबाब समूहले सञ्चालन गर्ने निर्णय गरी त्यो समिति औपचारिक रूपमा भंग गरियो ।

बेइजिङ सम्मेलन पनि महिलाको हक–अधिकारको आवाज उठाउने क्षेत्रमा कोसेढुङ्गा नै बनेर आएको थियो । बेइजिङ सम्मेलनले महिलासम्बन्धी विषयलाई ‘क्रिटिकल एरिया अफ कन्सर्न’ भनेर १२ ओटा क्षेत्रमा छुट्याएको थियो ।

सम्मेलनले महिलाको सरोकारका विषय–क्षेत्रलाई १२ बुँदामा छुट्याएको थियो । ती थिए— १. महिला र वातावरण २. शक्ति संरचना र निर्णयात्मक तहमा महिला ३. बालिका ४. महिला र अर्थतन्त्र ५. महिला र गरिबी ६. महिला हिंसा ७. महिला र मानवअधिकार ८. महिला र शिक्षा ९. महिला विकासका लागि संस्थागत संरचना १०. महिला र स्वास्थ्य ११. महिला र सञ्चार १२. महिला र सशस्त्र द्वन्द्व ।

यी विषयसँग सम्बन्धित क्षेत्रमा कार्यरत वा चासो राख्ने व्यक्तिलाई नेपाल राष्ट्रिय तयारी समितिले बेइजिङको गैरसरकारी सम्मेलनमा प्रतिनिधित्व गराउन भरसक कोसिस गरेको थियो । त्यतिबेला नेपालमा सशस्त्र द्वन्द्वको उद्‍भव भइसकेको थिएन । यो विषयमा कसैले प्रतिनिधित्व गरेको जानकारीमा छैन । 

नेपालमा द्वन्द्व पीडित वा द्वन्द्वसँग सरोकार राख्ने व्यक्तिहरू नेकपा माओवादीले २०५२ फागुन १ (१३ फेब्रुअरी १९९६ ) पछि नेकपा माओवादीद्वारा ४० सूत्रीय माग राखेर आन्दोलन थालेपश्चात् मात्रै भएको हो ।

यसरी विभिन्न विषयका सरोकारवालाहरू सरकारी प्रतिनिधि (३७), गैरसरकारी र व्यक्तिगतसमेत गरेर, १९९५ को चौथो विश्व महिला सम्मेलनमा नेपालबाट बेइजिङ पुग्नेहरूको संख्या दुई सय तीन महिला र दुई पुरुष थिए । (दृष्टि साप्ताहिक २०५३ फागुन १४ ‘ढोँग रचेर हिँड्नेहरूको धज्जी उड्यो’) 
यसरी यति ठूलो संख्यामा अन्तर्राष्ट्रिय सम्मेलनमा महिलाहरूले भाग लिएको यो नै पहिलोपटक थियो ।

महिला सुरक्षा दबाबले, सोही वर्षको, महिला दिवसको दिन, ठूलो र्‍याली निकाल्यो । त्यसै दिन, पहिलोपटक ‘प्रजनन अधिकार महिला अधिकार’ भनेर नारा लगायो । ‘महिलामाथि हुने साामाजिक अपराध र हिंसा तत्काल बन्द होस्’, ‘सम्पत्तिमा समान अधिकार, महिला मुक्तिको आधार’, बलात्कार र गर्भपतनसम्बन्धी विधेयक तत्काल पारित गर’, ‘महिला अधिकार, मानव अधिकार’, संविधानसँग बाझिएको प्रचलित ऐन–कानुन तत्काल संशोधन होस्’, ‘राष्ट्रिय महिला आयोग तुरुन्त गठन होस्’, आदि नारा लगाइएको थियो । र्‍यालीमा साहना प्रधान, डा. शान्ता थपलिया, दुर्गा घिमिरे, सुशीला श्रेष्ठ, शशी श्रेष्ठ, सावित्री थापा, प्रतिभा सुवेदी लगायत थुप्रै महिला अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

सोही दिन बिहान, महिलाहरूको मुख बुझो लगाउन रेडियो नेपालले प्रधानमन्त्रीको अध्यक्षतामा ‘बाल तथा महिला आयोग गठन भएको’ घोषणा भएको जानकारी दियो । महिलाहरूको माग ‘राष्ट्रिय महिला आयोग’ थियो । तर, सरकारले, ‘बाल तथा महिला आयोग’ भनेर सरकार हत्तपत्त बाठो हुन खोज्यो । त्यो घोषणा गरिएको ‘बाल तथा महिला आयोग’ कहिल्यै पनि अस्तित्वमा आएन ।

यी सबै विषयसँग सम्बन्धित क्षेत्रमा कार्यरत वा चासो राख्ने व्यक्तिलाई नेपाल राष्ट्रिय तयारी समितिले बेइजिङको गैरसरकारी सम्मेलनमा प्रतिनिधित्व गराउन भरसक कोसिस गरेको थियो । 

महिला समूह तातेपछि सरकारको तर्फबाट सम्मेलनको तयारीका लागि योजना आयोगका भूतपूर्व सदस्य बालगोपाल वैद्यको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भयो । चौथो विश्व महिला सम्मेलनमा नेपाली महिलाहरूको स्थिति जानकारी गराउने उद्देश्यले कन्ट्री रिपोर्ट तयार गरियो । र, सम्बन्धित व्यक्ति तथा निकायबाट सुझाव संकलन गर्न थालियो । तर, ती कार्य गर्न सुरु गरेको केही समयमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य चैतन्यराज मिश्रले सो कमिटी भङ्ग गरी अर्को कमिटीले काम गर्ने जानकारी दिनुभयो । त्यतिबेला पनि, सरकार परिवर्तनसँगै हरेक कुरा परिवर्तन हुने लहर चलिसकेको थियो । अन्तिम अवस्थामा राम्रो तयारी बिना नै सरकारी दलबल बेइजिङ पुग्यो ।

उक्त सम्मेलन विश्वव्यापी रूपमै महिला हक अधिकारको क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो इतिहास थियो । 

हुनत, यसभन्दा पहिले पनि महिला विकास र अधिकारका कुराबारे छलफल नगरिएका होइनन् । तर पनि, संयुक्त राष्ट्रसंघमार्फत विश्वका एक सय ८९ देशका सरकारका प्रतिनिधि, युएन एजेन्सीका प्रतिनिधि, अन्तरसरकारी संस्थाहरू, युरोपियन युनियन र अरब लिगका प्रतिनिधिहरूसमेत गरी १७ हजार सहभागी र ३० हजार महिला अधिकारकर्मीले भाग लिएको सबैभन्दा ठूलो महिला सम्मेलन थियो त्यो ।

१९९५ सेप्टेम्बर ४ देखि १५ सम्म भएको उक्त सम्मेलन संयुक्त राष्ट्रसंघको स्थापनाको ५० औँ वर्षमा आयोजना गरिएको थियो । 

 

अगाडिका पुस्तालाई उहाँहरूले गरेको कामको क्रेडिट नदिने हो भने बेस कसरी बन्छ ? 

गैरसरकारी राष्ट्रिय तयारी समितिले २०५१ फागुन २ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसमक्ष ‘१३ सूत्रीय सुझावपत्र’ पेस गर्‍यो । उक्त सुझावपत्रमा यी कुरा थिए :  

१. सन् १९९२ मा नेपालले संयुक्त राष्ट्रसंघको महिलाउपर हुने भेदभाव निर्मूल महासन्धिमा हस्ताक्षर गरी त्यसप्रति आफ्नो प्रतिबध्दता दर्साइसकेको कुरा सराहनीय हो । उक्त सन्धिपत्रमा हस्ताक्षर गरेका मुलुकले दुई वर्षभित्र प्रारम्भिक प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पठाइ सक्नुपर्नेमा हालसम्म पनि सो प्रतिवेदन नपठाएकाले तत्काल पठाउनुपर्ने ।

२. संविधानमार्फत बाझिएका प्रचलित ऐन–कानुन तत्कालै संशोधन गर्नुपर्ने : क) सम्पत्तिसम्बन्धी कानुन । ख) अंशबण्डा, अपुताली, स्त्री अंश धन ग) भूमिसम्बन्धी ऐन घ) विवाहबारी ङ) धर्मपुत्र च) सम्बन्ध विच्छेद छ) नागरिकता ऐन ज) जीउ मास्ने–बेच्ने कार्य नियन्त्रण ऐन झ) जबरजस्ती करणी ।
उपर्युक्त ऐन र महलमा मौजुद रहेका असमान कानुनका दफामा तत्काल संशोधन गरिनुपर्दछ ।

३. महिलाहरूका मुद्दा हेर्न एउटा छुट्टै, ‘राष्ट्रिय महिला आयोग’ तत्काल गठन हुनुपर्दछ ।

४. हाल महिलाहरूमाथि हुने सामाजिक अपराधका घटनाहरूमा तीव्र रूपमा वृध्दि भइरहेकाले उक्त घटनाहरूको रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने विशेष गरेर बलात्कार र चेलीबेटीको देह व्यापारको घटनाहरूमा तीव्र वृध्दि भइरहेकोले यस्ता घटनाहरूको नियन्त्रणका लागि सम्बन्धित निकायलाई सक्रिय बनाउने ।

५. सञ्चारका विभिन्न माध्यमहरूले अझै महिलाको छविलाई सकारात्मक रूपमा प्रस्तुत नगरेको, महिलाको नकारात्मक छवि प्रस्तुत गरिने पत्रपत्रिका विज्ञापन, लगायत अन्य सबै प्रचारप्रसार माध्यमको नियन्त्रण गर्ने ।

६. अझै पनि शक्ति संरचनाको विभिन्न क्षेत्रमा (निर्णायक तहमा) महिलाहरूलाई समानुपातिक रूपमा समावेश गर्ने प्रक्रियाको थालनी नभएकाले तत्कालै यी महत्वपूर्ण तहमा महिलाहरूलाई समावेश गरिनुपर्ने ।

७. अझै पनि प्रत्यक्ष अर्थ उपार्जनको कार्यमा महिलाहरू समावेश गर्ने खालका रोजगारीका अवसर उपलब्ध देखिँदैन । महिलाहरूको सीप र दक्षता वृध्दि गरी प्रत्यक्ष रोजगारीमा समानुपातिक रूपमा सहभागी गराउनुपर्ने ।

८. अझै पनि महिलाहरूले गरेका दैनिक कार्यहरूको सही मूल्याङ्कन नगरी अनुत्पादक रूपमा लिइएकाले ती कामलाई आर्थिक उपार्जनको कार्यका रूपमा लिइनुपर्ने ।

९. संसद्को छैटौँ सदनमा प्रस्तुत गरिएको बलात्कार र गर्भपतनसम्बन्धी विधेयक तत्काल पारित हुनुपर्ने ।

१०. बादी, कमैया, झुमा, देउकीलगायत अन्य पिछडिएका तथा दलित महिलाका लागि सरकारले घोषित गरेका कार्यक्रम तत्काल लागू गरिनुपर्ने ।

११. पारिवारिक सुरक्षाका लागि ‘डोमेस्टिक भायलेन्स एक्ट’ ल्याइनुपर्ने र पारिवारिक मर्यादा कायम राख्ने ‘फेमिली कोर्ट’ बनाइनुपर्ने ।

१२. माथि उल्लिखित विभिन्न क्षेत्रमा महिलाहरूको उल्लेखनीय सहभाागिता वृध्दिका लागि सरकारले चाहिने आवश्यक पूर्वाधार तयार गर्नुपर्ने ।

१३. सञ्चारमा महिलाको भूमिकाबारे नेपालको सरकारी क्षेत्रबाट तयार पारिएको कन्ट्री रिपोर्टमा केही पनि तथ्य उल्लेख नभएको हुँदा थप गरिनुपर्ने । 
यो सुझावपत्र बुझाउन जाँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले भन्नुभएको थियो, ‘महिलाको कुरा आउँदा राजनैतिक पूर्वाग्रहभन्दा माथि राखेर हेरिनु पर्दछ । यसका लागि तपाईंहरू आफैँले सबैतर्फका महिलाहरूको प्रतिनिधित्व हुने गरी टास्क फोर्स गठन गर्नुपर्दछ । (स्रोत : साप्ताहिक पुनर्जागरण, २०५१ चैत ११ ‘यहाँ राजनैतिक पूर्वाग्रह कतै छैन’ लेखक, लेखक : अमृता बाँस्कोटा)

उपरोक्त सुझावपत्र पनि बेइजिङले चौथो विश्व महिला सम्मेलनका लागि बनाएको १२ बुँदे ‘क्रिटिकल एरिया अफ कन्सर्न’लाई ध्यानमा राखेर लेखिएको थियो ।
महिला सुरक्षा दबाब समूहले महिला अधिकारका लागि महत्वपूर्ण भूमिका खेलेको तथ्य विगतका लेखहरूबाट पाइन्छ । हुनत त्यतिबेला अहिलेका जस्ता च्याउ उम्रिएसरि संस्था थिएनन् । सजिलैसँग सूचना संकलन या प्रवाह गर्न सकिने माध्यम पनि थिएन । पत्रपत्रिकामा महिला वा महिलाका विषयका समाचारहरू विरलै छापिन्थे । 

त्यस बखतको महिलाहरूको आन्दोलन विशेषतः महिलाहरूप्रति विभेदकारी रहेका कानुनहरू खारेज गर्ने, महिलाहरूका लागि सकारात्मक वातावरण तयार गर्ने नीति–नियममा जोड दिने हिसाबले अगाडि बढेको देखिन्छ ।

यसै सन्दर्भमा सम्मेलनका लागि बनेको कोअलिसन तयारी समिति भंग हुनुभन्दा केही दिन पहिले २०५२ मंसिर ४ गते, महिला सुरक्षा दबाब समूहको प्रतिनिधि मण्डलले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष १४ सूत्रीय माग राखेर एक स्मृतिपत्र बुझाएको थियो ।

उक्त स्मृतिपत्रमा निम्न बुँदा  थिए :

१. महिलाहरूको मुद्दाहरूलाई गम्भीर रूपमा हेर्न र महिला हक, हित र अधिकार प्राप्तिका लागि समर्पित महिला व्यक्तित्वहरूको एउटा छुट्टै अधिकार सम्पन्न स्वतन्त्र राष्ट्रिय महिला आयोग तत्काल गठन हुनुपर्छ ।

(स्मरणीय छ, २०५१ फागुन २४ गते रेडियो नेपालमार्फत जानकारी गराइएको ‘बाल तथा महिला परिषद्’ त्यतिबेलासम्म कता कुन अवस्थामा थियो, कसैलाई जानकारी भएन ।)

२. सन् १९९२ मा नेपालद्वारा हस्ताक्षरित संयुक्त राष्ट्रसंघको महिलाउपर हुने सबै प्रकारका भेदभाव निर्मूल गर्ने महासन्धिअनुसार दुई वर्षभित्र प्रारम्भिक प्रतिवेदन पेस गरिसक्नुपर्नेमा हालसम्म पनि सो कार्य नभएको जानकारीमा आएकाले तत्काल सो प्रतिवेदन संयुक्त राष्ट्रसँगमा पठाउनुपर्ने ।

३. सर्वोच्च अदालतबाट समेत आदेश जारी भइसकेको महिलाउपर हुने भेदभावपूर्ण र संविधानसँग बाझिएका सम्पूर्ण ऐन–कानुनहरू तत्काल खारेज गरी समतामूलक नयाँ ऐन–कानुनको तर्जुमा गर्नुपर्ने । (नोट : यस सम्बन्धमा, ‘संविधानको धारा १ बमोजिम संविधानसँग बाझिएको कानुन संविधानको धारा ८८ (१) बमोजिम बदर गरी पाऊँ’ भनेर निवेदक मीराकुमारी ढुङ्गाना र मीरा खनालले २०५० जेठ १८ गते सोमबार सर्वोच्च अदालतमा चढाएको निवेदनपत्रको पेशी २०५२ जेठ ४ गते बहस हुनुपर्ने थियो । तर, उक्त पेशी सर्‍यो । सो बहुचर्चित पेशीले सबैभन्दा बढी चर्चा पैतृक सम्पत्तिमा छोरीको अधिकारले पाएको थियो ।)

४. महिलाहरूको राजनैतिक सहभागिता वृध्दि गर्नका निमित्त स्थानीय तहदेखि नै कम्तीमा २५ प्रतिशत महिला उम्मेदवारी सम्पूर्ण पार्टीहरूले अनिवार्य रूपमा उठाउनुपर्ने कानुनी प्रावधान बनाउनुपर्ने ।

५. संसद्को छैटौँ सदनमा प्रस्तुत गरेको जबर्जस्ती करणी र गर्भपतनसम्बन्धी विधेयक पुनः ल्याउनुपर्ने आदि ।

(स्रोत : ‘महिलाहरूको माग नाजायज छैन’ पुनर्जागरण साप्ताहिक, २०५२ मंसिर १२ लेखक : अमृता बाँस्कोटा )

यसरी पटकपटक माग राख्दै धर्ना दिँदा महिलाका हक र अधिकारमा संघर्षरत महिला कहिल्यै थाकेनन् । सरकारले राष्ट्रिय र अन्तरराष्ट्रिय दबाब थेग्न नसकेर २०५२ असोज ६ गते ‘महिला तथा समाज कल्याण मन्त्रालय’को स्थापना गर्‍यो । जसलाई २०५७ मा नाम परिवर्तन गरी ‘महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय’ नामकरण गरियो । २०७५ सालदेखि सो मन्त्रालयलाई ‘महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय’ भनिन्छ ।

 

सिकाइ र बुझाइको दायरा कल्पना नै गर्न नसकिने हदसम्म सीमित थियो । 

यसरी, महिलाहरूको हक र अधिकारका लागि लड्न खुट्टा टेक्ने माध्यम, पहिलो ‘महिलाउपर हुने सम्पूर्ण भेदभाव निर्मूलन महासन्धि’ र दोस्रो ‘चौथो विश्व महिला सम्मेलन’ थियो ।

उक्त सम्मेलनमा नेपालबाट सरकारी प्रतिनिधि मण्डलको अध्यक्षता साहना प्रधान र गैरसरकारी प्रतिनिधि मण्डलको संयोजकत्व महिला अधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत, डा. शान्ता थपलिया र दुर्गा घिमिरेले गर्नुभएको थियो ।

सम्मेलन सकियो । तयारी समितिहरू भंग गरिए । सन् १९९५ को सुरुतिर महिला अधिकारको क्षेत्रमा कार्यरत अञ्जना शाक्य, सुशीला श्रेष्ठ, शोभा गौतम, अरुणा उप्रेती र म मिलेर बेइजिङबाट प्राप्त सूचना प्रवाह र फलोअपसमेत गर्ने उद्देश्यले बियोन्ड बेइजिङ कमिटी नामक लुज नेटवर्क गठन गरियो । त्यसैलाई १९९६ को सुरुमा बढाएर ११ जना बनाइयो । यस कमिटीको उद्देश्य महिला मन्त्रालयसँग मिलेर बेइजिङको १२ बुँदे अवधारणा तत्कालीन श्री ५ को सरकारले सम्मेलनमा जनाएको छ वटा प्रतिबध्दतालाई जनसमक्ष पुर्‍याउने, त्यसको निरन्तर अनुगमन गर्ने, सरकारलाई आफूले गरेको प्रतिबध्दता पूरा गर्न दबाब दिने थियो । 

यसका लागि महिला मन्त्रालयसँग मिलेर राष्ट्रिय स्तरमा एउटा सम्मेलन गर्ने निर्णय गरियो । बियोन्ड बेइजिङ कमिटीका प्रतिनिधिहरू सो प्रस्ताव लिएर मन्त्रालय पुगे । त्यहाँ महिला मन्त्रालयका तत्कालीन सचिव, मन्त्रालयका तीनैजना सल्लाहकार र उपसचिव ईश्वरी भट्टराईको समेत उपस्थिति थियो । उक्त बैठकले उक्त सम्मेलन गर्न सचिवालयका लागि फोन–फ्याक्सको सुविधासहितको स्थान, मन्त्रालयमै उपलब्ध गराउने प्रतिबध्दता जनायो । र, मन्त्रालयको प्रतिनिधिसमेत राखेर अर्को कमिटी बनाइयो । 

करिब तीन महिना बित्यो । तर, काम अगाडि बढेन । त्यत्तिकैमा एकदिन ‘मन्त्रीज्यू कुरा गर्न चाहनुहुन्छ, मन्त्रालय आउनू !’ भनेर फोन आयो । कमिटीका प्रतिनिधिहरू त्यहाँ पुगे । त्यहाँ बेइजिङ जाने अरु महिलाहरू पनि बोलाइएको रहेछ । 

 

महिलाका सकारात्मक समाचारले स्थान पाउँदैनथे । गाली–गलौजले भरिएका लेख आउँथे ।

त्यहाँ पुगेर छलफलपछि थाहा भयो— मन्त्री र तत्कालीन सचिवको मतभेदका कारण पहिले मिटिङमा भएका कुराहरू मन्त्रीलाई चित्त बुझेको रहेनछ । मन्त्रालयसँग मिलेर काम गर्ने योजना, त्यसै तुहियो । बियोन्ड बेइजिङ कमिटीका सदस्यहरू आफैँ खटेर, ‘मिनी बेइजिङ सम्मेलन’ गराइछाड्ने निधो गरे ।

सम्मेलनका लागि काम गर्न सचिवालयका लागि कोठा इनहुरेड इन्टरनेसनलले आफू बसेकै भवनमा निःशुल्क उपलब्ध गराउने भएको थियो । कारण इन्हुरेड इन्टरनेसनलको महिला विभागकी प्रमुख अञ्जना शाक्य, जो बियोन्ड बेइजिङ कमिटीको सदस्य र गर्ने भनिएको सम्मेलनको संयोजकसमेत थिइन् । 

तर फेरि अर्को समस्या आइलाग्यो इन्हुरेड इन्टरनेसनलभित्रको खिचातानी र मतभेददले उक्त संस्थामा ठूलै भुइँचालो ल्यायो । असन्तुष्ट पक्षले डोनर एजेन्सीलगायत धेरै ठाउँमा पत्र पठाएर ‘बियोन्ड बेइजिङ कमिटी’लाई साथ नदिन अनुनय विनय गर्दै हिँडे ।

खासमा, कमिटीले उक्त सम्मेलन बेइजिङ सम्मेलनको ठीक एक वर्षको अवसर पारेर ३० अगस्ट या सेप्टेम्बर ४ मा गर्ने सोच राखिएको थियो । तर, त्यो गर्न सकिएन ।

यस्ता, त्यस्ता सबै चुनौतीको बाबजुद, २०५३ फागुन ४ देखि ७ गतेसम्म, बियोन्ड बेइजिङ कमिटीको संयोजकत्वमा जाउलाखेलको स्टाफ कलेजमा भव्य रूपले ‘मिनी बेइजिङ सम्मेलन’ सम्पन्न गराएरै छाडियो ।

उक्त सम्मेलनमा ७१ जिल्लाको प्रतिनिधि, ११ देशका पर्यवेक्षक, पद्मकन्या कलेज, सेन्ट जेभियर कलेज आदि गरेर ८ सय जनाको सहभागिता थियो । त्यसताका, महिलाका सकारात्मक समाचारले अखबारका पन्नाहरूमा कतै स्थान पाउँदैनथे । बरु, गाली–गलौजले भरिएका लेख छापिन्थे । त्यतिबेला, मुलुकी ऐनमा भएको २३ ओटा भेदभावपूर्ण कानुन खारेज हुनुपर्ने कुरा उठाएका थियौँ । तर, छोरीलाई सम्पत्तिको अधिकार दिनुपर्ने कुरा मात्र चर्कियो ।

सम्पत्तिको अधिकार पाउनुपर्ने कुरामा नेतृत्व लिने डा.शान्ता थपलियाको चरित्रहत्या गर्ने धेरै कोसिस गरियो । उहाँ अहिले बितेर जानुभयो । तर, उहाँमाथि लागेका आक्षेपहरू सम्झिएर अहिले पनि दुःख लाग्छ । ‘डलर खाएर उफ्रेकी’ भनेर धेरैले भने । उहाँको पतिको दोस्रो विवाह रहेछ । पहिलो श्रीमतीबाट सन्तान नभएर उहाँको मागी विवाह भएको रहेछ । तर, ‘सौतामाथि पोइल गएकी’ भनेर पत्रपत्रिकामा आर्टिकल समेत आए । 

 

योगप्रसादले ‘बलात्कृत नहुन लामो लामो नङ पाल्ने र खुर्सानीको धुलो बोकेर हिँड्ने’ भनेर पठाउनुभयो ।

२०५२ माघ १६ गते मेरोबारे पनि ‘अलमलिएका अलमस्ता अमृताहरू’ भनेर कान्तिपुर दैनिकको विचार पृष्ठमा लेख छापियो । जबकि, हामीले लेखेका कुरा छाप्न स्तर छैन भन्थे । तर, हामीलाई गाली गरेको चाहिँ जति पनि छाप्थे ।

मिडियाको क्षेत्रमा ‘सञ्चारिका समूह’भन्दा पहिला महिलाका लागि कुनै फोरम थिएनन् । गौरी केसी, शोभा गौतम, प्रेमकुमारी पन्त, बन्दना राणा, उषा लोहनी, बबिता बस्नेत, माया ब्लोन, कविता शेरचन र म मिलेर सञ्चारिका समूह दर्ता गर्‍यौँ । 

सिंहदरबारमा सञ्चार मन्त्रालय थियो । धेरैपटक सञ्चार मन्त्रालयमा धाएपछि पनि दर्ता भएको थिएन । पत्रकार पुष्प अधिकारीलाई अनुरोध गरेर उहाँसँग परिचित सोफिया शर्मालाई गुहारेर विधानमा लेखेका प्रावधान काटकुट र थपथाप पारेर बल्लतल्ल दर्ता गरिएको थियो । 

संविधानका हक : कागजी बाघ

दिगो विकासका लक्ष्य (एसडीजी)ले लैंगिक समानतामा केही कुरा राखेको छ । लैंगिक समानता हासिल गर्ने र सबै महिला किशोरी र बालिकालाई सशक्त बनाउने भनेर एसडीजीमा उल्लेख गरेको छ । लैंगिक समानताको हिसाबमा हामी आज यहाँसम्म आइपुगेका छौँ ।

अहिलेका पुस्ताका मानिसहरू यत्तिकै सबै कुरा भयो जस्तो गर्छन् । तर, यसका लागि कति लडियो, लड्नेलाई मात्रै थाहा छ ।

पहिला ३५ वर्ष नपुगेका महिलालाई पासपोर्ट लिने बेला कि श्रीमान् कि बुबाको अनुमति चाहिन्थ्यो । पछि त्यसलाई संशोधन गरेर ११ ओटा नातामा सीमित गरेको थियो । त्यसमा भाइ पनि उल्लिखित थियो । तर, दिदी वा आमा कतै थिएनन् ।

बीस वर्ष पहिलेको एउटा अनुभव सुनाउँछु । २०५७ साल चैतको कुरा हो । म मेरो छोरालाई लिएर अमेरिका जान लागेकी थिएँ । ऊ १३ वर्षको थियो । नागरिकता थिएन । पासपोर्ट बनाउन नाता प्रमाणित गर्नुपर्ने भयो । मैले उसलाई जन्माएको टिचिङ अस्पतालको जन्मदर्ताको कागज लिएर गएँ । तर, मेरो छोरा र मेरो नाता प्रमाणित भएन । उसको बुबाकै नागरिकता चाहियो । एउटी आमाले आफ्नैै छोरासँगको नाता प्रमाणित गर्न महाभारत खेप्नुपर्दा कतिसम्म अपमानित महसुस भयो होला ? त्यही पनि, विवाहेतर सम्बन्धमा जन्माएको सन्तान पनि होइन । त्यो राज्यले महिलालाई कति धेरै अपमानित गर्थ्यो भन्ने एउटा उदाहरण मात्र हो यो।

तर, अहिले पनि खुसी हुनुपर्ने अवस्था भने छैन । अहिले पनि नागरिकताको कुरा उस्तै छ । २०७२ सालको संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ भनेको छ । संविधानले प्रजनन, शिक्षा, सुरक्षित मातृत्व, सम्पत्तिको हकको पनि कुरा गरेको छ । तर, ती सबै कुरा ‘पेपर टाइगर’ अर्थात् कागजी बाघमा सीमित छन् ।

इतिहासमा हराइयो महिलालाई

महिलाले त्यो बेला गरेका कामबारे अहिले खोज्न हिँड्ने हो भने केही पाइँदैन । महिलाको विषयमा लेखिएका कुराहरूको ‘डकुमेन्टेड हिस्ट्री’ पनि छैन । केही समयअघि नेवार भाषाको पहिलो कवि नारायणदेवी श्रेष्ठबारे लेख्दै थिएँ । उहाँले दरबार हाइस्कुलमा पढ्नुभएको रहेछ । तर, त्यो कुरा धेरैले स्वीकार गरेनन् । 
पछि थाहा भयो, उहाँ दरबार स्कुलमै पढ्नुभएको रहेछ । दरबार स्कुलबारे बुझ्न सरदार भीमबहादुर पाँडेका किताब पल्टाएँ । किताबको पृष्ठ १८ मा दरबार हाइस्कुलबारे लेखिएको छ । तर, त्यसमा महिलाको ‘म’ पनि आएको छैन । लड्काहरूले यस्तो गर्थे । लड्काहरू यहाँ जान्थे । यो खान्थे भन्ने कुरा मात्र उल्लेख गरिएको छ । महिलाको इतिहासलाई यसरी जताततै हराइएको  छ ।

 

समाजमा सुरक्षा छैन भने जति नै फेमिनिस्ट भए पनि के गर्नु ? 

परिवर्तन ल्याउन महिलावादी नै हुनुपर्छ । महिलावादको ट्याग लगाएरै हिँड्नुपर्छ भन्ने छैन । समाजमा सुरक्षा छैन भने जति नै फेमिनिस्ट भए पनि के गर्नु ? आफ्नो बाटो हिँड्दा पनि समाज सुरक्षित छैन भने आफू सुरक्षित हुन सकिँदैन ।

आजभन्दा २५ वर्षअघि नेपालगञ्जबाट काठमाडौँ आउँदा रातको एक बज्यो । सुन्धाराबाट ट्याक्सी चढेर १ बजे एक्लै बानेश्वर आएकी थिएँ । ती दिनहरूमा, रातिको ९–१० बजे निष्फिक्री भएर हिँडेकी छु । त्यो बेला झन् जवान थिएँ । तर, डर लाग्दैनथ्यो । अहिले उमेर ढल्क्यो । तर, साँझ पर्नेबित्तिकै बाहिर निस्किन डर लाग्छ । 
त्यो बेलामा पनि अपराध नहुने होइन । तर, अहिले जस्तो थिएन । छिमेकमा सबैले एकले अर्कालाई चिन्थे । अहिले एउटै घरमा बसेकालाई पनि एकअर्काले चिन्दैनन् । कानुन पनि नभएको होइन । तर, भएको राम्रोसँग लागू हुन सकेको छैन । जुनसुकै मुद्दालाई पनि राजनीतिले छपक्कै छोप्छ ।

पहिलाको पुस्ताले धेरै कुरा दिएको जस्तो लागे पनि अहिलेको पुस्ता त्यसमा सन्तुष्ट नहुन सक्छन् । हामी पनि, हाम्रा अग्रजको भन्दा बढी अधिकार र सुख–सुविधा चाहन्थ्यौँ । दुई पुस्ताबीच सधैँ जेनेरेसन ग्याप हुन्छ । त्यसैले, सबैले आफूले जे कुरा पाइएन, त्यो आफ्ना छोराछोरीलाई दिने कोसिस गरेका हुन्छन् । 

एउटा पुस्ताले अर्को पुस्तालाई सम्मान गर्नुपर्छ । मैले आफूभन्दा अगाडिका पुस्तालाई उहाँहरूले गरेको कामको क्रेडिट नदिने हो भने बेस कसरी बन्छ ? घर बनाउन पनि जग त चाहिन्छ । जगबिना छानो हाल्न सकिन्छ र ? 

मंगलादेवी सिंह, साहना प्रधान, चन्द्रकान्ता मल्ल आदि नभएको भए हामी यहाँ हुँदैनथ्यौँ । हामीले फेरि सुरुदेखि नै आवाज उठाउनुपथ्र्यो । उहाँहरूले नै चालेको ठाउँबाट फेरि पाइला चाल्नुपथ्र्यो । चिल्लो बाटोमा गाडी गुड्न पहिला गोरेटो खन्नुपर्छ । त्यसपछि डोजर लगाउनुपर्छ । अनि पिच गरेपछि मात्र बल्ल गाडी गुड्छ । 
पहिलाको जेनेरेनसले महिला अधिकारको क्षेत्रमा गोरेटो कोर्ने काम गरेको छ । त्यसलाई कतातिर लैजाने अहिलेका पुस्ताको हातमा छ ।

(अधिकारकर्मी लम्सालसँग सृजना खड्काको कुराकानी )

१० वर्षमुनिका बालक बलात्कारका पीडक

सृजना खड्का |

चैत ४, २०७८ ९:१० बजे
77Shares
sharethis sharing buttonकाठमाडौँ- १० वर्षमुनिका बालक बलात्कारका पीडक ! सुन्दा अचम्म लाग्छ । तर, यो वास्तविकता हो । प्रहरी प्रधान कार्यालयको साढे चार वर्षको तथ्यांकमा १० वर्ष मुनिका २१ जना बालक बलात्कारको पीडक रहेको पाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार यस्ता केसहरूमा बालकमाथि मुद्दा चलाउन मिल्दैन । ‘कानुनी रूपमा १० वर्षमुनिका बालबालिकालाई मुद्दा चलाउन मिल्दैन,’ उनले भने, ‘मुद्दा चलाउन नमिल्ने भएर सम्झाईबुझाई गरेर अभिभावकको जिम्मा लगाउने गरिएको छ ।’

मुलुकी फौजदारी संहिता २०७४ ले १० वर्षमुनिका बालबालिकालाई अपराधका लागि सजाय योग्य मान्दैन । ११ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई भने बढीमा ६ महिना सुधार गृहमा राख्ने अदालती आदेश हुन सक्छ । त्यस्तै, १५ वर्षभन्दा माथिका किशोरकिशोरीलाई भने वयस्कसरह कानुनी कारबाही हुने व्यवस्था छ ।

तथ्यांकमा के छ ?
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा १० वर्षमुनिका एक जना बालक बलात्कारको पीडक भएको देखिन्छ । उनी बागमती प्रदेशबाट भएको तथ्यांकले देखाउँछ  । 
आव ०७५/७६ मा १० वर्षमुनिका आठ जना बालक पीडक भएको तथ्यांकले देखाउँछ । जमध्ये प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा एक–एक जना, बाग्मती प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना भएको देखिन्छ । 

आव ०७६/७७ मा १० वर्षमुनिका पाँच जना बालक बलात्कारको पीडक भएको तथ्यांकले देखाउँछ । जसमा लम्बिनी प्रदेशमा दुई जना र उपत्यकामा तीन जना बालक बलात्कारको केसमा पीडक छन् । आव ०७७/७८ मा १० वर्षमुनिका चार जना बालक पीडक छन् । जसमध्ये प्रदेश १ र लुम्बिनी प्रदेशमा दुई–दुई जना भएको देखिन्छ । चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकमा ३ जना बालक पीडक भएको देखिन्छ । जसमध्ये प्रदेश १ का एक जना र उपत्यकाबाट दुई जना रहेका छन् । 

प्रमुख कारण : पारिवारिक वातावरण 
मनोविद् करुणा कुँवर बलात्कारको घटनामा बालबालिका कस्तो परिवार र माहोलमा हुर्किएका छन् त्यसले फरक पार्ने बताउँछिन् । ‘ठूलो हुने बेलासम्म कतिपयले बालबालिकालाई आफूसँगै सुताउँछन्,’ उनी भन्छिन्, ‘बुवाआमाको क्रियाकलाप देखिरहेका हुन्छन् । यसले उनीहरूलाई जिज्ञासु बनाउँछ । देखेको एक्सपेरिमेन्ट गर्न खोज्दा उनीहरू अपराधको घेरमा पर्न सक्छन् ।’

बच्चालाई बलात्कारीको नाम दिनु राम्रो नभएको मनोविद् कुँवर बताउँछिन् । ‘बच्चाहरूको केसलाई केलाउँदा हामीले विचार गर्नुपर्छ, संवेदनशील हुनुपर्छ,’ उनी भन्छिन्, ‘आमाले लिपस्टिक लगाएको देख्दा बच्चाहरूले पनि त्यो सिको गर्न खोज्छन् । उनीहरूले जान्‍न खोज्छन् तर, त्यसको नतिजाबारे थाहा नहुन सक्छ ।’ बालबालिकाले जस्तो वातावरण पाउँछ उसको बालमनोविज्ञान त्यस्तै बन्‍ने उनी बताउँछिन् । 

प्रत्येक अभिभावकले आफ्ना बालबालिकाले गर्ने गतिविधिलाई निगरानी गर्नुपर्ने उनको सुझाव छ । ‘उनीहरूलाई कसैले फिल्म देखाइदिएको हुन सक्छ, इन्टरनेटमा आफैँले पनि खोजेर हेरेका हुन सक्छन्,’ उनी भन्छिन्, ‘आफ्ना बालबालिका के बोलिरहेका छन्, कहाँ गइरहेको छन्, के हेरिरहेका छन् यस्ता कुरामा अभिभावकले विचार पुर्‍याउनुपर्छ ।’ 

 

प्रहरी प्रधान कार्यालयको साढे चार वर्षको तथ्यांकमा १० वर्ष मुनिका २१ जना बालक बलात्कारको पीडक रहेको पाइएको छ ।

मनोविश्लेषक वासु आचार्यको हुर्काइलाई दोष दिन्छन् । ‘सानैदेखि अभिभावकले फरक यौन अंग हुनेलाई गर्ने फरक व्यवहार गरेको बालबालिकाले नियालिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘दिदीबहिनीलाई कम आफूलाई धेरै माया गरेको देखिरहेका हुन्छन् । सानैदेखि बालकले बालिका कमजोर आफू बलियो भन्‍ने मानसिकता बोकेर हुर्केको हुन्छ । यो त्यसकै उपज हो ।’ हुर्किंदै जाँदा त्यो बालकमा दम्भ भाव उत्पन्‍न हुने उनी बताउँछन् । ‘त्यसपछि उनीहरूले पेल्नुपर्छ, हेप्नुपर्छ भनेर सिक्न थाल्छन्,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा भने बालकसँग अरु कसैले यौनजन्य क्रियाकलाप गरेको भएर पनि उनीहरूले अरुलाई त्यसो गरेको हुन सक्छ ।’ 

यस्तो अवस्थाका जनचेतना नै समस्याको समाधान भएको मनोविश्लेषक आचार्य बताउँछन् । ‘बालबलिकालाई यौन, समानता र सम्मानजनक व्यवहारबारे सिकाउनुपर्छ,’ उनी भन्छन्, ‘अभिभावकहरूलाई पनि यो विषयमा जनचेतना फैलाउनुर्छ । घरमा बालमैत्री वातावरणको निर्माण गर्न प्रेरित गर्नुपर्छ ।’

१० वर्षमुनिका बलात्कृत बालिका कति ?
नेपाल प्रहरीको तथ्यांक नियाल्ने हो भने १० वर्षमुनिका पीडकभन्दा पीडितको संख्या धेरै देखिन्छ । यो साढे चार वर्षमा १० वर्षमुनिका १२ सय  ९६ बालिका बलात्कृत तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७५/०७६ मा १० वर्षमुनिका २ सय ९८ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७९ जना, मधेस प्रदेशमा ३८ जना, बाग्मती प्रदेशमा ४४ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६० जना, कर्णालीमा ९ जना, सुदूरपश्चिममा २१ जना र उपत्यका २५ बालिका बलात्कृत भएका छन् ।

आव ०७४/७५ मा १० वर्षमुनिका २ सय ६१ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ६८ जना, मधेश प्रदेशमा २१ जना, बाग्मती प्रदेशमा ४१ जना, गण्डकीमा २६ जना, लम्बिनीमा ६२ जना, कर्णालीमा सात जना, सुदूरपश्चिममा आठ जना र उपत्यका २८ बालिका बलात्कृत भएका छन् ।

आव ०७५/७६ मा १० वर्षमुनिका २ सय ९८ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७९ जना, मधेश प्रदेशमा ३८ जना, बाग्मती प्रदेशमा ४४ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६० जना, कर्णालीमा ९ जना, सुदूरपश्चिममा २१ जना र उपत्यका २५ बालिका बलात्कृत भएका छन् ।

आव ०७६/७७ मा १० वर्षमुनिका २ सय ७३ बालिका बलात्कृत भएको तथ्यांकले देखाउँछ । जसमध्ये प्रदेश १ मा ५१ जना, मधेश प्रदेशमा ३२ जना, बाग्मती प्रदेशमा ३६ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६७ जना, कर्णालीमा १३ जना, सुदूरपश्चिममा नौ जना, उपत्यकामा ४२ जना र केन्द्रीय अनुसन्धान ब्युरोमा एक बलात्कार पीडित बालिका रहेका छन् । 

आव ०७७/७८ मा १० वर्षमुनिका ३ सय ५ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७२ जना, मधेश प्रदेशमा २५ जना, बाग्मती प्रदेशमा ३९ जना, गण्डकीमा ३१ जना, लम्बिनीमा ७१ जना, कर्णालीमा २० जना, सुदूरपश्चिममा १७ जना र उपत्यका ३० बालिका बलात्कृत भएका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको माघसम्म १० वर्षमुनिका १ सय ५९ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ४६ जना, मधेश प्रदेशमा ११ जना, बाग्मती प्रदेशमा २१ जना, गण्डकीमा २३ जना, लम्बिनीमा २८ जना, कर्णालीमा नौ जना, सुदूरपश्चिममा छ जना र उपत्यका १५ बालिका बलात्कृत भएका छन् ।

'बालबालिकाले आफूभन्दा ठूलाको नक्कल गर्छन्'
अभिषेक घिमिरे
संयोजक, बृहत् राष्ट्रिय शिक्षा अभियान

बालबालिकाले हेरेर अनि नक्कल गरेर सिक्छन् । उनीहरूले आफूभन्दा ठूलाको नक्कल गर्छन् । वयस्कहरूले गरेको हरेक क्रियाकलापलाई सूक्ष्म ढंगले नियाल्ने गर्दछन् र तिनै क्रियाकलाप र गतिविधिलाई अनुसरण गर्ने गर्छन् । यो बालबालिकाको प्राकृतिक स्वभाव हो । उनीहरूले यसरी नै सिक्ने हुन् । सिकाइको यो प्रमाणित विश्वव्यापी मान्यता हो ।

सिकाइलाई वातावरणले असाध्यै ठूलो प्रभाव पार्दछ । घर, परिवार, समाज र त्यहाँको संस्कार स्वाभाविक रूपमा बालबालिकाले अनुसरण गर्दछन् । बालबालिकाले के सिके भन्‍ने कुरा त्यहाँको सामाजिक वातावरण कस्तो छ भन्‍ने कुराले धेरै प्रभाव पार्दछ । बालबालिका हुर्कने ठाउँ, उनीहरूले संगत गर्ने मानिस, बाबुआमा, नातागोता, साथीसंगत लगायतले उनीहरूको सिकाइलाई प्रभावित गर्दछ ।

जहाँसम्म दश वर्ष मुनिका बालक यौनजन्य अपराधको कसुरमा प्रहरीको तथ्यांकमा रहेको भन्‍ने छ, यो विषयलाई हामीले गम्भीरतापूर्वक लिनु जरुरी छ । बालबालिकाको मनस्थिति अपराध नै गर्ने भन्‍ने त हुँदैन तर आपराधिक पृष्ठभूमिको घर, परिवार तथा समाजमा हुर्किएका बालबालिका प्राय: विभिन्‍न आपराधिक गतिविधिमा मुछिएका छन् । अर्थात्, देखासिकीमा यस्ता घटना भएका छन् । 

अहिले इन्टरनेट/मोबाइल तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नेमा बालबालिका पनि अत्यधिक भेटिएका छन् । के सही र के गलत भन्‍ने नबुझेका उनीहरूले इन्टरनेटमा देखिएका सामग्रीलाई जस्ताको त्यस्तै अनुसरण गर्ने हुँदा कहिलेकाहीँ यस्तै दुर्घटना भएर कानुनी फन्दामा परेका छन् । यो क्रमलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायले नरोक्ने हो भने धेरै बालबालिका साइबर क्राइममा फस्ने पनि देखिएको छ । अहिले स्कुल उमेरका छात्राहरूले आफ्नै कक्षाका सहपाठीबाट साइबर बुलिङ र ह्यारेस्मेन्टको समस्या भोग्नुपरेको गुनासो विद्यालयका शिक्षकले बारम्बार गरिरहनुले यो समस्या भित्रभित्रै विकराल बन्दै गएको अनुमान लगाउन सकिन्छ ।



हामीले १ अर्ब २० करोड वैदेशिक अनुदान स्वीकार गरेनौँ

सृजना खड्का |

फागुन २९, २०७८ १६:४० बजे


क्षेत्रफलका हिसाबले भक्तपुर नगरपालिका देशकै सानो नगरपालिकामध्ये हो तर ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, शैक्षिक–स्वास्थ्य पूर्वाधारका दृष्टिले भने यो नगरपालिका अग्रपंक्तिको सहर हो । २०७२ को भूकम्पमा क्षतिग्रस्त भएका थुप्रै ऐतिहासिक सम्पदालाई यस नगरले विदेशी सहयोगबिना नै स्थानीय स्रोत, साधन, सीप र दक्षता प्रयोग गरी पुनःनिर्माण गरेको छ । सम्पदा संरक्षणसँगै, शिक्षा, स्वास्थ्य र छरितो सेवाप्रवाहमा भक्तपुरलाई नमुना नगरका रूपमा लिन सकिन्छ । अरु स्थानीय तहका लागि भक्तपुर नगरपालिका एउटा उदाहरण बन्न सक्छ । संघीयताको बहस र अभ्यासमा स्थानीय सरकारका संस्थापकहरूको आनुभविक आवाज सुन्न यसपटक भक्तपुर नगपालिकाका मेयर सुनिल प्रजापतिसँग सृजना खड्काले गरेको कुराकानी ः 

तपाईं संघीयताको खास जग हुनुहुन्छ, संघीयता थेग्न सकिँदैन भन्ने आवाज पनि छँदै छ, स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईं के भन्नुहुन्छ ?
स्थानीय तह प्रजातन्त्रको जग हो । यो जग बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ । संघ र प्रदेश हुँदै अधिकार स्थानीय तहसम्म आएको छ । तर, माथिल्लो तहमा बस्ने अधिकारीले दिन चाहिरहेका छैनन् । कानुनले दिएको अधिकार पनि रोकिरहेका छन् । उदाहरण, माध्यामिक तहसम्म शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई भनिएको छ । तर, एसईई परीक्षा केन्द्रले लिन्छ। तलब नगरपालिकाले खुवाउँछ तर शिक्षकहरूको नियुक्ति गर्नुपर्‍यो भने संघीय सरकारमार्फत हुन्छ।

योजना छनोटको अधिकार स्थानीय तहलाई हुनुपर्ने हो। किनकि, स्थानीय समस्या संघ वा सिंहदरबारलाई थाहा हुँदैन । यो हकमा गलत अभ्यास भएको अनुभव गरेका छौँ । नत्र संघीयता थेग्नै नसक्ने भन्ने होइन। आफूसँग भएको पुँजीलाई जनताको हितमा अधिकतम प्रयोग गर्न सकियो भने केही समस्या हुँदैन । दुरूपयोगका कारणले संघीयता थेग्न सकिँदैन भनिएको होला । स्थानीय तहको कारणभन्दा पनि हाम्रा नेताको मानसिकताका कारण संघीयता थेग्न नसकिएको हो । एउटा प्रदेशमा सातओटा मन्त्रालय बनाउने भनिएको थियो । तर, प्रदेशले मन्त्रालय बढाएको बढायै छन् । यो राम्रो होइन । यसले खर्च बढ्न र संघीयताको विषयमा नकारात्मक टिप्पणी हुन्छ । तर, फेरि संघीयता नै सबैथोक भन्न पनि मिल्दैन । जापान र चीनजस्ता विकसित देशले संघीयताको अभ्यास नगरेर पनि विकास गरिरहेका छन् । 

संघीयता आउनुभन्दा पहिला र अहिले पाएको अधिकारमा के फरक अनुभव गर्नुभएको छ ?

पहिला र अहिलेमा धेरै फरक छ । पहिला राज्यले बनाएको कानुनभित्र रहेर काम गर्नुपथ्र्यो । अहिलेको स्थानीय तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनैओटा अधिकार प्राप्त छ । यसले आफैँ कानुन बनाउँछ र कार्यान्यवन गर्छ । यो हिसाबले पहिलाभन्दा धेरै फाइदा छ । स्थानीय तहलाई यति अधिकार दिएको र सरकारको रूपमा स्वीकार गरेको नेपालका इतिहासमा पहिलो पटक हो । 

 

कला संस्कृतिको संरक्षण भएको छ । शैक्षिक क्षेत्रमा अगाडि बढेको नगरको रूपमा परिचित भएको छ । स्वास्थ्य क्षेत्रमा पनि तुलनात्मक रूपमा राम्रै व्यवस्था गर्न सकेका छौँ ।

स्थानीय सरकारको नेतृत्वका रूपमा तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा आफ्नो पालिकाको खास पहिचान र सामथ्र्य के बनाउनुभयो ?

मैले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को घोषणापत्र अनुसार चुनाव लडेको हुँ । नेपकिपाको नीति निर्देशनअनुसार हामी चल्छौँ । त्यसैको आधारमा भन्ने हो भक्तपुर सफा भएको छ । कला संस्कृतिको संरक्षण भएको छ । शैक्षिक क्षेत्रमा अगाडि बढेको नगरको रूपमा परिचित भएको छ । स्वास्थ्य क्षेत्रमा पनि तुलनात्मक रूपमा राम्रै व्यवस्था गर्न सकेका छौँ । नगरपालिकाको कार्यक्षत्रभित्र कानुनले दिएको अधिकार प्रयोग गरि जनताको अधिकतम सेवा गरिरहेका छौँ ।
 

आमअपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गरियो ?

चुनौती र अप्ठेरो जुन ठाउँमा पनि हुन्छ । यहाँको सबैभन्दा ठूलो समस्या खानेपानी हो । अहिले ठाउँ–ठाउँमा बोरिङ गरेर जनतालाई पानी उपलब्ध गराइरहेका छौँ। मेलम्ची नआएसम्म हामीसँग अर्को विकल्प छैन । जनसंख्या वृद्धि भइरहेको छ । पानीको स्रोत सुक्दै गइरहेको छ । त्यस्तै, यहाँका खोला, खोला नभएर ढल बनेर बगिरहेका छन् । त्यसलाई विशेषज्ञहरूसँग छलफल गरेर खोलाकै रूपमा बगाउने कोसिस गरिरहेका छौँ । 

त्यस्तै, जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरभरि टोल–टोलमा २३ ठाउँमा व्यायामशाला राखेका छौँ। जिम जान महँगो छ। औषधि उपचार गर्नुभन्दा व्यायाम गरेर स्वस्थ हुनुपर्छ भनेर खोलिदिएका छौँ। घर–दैलो नर्सिङ सेवा राखिदिएका छौँ । आयुर्वेदिक केन्द्र छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी तयार पार्न फुटबल, भलिबल, बक्सिङलगायत ६ ओटा खेलको नियमित प्रशिक्षण गरिरहेका छौँ। आर्थिक रूपले कमजोर विद्यार्थीलाई शैक्षिक ऋण दिएका छौँ। झनै कमजोर विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौँ। 

चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका पाँच प्रमुख प्राथमिकता के थिए ?

हामीले जोड दिएको शिक्षा, स्वास्थ्य, संस्कृति, सरसफाइ र खानेपानी नै हो । हामी निर्वाचित भएर आउँदा भूकम्पले एतिहासिक सम्पदाहरू क्षत्विक्षत् अवस्थामा थिए। पहिलो प्राथमिकता त्यसैको पुनः निर्माणलाई दियौँ । पुनः निर्माणमा विदेशी सहायता लिएनौँ।

२०७५ सालमा नेपाल र जर्मन सरकारबीच एउटा सम्झौता भएको थियो। सम्झौता अनुसार भक्तपुरका १० वटा सम्पदा पुनर्निर्माणका लागि नगरपालिकाले एक करोड युरो (करिब रु. १ अर्ब २० करोड) वैदेशिक अनुदान पाएको थियो। तर, हामीले स्वीकार गरेनौँ । सम्झौतामा आफ्नै प्राविधिकहरू नियुक्त गर्ने, उनीहरूले भनेकै सामान प्रयोग गर्ने भन्ने थाहा पाएपछि हामी पछि हट्यौँ । सरकारले सही गरिसक्यो, स्वीकार्नुपर्छ भनिएको थियो । अर्थ मन्त्रालयका सह–सचिवहरू पटक–पटक आउनुभयो । तर, हामीले हामीले ‘प्राचीन स्मारक संरक्षण ऐन’लाई अगाडि राखेर ऐतिहासिक सम्पदामा सिमेन्ट र रड प्रयोग गर्नबाट रोक्यौँ । उनीहरूलाई तपाईंहरूको सद्भाव, सहयोगको निम्ती धन्यवाद ! हाम्रो सम्पदा हाम्रै जनताहरूले आफ्नै प्रविधिको प्रयोग गरेर बनाउँछन् भनेर रकम फिर्ता गर्‍यौँ ।

केही बुद्धिजीवी भन्नेहरूले १ अर्ब २० करोड फिर्ता पठाएर दशकौँसम्म भक्तपुरलाई भग्नावशेष बनाउने भयो पनि भने। तर, हामीले अरुको पैसा लिएपछि उनीहरूले भनेजस्तो गर्नुपर्छ भनेर नगरबासीलाई जानकारी गरायौँ। उनीहरूले पनि त्यो पैसा नलिँदा हुन्छ भने। हामीले सहयोग मागेपछि नगरबासी आफैँ पुनः निर्माणका लागि लाइन लागेर आए। पैसा फिर्ता पठाएकामा हाम्रो केही चित्त दुखाइ छैन। हामी गर्व महसुस गर्छौं । एमसीसीको चर्को विरोध गरिरहँदा हामीलाई दाग लाग्ने ठाउँ कतै थिएन । नत्र हामीलाई आफू विदेशीको पैसा लिने, अरुलाई विरोध गर्ने भनेर आक्षेप लाग्थ्यो ।  

आफूसँग पैसा नभए पनि जनता साथमा भएपछि त्योभन्दा ठूलो धन नहुँदो रहेछ । पैसा भएर पनि खर्च गर्न नसकेका नगरका थुप्रै उदाहरण हामीले देखेकै छौँ । नगर विकासको लागि साथमा पैसाभन्दा पनि जनता चाहिँदो रहेछ

अनि यी करिब पाँच वर्षमा तपाईंको नेतृत्वमा भएका प्रमुख पाँच काम के–के हुन् त ?

ख्वप अस्पताल बनायौँ । सम्पदा क्षेत्रमा न्हू पुखू (रानिपोखरी) निर्माण गर्‍यौँ। सेनाको कम्पाउन्डभित्र थियो । वर्षौंदेखि त्यहाँ कोही छिर्न पाएका थिएनन् । सेनासँग थुप्रैपटक पत्राचार गर्‍यौँ । प्रधानसेनापतिसँग भेटेरै गणत्रान्त्रिक व्यवस्थामा सेनाले जनतालाई सहयोग गर्नुपर्छ भन्यौँ । सेनासँग सम्झौता भएपछि नगरपालिकाले लगानी गर्‍यो । करिब साढे २ करोड खर्च भयो । हालसालै उद्घाटन गरेर सर्वसाधारणका लागि खुला गरिसक्यौँ ।

त्यस्तै, दरबार स्क्वायरको वत्सला मन्दिर पूर्ण रूपले भत्किएको थियो । आफैँले भत्काएको भए एक–एक गरेर नम्बरिङ गरेर भत्काउन मिल्थ्यो । तर, भूकम्पले क्षतविक्षत बनाएको थियो । एउटा–एउटा टुक्रा जोडेर पहिलाकै अवस्थामा फर्काउन हामीलाई चार वर्ष लाग्यो । ङातापोलको अवस्था पनि उस्तै थियो । तर, हाम्रै डकर्मी, सिकर्मीले त्यसलाई ठडाए । हाम्रा बाजेहरूले यत्रो संरचना बनाए, हामीले मर्मत गर्न किन नसक्नु भन्दै सम्पदा संरक्षणमा सघाए ।

हाम्रो नगरको मुल बाटोमा इँटा छापिएको थियो । इँटा हरेक चार–पाँच वर्षमा फेरिरहनुपर्ने भयो । पर्यटकीय स्थलमा ढुङ्गा छाप्न मिल्छ÷मिल्दैन भनेर अध्ययन गर्‍यौँ। विज्ञहरूसँग छलफल गर्‍यौँ। मिल्छ भनेपछि पूरै नगरमा ढुङ्गा छाप्यौँ । हाम्रो नगरमा जो आए पनि तपाइँहरूसँग कति पैसा छ ? भनेर सोध्नुहुन्छ। कोरोनाको कारण कति पैसा छ, त्यो त हामीलाई नै थाहा छ । दिनको हजार जना पर्यटक आउने ठाउँ कोरोनाले शून्य भयो । नत्र हाम्रो नगरमा वर्षको ३० करोड पर्यटकबाट आउँथ्यो । तर, आफूसँग पैसा नभए पनि जनता साथमा भएपछि त्योभन्दा ठूलो धन नहुँदो रहेछ । पैसा भएर पनि खर्च गर्न नसकेका नगरका थुप्रै उदाहरण हामीले देखेकै छौँ । नगर विकासको लागि साथमा पैसाभन्दा पनि जनता चाहिँदो रहेछ । 

गर्न चाहेर पनि नसकिएका काम केही छन् ?

भक्तपुरको दरबारक्षेत्रको ऐतिहासिक न्ह्यकं झ्यः दरबार (राष्ट्रिय कला संग्रहालय रहेको भवन र लाल बैठक) टेको लगाएर राखिएको छ । त्यसलाई मल्लकालीन शैलीमै बनाऊँ भनेर हामीले धेरै पटक पुरातत्व विभागसँग आग्रह गर्‍यौँ । उहाँहरूले मान्नु भएन, टेन्डर गरिदिनुभयो । भत्काउन सुरु भइसकेको थियो, पत्राचार गरेर त्यसलाई रोक्यौँ । पछि सम्झौता भएको थियो । तर, विश्व सम्पदा सूचीमा परेकाले युनेस्कोसँग अनुमति लिनुपर्ने कुरा आयो।

युनेस्कोमा पुरातत्व विभाग, संस्कृति मन्त्रालयबाट जानुपर्छ । आफ्नो सम्पना पुनःनिर्माण गर्न अरुको अनुमति किन लिनुपर्यो भनेर हामी पटक–पटक धाइसक्यौँ । तर, प्रक्रिया अगाडि बढेकै छैन । दूधपाटीस्थित भाज्या पुखुः (पोखरी) कस्तो थियो भनेर धेरै सोधखोज गर्‍यौँ । यहाँका संस्कृतविद्हरूसँग कुरा गर्दा पनि केही पत्ता लागेन । अध्ययन गर्दा आठ सय वर्ष पुरानो भन्ने खुल्यो । अनुसन्धान गरेर एउटा नक्सा तयार गर्‍यौँ । त्यही अनुसारले खनेर पुनःनिर्माण गर्न खोज्दा हाम्रो नक्साको ढोका एकातिर भयो । वास्तविक ढोका अर्कैतिर भेटियो । तीन–चार वर्ष त्यसमा काम गर्‍यौँ तर, पूरा गर्न सकेनौँ ।  

काम गर्दै गर्दा संवैधानिक, कानुनी र व्यवहारगत के–कस्ता जटिलता आइपरे ?

कर्मचारीको अधिकारको कुरामा एकदमै समस्या भयो। २० वर्षदेखि स्थायी र पदोन्नति हुन नपाएका धेरै कर्मचारी छन्। भन्न चाहिँ प्रमुख प्रशासकीय अधिकृतबाहेकका कर्मचारी भर्ना, प्रमोसन र सेवा–सुविधा दिने अधिकार नगरपालिकालाई भनेको छ। तर, यहाँ मन्त्रीहरू कानुनभन्दा माथि बसेर निर्देशन दिनुहुन्छ । पत्राचार गर्नुहुन्छ । आर्थिक ऐनले उपभोक्ता समितिबाट काम गराउने अधिकार दिएको छ । तर, केही समयअघि मात्रै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कुनै पनि स्थानीय तहले उपभोक्ता समितिबाट काम नगराउनु भनेर पत्राचार गर्नुभयो । हामी जसरी कानुनभित्र बसेका छौँ, उहाँहरू पनि बस्नुपर्छ । 

हामीले ख्वप बहु–प्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सिक कक्षा सञ्चालन गरिरहेका थियौँ । तर, यो वर्षबाट शिक्षा मन्त्रालयले भर्ना रोक्यो । पूर्वाधार तयार हुँदा पनि सय बेडको स्वीकृति हामीलाई दिइएन । अस्पताल पनि बन्द भयो। मन्त्रीहरू आउँछन्, कति राम्रो काम गर्नुभएको रहेछ भन्छन्, जान्छन् । जुनसुकै पार्टी सरकारको भए पनि त्यो जनताको हो नि ।

निर्वाचित भएपछि सबैजना साझा व्यक्तित्व हो । तर, यहाँ त म मन्त्री भएपछि मेरो निर्वाचन क्षेत्रको विकास गर्नुपर्छ भन्ने छ । देश विकास गर्नुपर्छ भन्ने छैन । ऐन कानुन सबैलाई बराबर हुन्छ । कानुनको आधारमा सबै समान हुनुपर्ने हो । तर, यहाँ पार्टीगत र पूर्वाग्रही आँखाले हेरिन्छ । भक्तपुर नगर र अरु नगरलाई छुट्याएको बजेटलाई नै हेर्ने हो भने धेरै कुरा प्रस्ट हुन्छ । केही समयअघि बागमती प्रदेशमा एक अर्बको स्वास्थ्य सामग्री वितरण भयो । ख्वप अस्पतालले केही पाएन । हामी दिएनन् भनेर चित्त दुखाएर बस्दैनौँ । कानुन बमोजिम दिए लिन्छौँ, तर माग्दैनौँ । आफ्नो नगर आफैँ विकास गछौँ ।

 

हामी दिएनन् भनेर चित्त दुखाएर बस्दैनौँ । कानुन बमोजिम दिए लिन्छौँ, तर माग्दैनौँ । आफ्नो नगर आफैँ विकास गछौँ ।

तपाईंको सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्तो बन्यो ?

हामीले हाम्रो कानुन आफैँ बनाएका छौँ । शैक्षिक ऋण, राहत वितरण, खेलकुद सबै क्षेत्रमा कानुनबिना हामी चल्दैनौँ । भक्तपुर नगरलाई सम्पदा क्षेत्र घोषणा गरेका छौँ । यो क्षेत्रभित्र नगरबासीले मात्रै घर किनबेच गर्न पाउने व्यवस्थाबारे कुरा उठाएका थियौँ । त्यसमा कसैले सर्वोच्च अदालतमा मुद्दा हालिदियो । यो विश्व सम्पदा सूचीमा परेको क्षेत्र हो ।

विश्व सम्पदा सूचीमा परेको सम्पदालाई बचाउनु केही कडा कानुन बनाउनुपर्छ । यो त हामीले होइन सरकारले बनाउनुपर्ने हो । सम्पदा क्षेत्रमा तोकेभन्दा अग्लो र सिमेन्टेड घर बन्न थाले । पैसा तिरेर किनेको जग्गामा मैले जसरी बनाएपछि के मतलब भन्ने कुरा आयो । यसो हुँदा सम्पदा खत्तम हुन्छ भनेर चिन्तन गर्न थाल्यौँ । पुरानो बस्तीलाई जोगाउन हामीले यो उपाय लगाएका हौँ । यो कानुन बनाएपछि सार्वजनिक भयो । सर्वोच्चमा गएपछि समानताको हक विपरीत भनेर अन्तरिम आदेश आयो । अहिलेसम्म फैसला भएको छैन । 

अब आउने नेतृत्वका लागि अनुभवप्राप्त अभिभावकका हिसाबले के सुझाव छ ?

जोसुकै आएपछि जनताबाट निर्वाचित भएर आउने हो । जनतालाई दिएको वचनअनुसार गरियो भने जनताको विश्वास जितिन्छ । विकास हुन्छ । काम गर्न सहज हुन्छ । हाम्रो अनुभवले पनि त्यही देखाउँछ । जनता र जनप्रतिनिधिबीच दूरी बढ्नुहुँदैन । उनीसँग घनिष्ट भएर काम गर्नुपर्छ । उनीहरूको इच्छा आकांक्षा पूरा गर्ने कोसिस गर्नुपर्छ । जनतासँगै छलफल गरेर काम गर्‍यो भने थोरै स्रोत–साधनमा अधिकतम काम गर्न सकिन्छ ।

आफ्नो कार्यकाललाई १० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

भक्तपुरका १० जना जनतालाई सोध्नुहोस् । उनीहरूले दिएको नम्बर नै मेरो नम्बर हो ।